|

विराटनगर : दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा मुलुककै कान्छो महानगर विराटनगरले छान्ने जनप्रतिनिधिसँग चुनौतीका चाङ छन्। युवा उम्मेदवारहरू मैदानमा उत्रिएको यो ऐतिहासिक सहरका जनप्रतिनिधिले आगामी पाँच वर्षमा साखको आवरण मात्र बाँकी रहेको 'खोक्रो' सहरलाई साँच्चैको महानगरमा रूपान्तरण गर्नुपर्नेछ। नेपालमा उद्योग र राजनीतिको जग सुदृढ बनाएको विराटनगरसँग अहिले त्यसको दम्भ मात्र बचेको छ।

विराटनगरसँग अहिले देखाउन मिल्ने एउटै मात्र चिज छ, भारतको जोगबनीलाई चिनियाँ सीमा किमाथांकासँग जोड्ने ६ लेनको सडक। थुप्रै उद्योग बन्द भइसकेका छन्। पुराना सडक खाल्टाखुल्टीले हिँड्नै नसक्ने भएका छन्। 'स्मार्टसिटी' बन्ने सपनाको आधार टाढाटाढासम्म छैन। मधेस आन्दोलन उत्कर्षमा पुगेको बेला यो सहरबाट पहाडी समुदायले पलायनै हुनुपर्ने अवस्थासम्म सिर्जना भयो।

कुनै बेला काठमाडौंपछिको दोस्रो सहर भनेर चिनिने विराटनगरले पछिल्लो समय महानगरकै कागजी परिचय पाउन पनि ठूलै पापड बेल्नुपर्‍यो। पहिलो चरण निर्वाचन भइसकेपछि अर्को औद्योगिक सहर वीरगन्जसँगै विराटनगरले पनि महानगरको परिचय पाएको छ। विराटनगरको पुरानो साख फर्काउन यथेष्ट सम्भावना भने रहेको यहाँका पुराना बासिन्दा तथा विज्ञहरू बताउँछन्।

पूर्वाञ्चल विश्वविद्यालयका पूर्वडिन तथा अर्थशास्त्री डा.भेषप्रसाद धमला बोर्डमा मात्र फेरिएको विराटनगरको महानगर परिचयलाई व्यावहारिक रूपमै साकार पार्न धेरै यात्रा तय गर्नुपर्ने बताउँछन्। राजनीतिक र औद्योगिक विकासको प्रारम्भ भएको ऐतिहासिक ठाउँमा लामो समयदेखि विकासका कुनै परियोजना आउन नसकेको भन्दै दिक्क मान्छन् उनी। 'राणा फाल्नेदेखि प्रजातन्त्र र त्यसपछि गणतन्त्र ल्याउने आन्दोलनमा विराटनगरले आयाम ल्यायो। तर, प्रजातन्त्र प्राप्तिपछि पनि यहाँ विकासले गति लिन सकेन। काठमाडौंपछि दोस्रो भनिने सहर अहिले पाँचौं स्थानमा पुगेको छ,' उनी।

विराटनगरको यथेष्ट सम्भावना साकार पार्न बृहत्तर विराटनगरको योजना आवश्यक रहेको विज्ञहरू बताउँछन्। 'वृहत्तर गुरुयोजना बनाएर अघि बढ्नुपर्छ, विकास कार्यक्रम ल्याउँदा बृहत्तर रूपमा निजी क्षेत्रको सहभागिता हुनुपर्छ, विराटनगर रिङरोड मात्र पूरा हुन सके छेउछाउका क्षेत्रमा विकास बढ्न सक्छ,' अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गरेका डा. धमला भन्छन्।

कान्छो महानगरका प्राथमिकता
- सडक, ढल, खानेपानी
- व्यवस्थित बसोबास
- रुग्ण उद्योगहरू पुनःसञ्चालन
- बाल उद्यान, पर्यटकीय क्षेत्र
- रिङरोड निर्माण
- अन्तर्राष्ट्रिय रंगशाला
- क्षेत्रीय विमानस्थल
- विशेष आर्थिक क्षेत्र

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.