|

मौन अवधि सुरु भएको छ। अब हामी नबोलौँ। संसारभरिकै चलन हो मौन अवधिमा नबोल्ने। अब बोल्न पाइँदैन। केही घोषणा गर्न पाइँदैन। प्रचार गर्न पाइँदैन। जति बोल्नु थियो, बोली सकियो। जति प्रचार हुनु थियो, भइसक्यो। जति घोषणा गर्नु थियो, गरिसकियो। त्यसो भए अब असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतपत्रमा छाप लगाउन स्वस्तिक चिह्न उचाल्नुअघि हामी के गर्ने त?

अब हामी घोषणापत्र पढ्ने। ‘घोषणापत्र पढेर पनि कसैले भोट हाल्छ र!’ भनेको सुनेको छु। सायद हाम्रो सेरोफेरोमा शब्द–शब्दको अर्थ लगाएर पढ्न जान्ने मान्छे कम छन् वा पढ्न चाहने मान्छे कम छन्। त्यसैले घोषणापत्रहरू पढ्नका लागि होइन, ‘गर्न’का लागि हो भन्ने चलन सुरु भएको होला। तर, अब हाम्रो पुस्ताले त्यो क्रम भंग गर्नुपर्छ। किनभने तपाईं सचेत मतदाता हो यार! घोषणापत्र त तपाईले पढ्नु होला भनेर नै बनाइएको हो।

फेरि, चुनाव जसरी पनि जित्नुपर्नेछ। अहिले घोषणा गर्दिराखुँ, पछि देखा जाला भन्ने चलन पनि छ। यसो भन्नुचाहिँ आम मतदाता नागरिकको अपमान गरेको हो। मैले चुनाव जितिसकेपछि कम्तीमा पाँच वर्षसम्म तिमीहरू केही गर्न सक्दैनौ भनेको हो। 

तर, अहँ, अब हामीले कुनै पनि पार्टी, नेता तथा कार्यकर्ताले गर्छु भनेको कुरा गरेनन् भने आम मतदाता चुप लागेर बस्नुहुँदैन। यसमा एकातिर हामीले आगामी दिनका मतपत्रमा ‘नो भोटिङ’को व्यवस्था गर्न र चुनावपछि पनि ‘राइट टु रिजेक्ट’ व्यवस्थाका लागि अभियान चलाउनुपर्छ।

तपाईंले यदि गीता पढ्नु भएको छ र त्यसका सन्दर्भहरू उल्लेख गर्दै आलोचना गर्नुभयो भने त्यो स्वस्थ आलोचना हुनेछ। धर्म, संस्कृति र सभ्य समाजको विकासमा मद्दत पुग्नेछ। कुरान, त्रिपिटक, बाइबल आदिका हकमा पनि यही कुरा लागू हुन्छ।

तपाईंले घोषणापत्र पढ्नुभयो भने धेरै कुरा थाहा हुन्छ। कवि पर्सिविस शेलीका अनुसार हामी जति अध्ययन गर्दै जान्छौँ, त्यति आफ्नो अज्ञानताको ज्ञान हुँदै जान्छ। कसैले माने पनि नमाने पनि हामीमा अज्ञानताको मात्रा निकै छ। तर, अज्ञानता हाम्रा लागि अपेक्षित कुरा होइन। हामी अज्ञानी भइरहन पाउँदैनौँ।

कुनै राजनीतिक पार्टीको घोषणापत्र पढ्दै गर्दा हामीले ध्यान दिनुपर्ने कुरा मात्र कति हो भने घोषणा गर्नेे वा यस्तो घोषणा गर्नुपर्छ भनेर सिकाउने व्यक्ति स्वयं घोषणा गरेका कुरामा कति गम्भीर छ? कति बुझेको छ? अनि त्यहाँ लेखिएका बुँदामध्ये कुनचाहिँले तपाईंको मन छोयो? कुन काम योचाहिँ गर्न सकिन्छ र गर्नुपर्छ, यो काम गर्ने हो भने त म पनि सघाउँछु जस्तो लाग्छ? 

जस्तो कि हामी आफ्नो गाउँ वा नगरको वातावरणमा सुधार गर्छौं, पर्यटन प्रवर्द्धन गर्छौं, कृषि–उद्यमको विकास गर्छौं, घर–करेसामै व्यापार–व्यवसायको नयाँ संभावनाको खोजी गर्छौं भनेर सोलोडोलो एकै वाक्यमा भन्नु वा लेख्नुको साटो हामी आफ्नो गाउँ वा नगरका सबै विद्यालयका चौरको चारैतिर त्यो विद्यालयको माथिल्लो कक्षाका विद्यार्थीहरूलाई परियोजना कार्यका रूपमा सुपारीको बिरुवा रोप्न तथा हुर्काउन लगाउँछौँ भनेर लेखिएको व्यावहारिक हुन्छ।

त्यस्तै, अलि हातखुट्टा चलाउनसक्ने जेष्ठ नागरिकलाई केही काम नगरी मासिक भत्ता दिन्छु भन्नुचाहिँ उनीहरूले त्यत्रो वर्ष काम र अध्ययन गरेर प्राप्त गरेको अनुभव र व्यक्तित्वको अपमान गरेको हो जस्तो लाग्छ मलाई। बरु त्यसको सट्टामा गाउँ वा नगरका सबै क्षेत्रका सेवा निवृत्त कर्मचारीहरूको तथ्यांक संकलन गरी उनीहरूले काम छोड्नुपर्दाका बखतको तलब स्केल नघट्ने गरी उनीहरूले पाउने पेन्सन रकममा रकम थपेर तत् तत् क्षेत्रसँग सम्बन्धित, जस्तैः सेना, प्रहरी हुन् भने बारुणयन्त्र, अस्पताल सुरक्षाकर्मी, शिक्षक हुन् भने विद्यालय वा स्रोतकेन्द्र सहयोगी, प्राविधिक हुन् भने खेत, गोठ, वन, बाली अनुगमनकर्ता आदिका रूपमा थप सेवामा फर्काएर उनीहरू अनुत्पादक क्षेत्रमा जाने संभावना घटाउनुपर्छ।

१० वर्षमा एउटा महानन्द वाटिकाको निर्माण सम्पन्न गर्न नसक्ने स्रोत–साधन भएको ठाउँमा पाँच वर्षभित्र चक्रपथ निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने तपार्इं पत्याउनुहोला, मलाईचाहिँ कसम विश्वास लागेन। पाँच वर्षमा सर्भे र जग्गाप्राप्ति तथा दुई–चार किलोमिटर ट्र्याकसम्म खोल्न सकिएला। हामीलाई राम्रैसँग थाहा छ, विराटनगर र इटहरी चक्रपथको कार्य–प्रगति दर कस्तो छ!

अर्थात् उनीहरूको चित्त बुझाएर उनीहरूले ‘भयो अब आजदेखिचाहिँ म साँच्चिकै विश्राम लिन चाहन्छु’ भनेको दिनसम्म सक्रिय बनाउने, उनीहरूको क्षमताको दोहन गर्नेस्तरको योजना कसको छ? त्यो एउटा सचेत नागरिकको सरोकारको विषय हो।

इनरुवाको सन्दर्भमा मैले नगर काङ्ग्रेसको घोषणापत्र पढेँ। त्यसका बारेमा थाहा हुने भइहाल्यो। एमालेको नगर घोषणापत्र पनि पढेँ। सङ्घीय समाजवादी फोरमको वडा नम्बर एकको एउटा पर्चा हात पर्‍यो। त्यो पनि पढेँ। बाँकी अरूको खोज्दै छु। हात पर्‍यो भने पढ्ने नै छु। मौन अवधिमा इनरुवा एमालेको घोषणापत्र पढ्ने क्रममा सुरु कभर पेजमै मन खिस्रिक्क भइहाल्यो। त्यसमा ‘बहुदलीय’ र ‘स्थानीय’ दुवै शब्दमा ईकार ह्रस्व लेखिएको छ, दीर्घ लेख्नुपथ्र्यो। फस्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन।

तर, भित्र केही राम्रा, केही व्यावहारिक योजना, सोचाइहरू पनि छन्, जुन मलाई मनपर्‍यो, जुन काम भोलिका दिनमा इनरुवाले गर्नै पर्छ। जस्तैः सुकुम्बासी समस्या समाधानका लागि एकीकृत नमुना बस्ती निर्माण। विद्युतीय प्रणालीबाट घर नम्बर राख्ने। उद्योग वाणिज्य संघको सहकार्यमा बजार व्यवस्थापन, कर निर्धारण र कर संकलन। ‘एक वडा एक उत्पादन’ अभियान।

यसबाहेक, कभरमा अर्को चित्त नबुझने कुरो पनि छ। सूर्यको घेराभित्र मदन भण्डारी, जीवराज आश्रित र मनमोहन अधिकारीको मुहार राखिएको छ। यो के गरेको? भण्डारी, आश्रित र अधिकारीको यस्तो देवत्वकरण किन? हिन्दू, बौद्ध, इस्लाम, इसाई आदि जुनसुकै धर्ममा ईश्वरलाई आफूभित्रको उज्यालोका रूपमा बुझिएको छ। र, त्यसको प्रतीक स्वरूप सूर्य–किरणलाई ईश्वरको प्रतिमूर्तिका पछाडि देखाउने हाम्रो धार्मिक, सामाजिक–सांस्कृतिक मान्यता छ। कसैले त्यो आस्थालाई टेकेर यस्तो ‘कार्टुन’ बनाउने किन?

यो त उही एकपटक रेखा थापाले रामनामी च्यातेर फोटो–सेसन गरेको स्तरको हर्कत जस्तो लाग्यो मलाई। माइण्ड नगर्नुहोला। नेताहरूको फोटो चुनाव चिह्नभन्दा बाहिर छापौँ। चुनाव चिह्नकै हकमा पनि त्यसलाई विकृत नपारौँ। कमल थापाहरूले आफ्नो मुहार गाईको मुहारसँग जोडेर प्रयोग गरे भने के हुन्छ?

अब घोषणापत्रको पेज नम्बर एकमा जाऊँ। प्रुफ मिस्टेकका कुरा म गर्दिनँ, त्यसमा कम्तीमा ३५ ठाउँ र अन्तिममा २२ ठाउँमा शब्दहरूको हिज्जे गल्ती छ। बीचका शब्दहरूको के चर्चा गर्नु? यसबेला म त्यसको भाषामा होइन, भावार्थमा गम्भीर बनेको छु। भाषाकै कुरा गर्ने हो भने पनि आधारभूत ह्रस्व–दीर्घ, विभक्ति र नामयोगी शब्द मूल शब्दसँग जोड्नुपर्छ भन्ने कुरा सबै नेपालीलाई थाहा हुनुपर्छ भन्छु म। तर, त्यतातिर नलागौँ। कुरा गरौँ नियतको! 

कुनै पार्टी आफ्नो घोषणापत्र किन निकाल्छ? अरू विचार समूहकाहरूलाई गाली गर्न कि मेरा योजनाहरू यो–यो छन् भन्न? एमालेको घोषणापत्रको एक नम्बर पानामै ‘असक्षम तथा नालायक जनप्रतिनिधिले सञ्चालन गरेको स्थानीय निकाय’ भनिएको छ। पहिलो कुरा त ‘असक्षम’ भन्ने शब्दै हुँदैन।

दोस्रो कुरा, के भनेको यो? कसलाई भनेको यो? के हिजोका दिनमा इनरुवा नगरपालिकासँग साइनो जोडिएका जो–जति एमालेको लेवल लागेकाहरू थिए, तीचाहिँ दूधले नुहाएका र अरू बाँकी जो थिए, ती नालायक थिए भन्न खोजेको हो? सबै तह–तप्काको भावनाको सम्मान गर्छु भन्ने पार्टीले यस्ता गाली–गलौजका शब्दहरूलाई फोर–जी पुस्ताका लागि दस्तावेजीकरण गर्न सुहाउँछ?

ल, यसलाई पनि छोडौँ। अब अर्को पदावली हेरौँ। तीन नम्बर पेजमा ‘इनरुवा नगरपालिकामा विगतमा नेपाली कांग्रेसले के–के गर्‍यो? भनेर आधार पेस गर्न सक्ने र बताउन सक्ने हैसियत नभएकाले’ भन्ने वाक्यांश लेखिएको छ। योचाहिँ ‘आफ्नो आङको भैँसी नदेख्ने, अरूको आङको जुम्रा टिप्दै हिँड्ने’ भनेजस्तो भयो। त्यसो नगरौँ! हामीले अरूका आलोचना–प्रत्यालोचना धेरै गरिसक्यौँ। अब आफूलाई परिवर्तन गरौँ। एकातिर हामी इनरुवामा फोर–जीको कुरा गर्ने र अर्कोतिर हामी गाँड कोराकोर गर्ने? यो सुहाउँदैन। सबै मिलेर काम गरौँ। राम्रा कामको प्रशंसा गरौँ। सुधारका केही अवसर छन् भने स्वस्थ शब्दहरूले अौँल्याऔँ।

यो प्रसङ्गलाई पनि यतिमै छोडौँ। बुँदा नम्बर पाँचमा पाँच वर्षभित्र इनरुवाका सबै वडाहरूमा ढलसहितको कालोपत्रे सडक बनाउने भनिएको छ। तर कति किलोमिटर? खुलाइएको छैन। बुँदा नम्बर छमा हरेक वडाको ढललाई नजिकको खोलामा मिसाउने कुरा गरिएको छ। यो योजनालेचाहिँ घडी उल्टो घुमाउन चाहेको प्रतीत हुन्छ। हामीलाई हाम्रा खोलाहरूमा ढल मिसाउने होइन, सफा गर्ने योजना र जनप्रतिनिधिहरू चाहिएको छ।

सात नम्बर बुँदामा पाँच वर्षभित्र चक्रपथ निर्माण सम्पन्न गर्ने कुरा गरिएको छ। १० वर्षमा एउटा महानन्द वाटिकाको निर्माण सम्पन्न गर्न नसक्ने स्रोत–साधन भएको ठाउँमा पाँच वर्षभित्र चक्रपथ निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने तपार्इं पत्याउनुहोला, मलाईचाहिँ कसम विश्वास लागेन। पाँच वर्षमा सर्भे र जग्गाप्राप्ति तथा दुई–चार किलोमिटर ट्र्याकसम्म खोल्न सकिएला। हामीलाई राम्रैसँग थाहा छ, विराटनगर र इटहरी चक्रपथको कार्य–प्रगति दर कस्तो छ!

खासमा यो लेखको आशय यही लेखको प्रेरक तत्त्व एमालेको घोषणापत्रको विरोध गर्नु होइन। हाम्रो समाजको, हाम्रा साथीहरूको सोचको विश्लेषण गर्नु हो। अनि यो लेख लेख्न बाध्य गराउने खास सन्दर्भचाहिँ ५१ र ७५ नम्बर बुँदा हुन्, जहाँ नगरका सबै सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यममा रूपान्तर गर्ने कुरा गरिएको छ। तर, एकातिर सबै भाषाभाषी, संस्कृतिको संरक्षण–संवर्द्धनको कुरा गर्ने र अर्कोतिर नेपाली भाषाको विद्यालयलाई बन्द गर्ने? यो कस्तो योजना हो? बरु त्यसको साटो नगरमा मगर, झाँगड, मिथिला, थारू, उर्दूलगायत भाषाको विद्यालय खोल्छु भन्नुपर्ने हो।

कृपया कसैले पनि भाषा, धर्म, संस्कृति आदिका सवालमा खेलवाड गर्ने कुरा नगरोस्। ख्याल–ख्यालमा छँदा–खाँदाको संस्कृत हटाएर जुन नैतिक संकटको भार हामीलाई थोपरिएको छ, त्यसमा नेपाली भाषा बिस्थापन गरेर हुने क्षतिको बोझ थपेको हामी खेप्न सक्दैनौँ। हामी सरकारी विद्यालयको गुणस्तर उकास्ने कुरा गरौँ। सुविधा–सम्पन्न बनाउने कुरा गरौँ। तर, नेपाली भाषा बिस्थापनको कुरा नगरौँ।

आज बङ्गाली भाषाको सन्दर्भसँग जोडिएर नेपालीभाषीहरू जसरी आन्दोलित भइरहेका छन् गोर्खाल्यान्डतिर, त्यो आन्दोलन हामीलाई इनरुवामा चाहिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.