|
सांकेतिक फोटोः Emaze

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारभित्रको सबस्टेशनको ६६ केभी भूमिगत तार पड्किँदा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो। सिंहदरबार क्षेत्रमा मेलम्ची खानेपानीको पाइप बिछ्याउने क्रममा केबलमा क्षति पुग्दा आज दिउसोदेखि विद्युत् सेवा अवरुद्ध भएको हो। 

खानेपानीको पाइप बिछ्याउने कामदारले सबस्टेसनको केबल खन्दा पड्किएर क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए।

सिंहदरबार सबस्टेसनसँग जोडिने राजधानीका ११ वटा फिडरको सेवा अहिले अवरुद्ध रहेको र सेवा सञ्चालन गर्न अझै केही समयलाग्ने प्रवक्ता अधिकारीले जानकारी दिए। प्राधिकरणको प्राविधिक समूहले समस्या समाधान गर्न प्रयास गरिरहेको छ। विद्युत् अवरुद्ध हुँदा ३५ देखि ४० मेगावाट विद्युत् प्रणाली बाहिर गएको छ। सिंहदरबार वरपरका बागबजार, पुतलीसडक, अनामनगर, बबरमहललगायत स्थानमा सेवा अवरुद्ध हुन पुगेको हो।

भूमिगत तार पड्किँदा विद्युत् आपूर्ति छिनछिनमा अबरुद्घ भइरहेको छ। यसअघि पनि चाबहिल, महाराजगन्ज क्षेत्रमा पनि खानेपानीको पाइप राख्दा असावधानीपूर्वक काम गरिँदा समस्या उत्पन्न भएको थियो।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ का प्रवक्ता एवम् इन्जिनियर लीलाप्रसाद ढकालले आयोजनाका कारण विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको भए तत्काल समाधान गर्न तयार रहेको बताए।

यसअघि पनि काठमाडौंका विभिन्न स्थानमा देखिएका समस्या समाधानका लागि प्राधिकरणसँग मिलेर काम गरेको जानकारी दिँदै उनले सिंहदरबारको पश्चिम गेट अगाडि उत्पन्न परिस्थिति समाधानको पहल भइरहेको उल्लेख गरे।

गत वर्ष नै जडान गरिएको पाइपमा प्राविधिक तयारी गर्ने क्रममा बुधबार सिंहदरबारको पश्चिम गेट नजिक खानेपानी आयोजनाका कामदारले काम गर्दा प्राधिकरणको तारमा क्षति पुगेपछि प्राधिकरण, आयोजना दुवैले मिलेर समस्या समाधान गरिएको प्रवक्ता ढकालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.