|

गोरखा : गोरखा नगरपालिकाको नगर कार्यपालिकाको पहिलो बैठकले नेपालकै पहिलो गोरखकाली रबरउद्योग सञ्चालन गर्ने,  नगरक्षेत्रभित्रको अब्यवस्थित जग्गा जग्गा प्लटिङ बन्द गर्ने लगायतका निर्णय गरेको छ।

हाल भइहेको अव्यवस्थित प्लटिङलाई रोक्दै त्यसलाई व्यवस्थित गर्ने निर्णय गरेको हो। त्यस्तै गोरखकाली रबर उद्योग नियमित सञ्चालनका लागि केन्द्रमा आग्रह गर्ने, उद्योग नियमित हुन नसक्नुको कारणहरु पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए। आवश्यक कच्चा पदार्थ र चालु पूँजीको अभावमा गोरखाकाली रवर उद्योग एक वर्ष भन्दा अगाडिदेखि बन्द छ।

‘हामीले विभिन्न चुनातीका बावजुद महत्वकांक्षी योजनाहरु अघि सारेका छौँ’ पन्तले भने ‘नगरक्षेत्रको समग्र भूउपयोगको नीति बनाई तोकिएको ठाऊँमा मात्रै प्लटिङ गर्ने, नेपालकै एक मात्र टायर उद्योग जुनकुनै हालतमा पनि सञ्चालन गर्ने, गोरखाको पर्यटन विकासमा टेवा पुग्ने विभिन्न संरचनाहरु निर्माण गर्ने लगायतका निर्णयहरु हाम्रो पहिलो बैठकले गरेको छ।’ त्यस्तै अबको सात दिन भित्र गोनपाको सबै वडामा वडा कार्यालय स्थापना हुने र जनताले वडाबाटै सेवासुविधा पाउने मेयर पन्तले बताए।

अहिले भैरहेका अव्यवस्थित प्लटिङ भूउपयोगको नीति बनेपछि वस्ती क्षेत्र, संरक्षण क्षेत्र, पार्क निर्माणस्थल लगायतको किटान हुने र त्यसै अनुसार वस्ती विकास गर्दा नगरक्षेत्रको सुन्दरता पनि बढ्ने पन्तको भनाइ छ।

यस्तै ऐतिहासिक गोरखा दरवार क्षेत्रलाई केन्द्र मानेर नगरका अरु पर्यटकीय क्षेत्रको प्रवर्द्धन र प्रचार प्रसारमा जोड दिने, लाभग्राहीमा नाम छुटेका भूकम्प प्रभावितको घरको पुन सर्वेक्षण तत्काल शुरु गर्ने पनि नगर कार्यपालिकाले निर्णय गरेको छ।

राष्टिूय पुननिर्माण प्राधिकरणले बनाएको नयाँ कार्यविधि अनुसार अब वडास्तरका गुनासा सम्बोधनको काम वडा अध्यक्ष संयोजक रहेको समितिले नै गर्न सक्नेछ। यस्तै नगरपालिकाले आउँदो आर्थिक वर्षसँगै राष्ट्रिय भवन संहिता लागु गरी कार्यान्वयन गर्ने भएको छ। नगरपालिकाको आन्तरिक आम्दानीका नयाँ स्रोत पहिचानका लागि राजस्व परामर्श समिति पनि गठन गरिएको नगरप्रमुख पन्तले बताए। गोरखा नगरपालिकाले आउँदो आर्थिक वर्षको नीति कार्यक्रम र वजेट प्रस्तुत गर्ने कार्यतालिका पनि तय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.