|

काठमाडौं : धनगढी उपमहानगरपालिकामा सोमबार राति भएको बम विस्फोटनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एकजना जिल्लास्तरीय नेताको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ निवासी २९ वर्षका चन्द्रबहादुर सिंह (सनराइज) को सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीले आफैले बोकेको बम विस्फोट हुँदा सिंहको मृत्यु भएको बताएको छ। मिडियाहरूमा पनि यही खालका समाचारहरू आएका छन्। तर विप्लव नेतृत्वको नेकपाले भने यसलाई अस्वीकार गरेको छ। आफैँले बोकेको बम पड्किएर मृत्यु भएको भन्ने मिडिया रिपोर्टहरू भ्रामक रहेको नेकपाको दावी छ।

विस्फोटनमा सिंह घाइते भएपछि प्रहरीले उद्दार गरेर उपचारका लागि अस्पताल लगेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कैलालीमा यसअघि पनि स्थानीय निर्वाचन बिथोल्ने गतिविधि गर्दै आएको विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराएको बताए।

के भन्छ नेकपा?

नेकपाका पोलिटब्युरो सदस्य एवं सेती महाकाली ब्युरो कमान्ड इन्चार्ज ओमप्रकाश पुनले मंगलबार विज्ञप्ति निकालेर 'बेबारिसे बम पन्छाउन खोज्दा भएको विस्फोटमा (सिंहको) मृत्यु भएको' दावी गरेका छन्।

'पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरी घरतर्फ फर्कनेक्रममा धनगढीको जीएच एन्ड  सन्स होटलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेल पछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक विस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उहाँको रातको करिब ११ बजे सहादत भएको छ', विज्ञप्तिमा उल्लेख छ।

देशका विभिन्न भूभागमा उम्मेदवारका घर र सार्वजनिक स्थलमा बम तथा अन्य शंकास्पद बस्तु राखेर जनजीवन आतंकित बनाएको नेकपाले आफ्ना कार्यकर्ता बम पन्छाउन जाँदा मारिएको भनेपछि त्यसलाई धेरैले पत्याएका छैनन्।

मुद्दा नहाल्न परिवारलाई चेतावनी

नेकपाले बम विस्फोटनमा आफ्ना कार्यकर्ता मारिएको विषयमा पार्टीका नेताहरूमाथि मुद्दा लगाउने तयारी भएको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएको छ। आफ्ना विरोधीको उक्साहटमा मृतकका परिवारलाई उचालेर प्रहरीले आफ्ना नेता कार्यकर्ताविरुद्ध मुद्दा दायर गर्न लागेको उसको शंका छ।   

'हाम्रा विरोधीहरुले उचालेर प्रहरीले परिवारको तर्फबाट हाम्रा केही नेता कार्यकर्ताको नाममा मुद्दा हाल्न लगाइँदैछ भन्ने पनि सुन्नमा आएकोले त्यस्तो गैर–क्रान्तिकारी र अराजनीतिक गतिविधि कसैले पनि नगर्न र नगराउन पनि सचेत गराउँदछौँ', विज्ञप्तिमा भनिएको छ।

सोसल मिडियामा आलोचना

आफ्नै कार्यकर्ता बम विस्फोटनमा मारिए पनि विप्लव नेतृत्वको नेकपाले त्यसको जिम्मेवारी नलिएको भन्दै सोसल मिडियामा आलोचना भएको छ।

लोकेन्द्र घताल फेसबुकमा लेख्छन्- यो घटनाबाट स्पष्ट हुन्छ कि निर्वाचन बिथोल्न खोज्ने विप्लवका गतिविधि उनकै लागि आत्मघाती छन्। संविधानसभा निर्वाचन २०७० र २०७४ बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचन बिथोल्न पूर्णतया असफल भएका विप्लव कहिले चेत्ने हुन्? अहिले त झन विप्लवले आफ्नो आधार ईलाका ठान्ने विप्लवको गृहजिल्ला रोल्पा, थवाङमा उनका नेता, कार्यकर्ताहरू नै कांग्रेससँग सहकार्य गरेर अब सधैं बहिष्कार, विरोध, बन्द र हडतालले मात्रै आफ्नो गाउँठाउँको विकास नहुने भन्दै दोस्रो चरणको निर्वाचनमा आफैं उम्मेदवार बनेका छन्।

बसन्त बस्नेत लेख्छन्- 'बम बोकेर चुनाव बिथोल्न हिँडेका विप्लव माओवादी कार्यकर्ता चन्द्र सिंह बम आफैं पड्केर मरेछन्। नेत्रविक्रमका दु:ख। क्रान्तिका प्रश्नहरू नयाँ आइसके। उत्तरपुस्तिका पुरानै। जानेको ज्यान गैहाल्यो। यो पाराले माओवादको पसल अब चल्दैन कमरेड !'

नरेन्द्रजंग पिटर लेख्छन्- जब पार्टीको योजना र आदेशमा भूमिकामा उत्रिँदा मृत्यु हुन्छ तब घटनाको जिम्मासम्म सो पार्टी लिँदैन र कार्इते कुरा गर्छ, तब कुन इक्षा शक्तिले अरू कार्यकर्ता सो पार्टीमा लाग्छन र होमिन्छन्? या जिम्मा लेऊ, या सनराइज पार्टीको मान्छे हैनन् भन। काइते कुरा नगर, त्यस्ता समाचार नकोरल। मान्छे बुझ्दछन्। मानव मृत्युलार्इ 'कुत्ताको मरार्इ' झैँ नबनाउ। जिम्मा लेउ।

लेखनाथ न्यौपानेले संसदीय राजनीति, पार्टीहरू र नेताहरूसँग गैरसंसदीय भनिएको नेकपालाई तुलना गर्दै फेसबुकमा लेखेका छन्- सहानुभूति लिनलाई उमेद्ववार आफैले बम राख्छन् रे, बेवारिसे बम विस्फोट भएर अरूको ज्यान जाला भनेर सर्वसाधारणलाई बचाउन खोज्दा घटना भयो रे ! कम्तिमा चुनाव भत्काउने योजनामा जे गर्नुपर्ने हो त्यही गरिरहेका छौँ भनेर जिम्मा बोलौँ न।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.