|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनको विषयलाई लिएर सरकार र निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गरेका छन्। निर्वाचनको मिति नजिकिदै गर्दा ठाउँठाउँमा बम फेला परेको भन्दै उनले त्यस विषयमा सरकारको कमजोरी देखिएको बताएका हुन्। 

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सरकारको जिम्मेवारी निष्पक्ष चुनाव गराउने हुनुपर्नेमा निर्वाचन विरोधी गतिविधि गर्दै हिँडेको आरोप लगाए। 'म हिजो बुटवलमा गएको कार्यक्रममा तीनवटा बम राखियो', सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने  'बम कसले पड्कायो, सरकार भन्दैन।'

उनले देशका विभिन्न ठाउँमा एमालेका उम्मेदवारका घरमा बम राख्ने र पड्काउदा पनि सरकार चुप लागेको बताए। उनले निर्वाचनमा प्रभाव पार्न सरकारले यस्तो गरेको बताए। उनले भने, 'सरकार सकेका ठाउँमा आतंक मच्चाउन दिने नसकेका ठाउँमा राज्य आतंक मच्चाउने हो कि के हो?'

ओलीले निर्वाचन आयोगले मर्यादित भएर काम नगरेको आरोप लगाए। निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीको सरुवालाई लक्षित गर्दै उनले भने, 'हामी निर्वाचन आयोगलाई मर्यादित, निष्पक्ष हुन आग्रह गर्छौं। यो विवादमा पर्ने, आवेश देखाउने, स्वार्थ केन्द्रीत हुने होइन।' उनले निर्वाचन आयोगले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताए। ओलीले भने, 'जनताले आफ्नो मत निर्वाध, निर्भय वातावरणमा जाहेर गर्न पाउनुपर्छ। निर्वाचन आयोगको काम मतपत्र छाप्ने, बाँड्ने र बाकस थापिदिने मात्र होइन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.