|

काठमाडौं : काठमाडौंको राष्ट्रिय नाचघरमा आइतबार यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको नृत्य प्रतियोगिता भएको छ। समलिंगी तेस्रो लिंगीहरूको सामाजिक अन्तरघुलनका लागि कार्यक्रम गरिएको आयोजक ब्यु डायमन्ड सोसाइटीले जनाएको छ। 

नृत्य प्रतियोगितामा काठमाडौंको पञ्चबुद्ध नृत्य, महोत्तरीको मैथिली धान नाच, तामाङ नाच, पोखराको झ्याउरे, वीरगञ्जको भोजपुरी, दाङको थारु, कैलालीको देउडा नाच लगायत विभिन्न जाति र संस्कृतिका नाचहरू प्रस्तुत गरिएका थिए।

नेपालका समलिंगी तेस्रोलिंगीहरूले संवैधानिक अधिकार पाएपनि त्यसअनुसार समाजको व्यवहारमा सुधार हुन नसकेको सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले बताइन्। 'हामीलाई सामाजिक र सांस्कृतिक क्षेत्रमा उपहासको पात्र बनाइएको छ', उनले भनिन्, 'त्यो असमानता हटाउन र हामी सामाजिक तथा सांस्कृतिक रुपले अगाडि छौं भन्ने देखाउन तथा सामाजिक अन्तरघुलन गर्न सांस्कृतिक नृत्य प्रतियोगिता गरेका हौं।' समलिंगी तेस्रोलिंगी पनि समाजकै सदस्य भएकोले समाजले आफूहरुप्रतिको दृष्टिकोण बदल्नुपर्ने उनले बताइन्।

नयाँ शक्ति पार्टी, नेपालकी नेतृ हिसिला यमीले यौनिक विविधता भएकालाई नेपाली समाजले लुकाउने गरेको बताइन्। उनले भनिन्, 'विविध यौनिकता भएका व्यक्तिलाई हाम्रो समाजले छोप्ने प्रयास गरिरहेको छ', उनले भनिन्, 'सांस्कृतिक पक्षमा उनीहरुको भूमिका अहम रहेको छ।'

नृत्य प्रतियोगितामा १८ जिल्लाका १५० भन्दा बढी समलिंगी तेस्रोलिंगी कलाकारको सहभागिता रहेको छ।

हेर्नुस् फोटोहरूः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.