|

काठमाडौं : निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछ।

वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। 

चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई नासु वा खरिदारस्तरका सहायक कर्मचारी र एक सहयोगीसहितको टोली पुगिसकेको छ। पाँच सयभन्दा कम मतदाता भएकोमा पाँच कर्मचारी पठाउने नियमानुसार उनीहरूलाई खटाइएको हो। दुई स्थानीय सहयोगी कार्यकर्ता राख्नुपर्ने प्रावधान छ। उनीहरूसँग प्रहरी र सशस्त्रको टोली छ भने सेनाले समेत यो क्षेत्रमा गस्ती गरिरहेको छ। 

मतदानपछि भने मतपेटिकालाई हेलिकोप्टरबाट ओसारिनेछ, विगतमा जस्तै। ‘यो क्षेत्रमा एक बस्तीबाट अर्को बस्ती पुग्न एक दिन लाग्ने भएकाले थोरै मतदाता भए पनि बस्तीपिच्छे केन्द्र राखेका छौं,’ मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले भने, ‘सबै मतदाताको अधिकार सुरक्षित गर्न र मतदाताको सुविधालाई ध्यानमा राखेर बस्तीमै मतदान केन्द्र राखिएको हो।’

मात्रै १७ मत भए पनि मताधिकारको कदर गर्दै राज्यले कर्मचारी र सुरक्षाकर्मी मात्रै खटाएको छैन, आवश्यक रकम पनि खर्चिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार याङमामा सुरक्षाकर्मीका लागि बाहेक १ लाख ३९ हजार ४ सय रुपैयाँ खर्च हुनेछ। कर्मचारीको १ लाख २ हजार २ सय, मतदान केन्द्र खर्च १३ हजार ९ सय, परिचयपत्र वितरणका लागि ७ हजार ३ सय र अतिरिक्त ३ हजार रुपैयाँ खर्च हुन्छ। मतपत्र र मतपेटिका बाँध्न प्रयोग गरिने सामग्री, प्लास्टिकलगायत वस्तुमा पनि थप खर्च हुनेछ।

सदरमुकाम फुङलिङबाट लगातार हिँडदा तीन दिनमा मात्रै पुगिने याङमामा जस्तै ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा पनि मतदाता थोरै भए पनि कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । ४० मतदाता रहेको ग्याब्लामा १ लाख २९ हजार ६ सय रुपैयाँ खर्च हुने निर्वाचन कार्यालयले जनाएको छ । घुन्सामा १ लाख २६ हजार ४ सय खर्च हुन्छ । यहाँ १ सय २६ मतदाता छन् । ओलाङचुङगोलामा १ लाख ३० हजार खर्च हुन्छ। यहाँ २ सय ७ मतदाता छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.