कोही भोट माग्दै, कोही भण्डाफोर गर्दै

|
फोटोः केशव झाको फेसबुकबाट।

रुपन्देही : संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचनमा भाग नलिने घोषणा गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरू द्विविधाकै बीचमा कोही निर्वाचनको विरोधमा लागेका छन् त कोही चुनावको तयारीमा छन्।

असार १४ गते प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको राजपाका केही नेता गाउँपालिका र नगरपालिकामा स्वतन्त्र उम्मेदवारको पक्षमा भोट माग्न व्यस्त छन् भने केही नेता भण्डाफोर र विरोधका कार्यक्रममा संलग्न छन्।

महन्थ ठाकुर तटस्थ

राजपा एकीकरण हुनुअघिको सबैभन्दा ठूलो दल तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरू निर्वाचन बहिस्कारको पक्षमा छैनन्। तर राजपा अध्यक्ष मण्डलका ५ जना अध्यक्षहरू भने निर्वाचन भण्डाफोर कार्यक्रममा सक्रिय छन्। राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर निर्वाचनको पक्ष वा विपक्ष कतै पनि खुलेका छैनन्। 

‘उहाँ पार्टी कार्यालयमा हुनुहुन्थ्यो, बेलुका भक्तपुरस्थित घर फर्कनु भयो’, ठाकुरका सहयोगी सत्येन्द्र मिश्र भन्छन्, ‘उहाँ सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको समयमा कहीँ पनि जाने कार्यक्रम तय भएको छैन।’ तत्कालीन तमलोपाका अध्यक्ष ठाकुर भक्तपुरमै छन् भने वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी गृह जिल्ला नवलपरासीमा छन्।

जो भोट माग्दैछन्

राजपाकै उपाध्यक्ष तथा तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल रुपन्देहीको मर्चावारमा र अर्का नेता वृजेशकुमार गुप्ता आफ्ना पुर्खाको बिरासत धान्न कपिलबस्तुमै छन्। तर राजपा अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, महिन्द्र राय यादव, अनिल झा र राजकिशोर झा भने भण्डाफोर कार्यक्रममा भाग लिन सप्तरीमा छन्।

चुनाव बहिस्कारको निणर्य गरेसँगै राजपाका नेताहरू ३ असारमा हुल बाँधेरै भैरहवा आए। चुनाव बहिस्कारको सन्देश फिँजाउन राजपाले लाठी जुलुस र सभा गर्ने योजना बनाएको थियो। उसले लाठी जुलुस निकाल्न सकेन र सभा पनि प्रचार गरिएअनुसारको भएन। अध्यक्ष मण्डलका संयोजक ठाकुर, महतो, भण्डारी झा, राजकिशोर यादवलगायतका नेताले सभालाई सम्बोधन गरे। 

उम्मेदवारी दर्ताको दिन असार ४ गते उम्मेदवारी दर्ता बिथोल्ने प्रचार राजपाले गरेपनि कोही नेता–कार्यकर्ताले उम्मेदवारी बिथोलेनन्। केन्द्रीय नेता बसेको रुपन्देहीबाट १६ तहमध्ये १० स्थानीय तहमा राजपाआवद्ध नेता–कार्यकर्ताको उम्मेदवारी पर्‍यो। कपिलवस्तुका ४ तहमा राजपाका नेताहरुले उम्मेदवारी दिए। 

उम्मेदवारी दिएसँगै राजपाका नेताहरुले प्रचार गरे–उनीहरु हाम्रो पार्टीका हैनन्, उनीहरुलाई कारबाही हुन्छ तर त्यसो हुन सकेन। बरु राजपाका नेताहरु नै गुपचुप उम्मेदवारलाई जिताउन प्रचारमा हिँडे। 

राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ल रूपन्देहीको दक्षिणी सीमावर्ती मर्चवार क्षेत्रमा ‘स्वतन्त्र’ उम्मेदवारलाई जिताउन लागिपरेका छन्, भन्छन्–‘पार्टीले चुनावमा नजाने निर्णय गर्‍यो, त्यसकारण आधिकारिक रुपमा हामी चुनावमा गएनौं, तर स्थानीय तहमा कार्यकर्ता चुनावमा लागेपछि सहयोग त गर्नैपर्‍यो नि, उनीहरुले पनि त आफ्नो राजनीतिक भविष्य कायम राख्नुपर्‍यो।’ 

रूपन्देहीको मर्चवार क्षेत्रमा कोटहीमाई, सम्मरीमाई र मर्चवारीमाई तीन गाउँपालिका पर्छन्। रूपन्देही क्षेत्र नम्बर ६ मा पर्ने यो भूभागबाट शुक्ल सांसदमा चुनिएका हुन्। यी तीनवटै गाउँपालिकामा राष्ट्रिय जनता पार्टी, नेपालले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षसहित सबै पदमा उम्मेदवार उठाएको छ। उनीहरु स्वतन्त्र हैसियतमा रहेपनि प्यानलकै लागि भोट माग्दै हिँडेका छन्।

अर्का वरिष्ठ उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी पनि रुपन्देहीको मर्चवार क्षेत्रमा खटिएका छन्। चुनाव बहिस्कारको लागि सन्देश फैलाउने भन्दै नेताहरुले आफ्ना कार्यकर्ताका लागि भोट मागिरहेका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाकै नेता (सद्भावना पार्टीका केन्द्रीय सदस्य) मनमोहन चौधरीसहित नगरका अधिकांश पदमा उम्मेदवारी दिएका छन्l

‘कन्हैया बाबु (मनमोहन चौधरी) राम्रो मान्छे हो, उहाँलाई त जिताउनुपर्‍यो नि' लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ का उम्मेदवार सुवासचन्द्र भुज भन्छन्।

कपिलवस्तुको सदरमुकाम रहेको कपिलवस्तु नगरपालिकामा राजपाका महासचिव वृजेशकुमार गुप्ताका काका रामदास गुप्ता चुनावी मैदानमा छन्। उनलाई जिताउनकै लागि वृजेशले सदरमुकाम छाडेका छैनन्, तर उनी भन्छन्–‘हामी त चुनाव बहिस्कार गरेको पार्टीको मान्छे, काकाजीले जितिहाल्छन् नि, कार्यकर्ताहरु छँदैछन्, म चुनाव जिताउन हिँडेको छैन्।’

ठाकुर बाहेकका प्रमुख नेता बहिस्कार र भण्डाफोरमा

राजपाको अध्यक्ष मण्डलका संयोजक ठाकुर काठमाडौंमा भए पनि सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौनामा पार्टी अध्यक्ष मण्डलका सदस्यहरू महतो, राय, भण्डारी, झा र यादव निर्वाचन भण्डाफोर कार्यक्रममा सहभागी थिए। उनीहरुले तीन/चार दिनदेखि नै सप्तरीका विभिन्न स्थानमा निर्वाचनको विरुद्धमा भण्डाफोर कार्यक्रममा सहभागिता जनाइरहेका छन्।

राजपाका नेताहरुले शनिबार सप्तरीको मलेठमा भण्डाफोर कार्यक्रम गरे। त्यहाँ भने अध्यक्ष मण्डलका सदस्य महतो उपस्थित थिएनन्। उनलाई पितृशोक परेका कारण शनिबार विरोध सभामा सहभागी नभए पनि आइतबारको कार्यक्रममा भने उपस्थित भए। ‘महतोलाई पितृशोक परेपनि उहाँ माईलो छोरा भएकाले दुखमा वसिरहनु परेन’, राजपा महासचिव केशव झाले थाहाखबरसँग भने।

राजपाका नेता झाले भण्डाफोर कार्यक्रम सप्तरीमा उपलब्धीमूलक भएको भन्दै मलेठमा एमालेका नेता शम्भु प्रसाद यादव उर्फ लाली यादवसहित एक हजार बढी र कठौनामा भएको भण्डाफोर कार्यक्रममा संघीय समाजावादी फोरम परित्याग गरी चन्द्रकान्त मण्डलसहित एक हजार बढी राजपामा प्रवेश गरेको दाबी गरे।

राजपाको भण्डाफोर कार्यक्रमममा पुरानो सद्भावना र राष्ट्रिय मधेस समाजवादी पार्टीका नेताहरुको बाक्लो उपस्थिति छ। तर नेपाल सद्भावना पार्टी र तमलोपाका अन्य नेताहरू भने उपस्थिति छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.