|

काठमाडौं : काठमाडौंमा फेरि एक जना स्वाइन फ्लुको विरामी भेटिएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एकजना महिलामा स्वाइन फ्लु पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कुलेश्वरकी ३८ वर्षीय एक महिलामा स्वाइन फ्लुको संक्रमण देखिएको हो।

गम्भीर खालको रुघाखोकी सहित र ज्वरो आएपछि  अस्पतालमा उपचारका लागि आएकी ती महिलामा स्वाइन फ्लुको शंका लागेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना जाँच गर्दा संक्रमण पुष्टि भएको हो। उनको अहिले अस्पतालमा नै विशेष निगरानी सहित  उपचार भैइरहेको समेत डा. पुनले बताए।

'गम्भीर खालको रुघाखोकी सहित र ज्वरो आएपछि हामीले स्वाइन फ्लुको शंका लागेर उनको नमूना जाँच केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला गरेका थियौं, प्रयोगशाला रिपोर्टमा उनलाई स्वाइन फ्लुको संक्रमण भएको पुष्टि भएको छ' उनले भने 'हामीले उनको अहिले अस्पतालमा नै भर्ना गरेर विशेष निगरानी सहित उपचार गरेका छौँ।'

गत वैशाख पहिलो साता उपचारको लागि उपत्यका भन्दा बाहिरबाट आएका एक ३० वर्षीय पुरुषमा स्वाइन फ्लु देखा परेको थियो। तर यस पटक भने काठमाडौँमा नै स्थायी रुपमा बस्ने मानिसमा स्वाइन फ्लु देखा परेको हुँदा उच्च सर्कता अपनाउनु पर्ने डा. पुनले बताए। यससंगै यस बर्ष मात्र उपत्यकामा दुई जनामा स्वाइन फ्लु भएको पुष्टि भएको छ।

'बैशाख पहिलो साता यसरी नै उपचार गर्न आएका एक जना पुरुषमा स्वाइन फ्लु भएको पुष्टि भएको थियो तर ती पुरुष उपत्यका भन्दा बाहिरका थिए तर यसपटक काठमाडौँमा नै स्थायी बसोबास गर्दै आएकी महिलामा स्वाइन फ्लु देखा परेको छ। त्यसैले उच्च सर्कता अपनाउनुपर्ने देखिन्छ' डा. पुनले भने।

के हो स्वाइन फ्लु?

गर्मी मौसममा मानिसहरुमा विभिन्न प्रकारका मौसमी फ्लुहरु देखिने गर्छ। त्यस्तै स्वाइन फ्लु पनि एक प्रकारको फ्लु हो। स्वाइन फ्लुका बिरामी पनि रुघाखोकीका बिरामी जस्तै हुने भएकाले रुघाखोकीमा पनि हेलचेक्र्याई गर्न नहुने डा. पुन बताउँछन्। 'स्वाइन फ्लु पनि एक प्रकारको फ्लू हो। मौसममा देखिने रुघाखोकीका बिरामी जस्तै स्वाइन फ्लु पनि त्यस्तै भएकाले स्वाइन फ्लु देखिहालेमा आतिनु पर्दैन तर यसलाई हेलचेक्राइ गर्नुपनि हुदैन' उनले भने। 

स्वाइन फ्लु भएमा सामान्य रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउने जस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिने वित्तिकै चिकित्सकलाई देखाउनुपर्ने डा. पुनले बताए। स्वाइन फ्लुबाट जोगिन मानिसहरुले आफूलाई सफा सुग्घर राख्ने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरुबाट टाढा रहनुपर्छ। स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीडभाडमा नजाने, बाहिर हिड्दा माक्सको प्रयोग गर्नु पर्ने डा. पुनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.