|

  • मिलनप्रकाश ढुङ्गाल

बैतडी : पाटन नगरपालिका–१ डसिलीका धर्मराज भट्टराई घरनजिकको पानीको मुहान सुकेपछि खानेपानी ल्याउन एक घन्टाको दूरीमा रहेको धारामा पुग्छन्। धाराको मुहान पनि सुक्न थालेकाले घन्टौं कुरेपछि मात्रै उनले पालो पाउँछन्। एक गाग्री पानीकै लागि घन्टौँ बिताउन बाध्य छन्। 

डसिलीका धर्मराज मात्रै होइन, पाटनको रुइन्यागडा, मटेलिगडा, टिक कलुवागडा, ओखडागडा टुडिगडा फट्क्याढुंगाका ६० भन्दा बढी परिवारले खानेपानीको चरम अभाव झेलिरहेका छन्। मेलौली नगरपालिकाको काँडाबजारमा पनि २० परिवार एकै धाराको भरमा गुजारा चलाउँदै आएका छन्।

पानीकै अभावमा पशुपालनमा समस्या 

सुक्खायाम सुरु भएसँगै हरेक वर्ष मेलौली, पाटन र पुर्चौडी नगरपालिका क्षेत्रका पानीका मुहान सुक्न थाल्छन्। पिउन र पशुचौपाया पाल्न समस्या हुने गरेको डिलासैनीका भगतबहादुर साउदले बताए। ‘पहिले एकै घरमा चार–चार भैसी हुन्थे अहिले पानीकै अभावले एक भैसी पाल्न पनि मुस्किल परेको छ,’ उनले भने।

पहाडी क्षेत्र त्यसमाथि गर्मीमा मूल सुकेपछि स्थानीय मर्कामा पर्दै आएको उनले बताए। गैरसरकारी संस्थाको पहल, रुडेस नेपालको सहकार्य र स्थानीयको श्रमदानबाट पाँचवटा धारा निर्माण भए पनि पानीको मुहानै सुक्दै गएपछि मार्काका परेको देवदत्त भट्टराईले बताए।

भएका धारा पनि पहुँचका आधारमा राखेको स्थानीयको भनाइ छ। खडेरीका कारण मुहान सुकेपछि मेलौली नगरपालिका–६ काँडाबजारका बासिन्दा पनि खानेपानीबाट वञ्चित भएका छन्। काँडाबजारका २०–२२ परिवारका लागि एउटा मात्रै धारो भएकाले घन्टौं लाइनमा बस्नुपरेको स्थानीय सुरत पार्कीले गुनासो गरे । जिल्लाका अन्य ठाउँमा पनि खानेपानीको समस्या छ।

सदरमुकाममा सहज

जिल्ला सदरमुकाममा भने साना सहरी खानेपानी आयोजना सम्पन्न भएर घर–घरमा नयाँ धारा जडान गरिएको छ। विगतका वर्षमा काकाकुल बन्ने गरेको सदरमुकाममा अहिले भने खानेपानीको समस्या टरेको छ।

तर, उपभोक्ताले धारामा पानी अनियमित आउने गरेको गुनासो गरेका छन्। आयोजना अझै पूर्ण रूपमा सम्पन्न नहुँदा थुप्रै व्यवस्थापकिय कार्य बाँकी रहेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.