|

सोलखुम्बु : जिल्लामा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि आवश्यक सामाग्रीसहित कर्मचारी सम्पुर्ण मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सुचना अधिकारी जगनाथ दाहालले जानकारी दिए।

निर्वाचन सम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्र लगायतका आवश्यक सामाग्री सहित मतदानस्थल पुगेका कर्मचारीले अहिले मतपत्र वितरणको काम गरिरहेको उनले जानकारी दिए।

जिल्लाको ८ स्थानीय तहमा ६१ हजार ७ सय ४६ जना मतदाता छन्। १ सय १८ वटा मतदानस्थल तथा १ सय २०  वटा मतदान केन्द्र रहेको छ। उक्त मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ६ सय ६६ जना कर्मचारी परिचालन गरिएको छ।

जिल्ला सुरक्षा समिति सोलुखुम्बुले निर्वाचनका लागि सम्पुर्ण तयारी पूरा भएको जनाएको छ। अतिसंवेदनशिल, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। ‘एक सय बीस मतदान केन्द्रमध्ये २० मतदान केन्द्र अतिसंवेदनशिल, ४४ कम संवेदनशिल र ५६ केन्द्र सामान्य अवस्थामा छन्। सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने।

जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. ६ तिङ्लाका स्थानीयले अहिलेसम्म मतदाता परिचयपत्र बुझेका छैनन्। मतदान गराउन गएका कर्मचारी परिचयपत्र वितरणका लागि मतदाता कुरेर बसेपनि एक जनापनि परिचय पत्र बुझ्न नआएको सिंहकाली माध्यमिक विद्यालय मतदान केन्द्रका मतदान अधिकृत नारायण तामाङले बताए।

तिङ्लामा ५ वटा मतदान केन्द्र छ। यो समाचार तयार पार्दासम्म पाँचवटै मतदान केन्द्रबाट एकजनाले पनि परिचयपत्र बुझेका छैनन्। स्थानीयहरु यसपटकको चुनावमा भोट नहाल्ने अभियानमा रहेको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.