|
स्थानीय तहको निर्वाचनमा मतदान गर्न बुटवलबाट आ–आफ्नो मतदान क्षेत्रतर्फ प्रस्थान गर्दै सर्वसाधारण। फोटो : भरत केसी, बुटवल, रासस

काठमाडौं : आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेको स्थानीय तहको निर्वाचनमा सहभागी हुने क्रममा काठमाडौँबाट ती प्रदेशमा जाने यात्रुको चाप बढेको जनाएको छ। निर्वाचन हुन लागेका विभिन्न प्रदेशबाट काठमाडौंमा आएर अध्ययन, जागिर तथा व्यवसाय गर्न बसेका अधिकांश मतदाता सम्बन्धित जिल्लामा जाने क्रम असार महिना लागेपछि नै सुरु भएको हो। 

महासङ्घका महासचिव सरोज सिटौलाले मतदाताका रुपमा गृह जिल्ला जान चाहने यात्रुको चापअनुसार सवारी साधनको व्यवस्थापन गरिएको जानकारी दिए। उनले यात्रुको चाप बढेपछि बाहिर जान पालो कुरेर बसेका गाडीलाई खुकुलो गरिएको र असार १ गतेदेखि अहिलेसम्म सामान्य दिनमा भन्दा अतिरिक्त छ लाख यात्रु बाहिरिएको बताए।

लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि काठमाडौँ बाहिर जाने कलङ्की, बल्खु, कोटेश्वरलगायत नाकामा यात्रुको भिड देख्न सकिन्छ। मंगलबार साँझसम्म पुग्नुपर्ने भएकाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य दिनमा भन्दा अहिले बाहिर जाने यात्रुको भिड छ। 

दोस्रो चरणमा ३३३ स्थानीय तहमा हुन लागेको निर्वाचनका केही क्षेत्र तथा स्थानका उम्मेदवारले काठमाडौंका आफ्ना मतदाताको सुविधालाई दृष्टिगत गरी गाडी नै ‘रिजर्भ’ गरेको पनि पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.