|

बारपाक : गोरखा भूकम्पको केन्द्रविन्दु बारपाकमा भूकम्प पीडितहरु अहिले घर बनाउने चटारोमा छन्। कहिले एकिकृत बस्तीको भाषण त कहिले सरकारी अनुदानको अपुरो भाषण सुनेर वाक्क भएका बारपाकीहरु घर बनाउन व्यस्त भएका हुन्। 

भूकम्प लगत्तै गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प प्रतिरोधी घर बनाउन विभिन्न नाप–नक्सा सार्वजनिक गर्नुअघि नै बारपाकीहरुले घर बनाउन थालेका थिए। पुनर्निर्माण निति आउनुअघि करिब ३०० घर बारपाकमा तया र भइसकेको थियो। सरकारले दिने सहयोगको आशामा लामो बसेका बारपाकीहरुले अब सहयोग कुर्न छाडेका छन्। आगामी वर्षा काट्न समस्या हुने भन्दै उनीहरुले धमाधम घर बनाउन थालेका छन्।

‘गाउँमा अहिले ५ सयभन्दा धेरै पक्की घर बनिसके,’ बारपाक ४ का खेमराज घले भन्छन्,‘गाउँमा अब यसै घरमा बस्ने भनेर भूकम्पको कार्यविधि आउनुभन्दा अघि नै तीनसय भन्दा धेरै वटा घरहरु बनिसकेका थिए। त्यसपछि अहिले पक्की घरहरु पनि २ सयको हाराहारीमा थपिसक्या छ।’ 

एकै ठाउँमा करिब १३ सय घरधुरी रहेको तथा एकिकृत बस्ती विकास गर्न पर्याप्त भूगोल समेत भएको बारपाकमा सरकारले ठोस निर्णय लिएर काम अघि बढाउन सकेको छैन। त्यसैले जोखिमकै बीच बारपाकमा स्थानीयले आफ्नै सक्रियतामा पुनर्निर्माण गरिरहेका छन्। 

आर्थिक हिसाबले कमजोर भएकाहरु जस्तापाताले छाएको आवश्यकता अनुसारको तीन या चारकोठे एक तले घर बनाउन व्यस्त छन्। आर्थिक रुपमा सम्पन्नहरुले ढलान गरेर २ या ३ तले घर बनाइरहेका छन्। केहीले आफ्नै पैसाले घर बनाएका छन् भने केहीले ऋण खोजेर घर नयाँ घर ठड्याएका छन्। 

‘सरकारले यसो उसो गर्छु भन्छ केही गर्दैन,’ बारपाकै धर्तीराम घले भन्छन् ‘त्रिपाल मुनी काँप्दै कति बस्ने, पानीमा कति रुझ्ने। अर्काको जग्गामा टहरो बनाएर सधैं बस्न दिँदैन। उसको पनि खेतीपाती लगाउने बेला भएर कराउन थाल्यो।’जिल्लास्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख रोशन श्रेष्ठले भने बारपाकमा अझै एकिकृत बस्ती निर्माण गर्न सकिने बताए। ‘एकिकृत बस्ती विकास गर्न नसक्ने अबस्थामा पुगिसकेको छैन,’ श्रेष्ठले भने ‘कार्यविधि नबनेर रोकिएको हो। कार्यविधि बन्न किन ढिलो भयो हामीले पनि पत्तो पाएका छैनौँ। हामीले निरिन्तर फलो गरिरहेका छौँ।’ 

बारपाकमा अहिले भूकम्प स्मृती पार्क बनाउने काम सुरु भइसकेको छ। बारपाकमा अहिले पुननिर्माण भएका अधिकांश घरहरु भूकम्प प्रतिरोधी समेत छैनन्। तर यस्तो घर बनाउन पनि बारपाकीले पाँच लाखभन्दा धेरै रकम खर्चिसकेका छन्। त्यसैले यिनीहरुले अब यो घर भत्काएर एकिकृत बस्ती बनाउन अर्काे घर बनाउने सम्भावना नरहेको अर्का बारपाकी धनीराम घले बताउँछन्। 

घर–घरमा सडक 

बारपाकीले ढुङ्गा, सिमेन्ट, रड, केहिले ढुङ्गा र माटोको प्रयोग गरेर घर बनाएका छन्। बारपाकीको घर बनाउन आवश्यक ढुङ्गा, गिटी, बालुवा, सिमेन्ट, रड लगायतका सामाग्रीहरु घर–घरै पुगेको छ। दरौँदी नदिको किनारामा रहेको बालुवा उनीहरुले ट्रयाक्टरमा हालेर बारपाक पुर्‍‍याएका हुन्। 

डब्लु एफपीको सहयोगमा सप्रोस नेपालको संयोजकत्वमा कामका लागि खाद्यन्न भन्ने कार्यक्रमबाट बारपाकीको घर–घरै सडक पुगेको छ। ‘सप्रोसको कार्यक्रम पछि हाम्रो घरघरै जिप, ट्रयाक्टरबाट घरघरैमा सामान पुर्‍‍याउन सजिलो भएको छ,’ बारपाककै प्रकाश घले भन्छन् ‘आन्तरिक ग्रामीण रिङरोड निर्माण कार्यक्रमबाट सडक बनाइएको हो।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.