कोटही माईको एउटा वडाको मतदान १६ गते

|

रुपन्देही : मतदानको दुई दिन अगावै रुपन्देहीका ६० प्रतिशत मतदाताले परिचय पत्र लिएका छन्। उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा मतदाता परिचयपत्र लिनेको संख्या बढी रहेको छ।

मधेशी समुदाय रहेको रुपन्देहीको दक्षिणी क्षेत्रका मतदाता आइतबार नै परिचय पत्र लिन मतदान स्थल पुगेका थिए। ‘आइतबार नै कतिपय केन्द्रका ५० प्रतिशत मतदाताले परिचयपत्र लगेका छन,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका निर्वाचन अधिकृत यमबहादुर कुँवरले भने,‘६० प्रतिशतभन्दा बढी मतदाताले परिचय पत्र लगिसकेका छन्।’

मतदाता परिचय पत्र लिनका लागि बिहानैदेखि लामो लाइन लाग्ने गरेको छ। बुटवल उपमहानगरपालिकाका अधिकांश मतदान स्थलहरुमा विहान सात बजेदेखि नै मतदाताको घुँइचो लागेको थियो।

निर्वाचन कर्मचारीहरुले ४-५ वटा टेबुलबाट छुट्टा–छुट्टै नम्बरका परिचय पत्र वितरण गरेका थिए। मतदाता परिचयपत्र नभए अन्य परिचय खुल्ने सरकारी कागजातले पनि मतदान गर्न पाइने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

बुटवल उपमहानगरपालिकामा ५० प्रतिशतभन्दा धेरैले परिचय पत्र लगेका छन् । वार्ड नम्बर ६ का मतदान अधिकृत गौतम रौनियारले सोमबारसम्म मतदाता परिचय पत्र लैजानेको संख्या ५० प्रतिशत नाघेको बताए। रुपन्देहीमा २ सय ५ मतदान स्थलबाट परिचयपत्र वितरण गरिएको छ।

जिल्लामा ४ लाख ६२ हजार मतदाता रहेका छन्। मतदाता परिचयपत्र वितरणसँगै मतदान गर्ने स्थलको निर्माण शुरु गरिएको छ। वर्षायाम भएकाले पानी तर्काउने त्रिपाल राखेर मतदान र मतपेटिका राख्ने स्थान बनाइने भएको हो। मतमेटिकालाई कोठा भित्र राख्न सकिने व्यवस्था पनि निर्वाचन आयोगले गरेको छ।

कोटही माईमा १६ गते मतदान
रुपन्देहीको कोटहीमाई गाउँपालिका वार्ड नम्बर १ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको हो। 
माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरली मल्लाहाको तीन दिनअघि निधन भएको थियो। दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.