|

  • चन्द्रकला भण्डारी- 

काँकडभिट्टा (झापा) : अर्जुनधारा नगरपालिका– ३ खुदुनावारीका ७२ वर्षीय युवनाथ पौडेल उम्मेदवार रहेका आफ्ना जेठो छोरालाई मतदान गर्नबाट वञ्चित भएका छन्। मतदाता नामावलीबाट नाम हटेका कारण उनी उम्मेदवार छोरा कुलचन्द्रलाई मतदान गर्नबाट वञ्चित भएका हुन्। कुलचन्द्र अर्जुनधारा नगरपालिका– ३ मा नेपाली कांग्रेसबाट वडा सदस्यको उम्मेदवार छन्।

विसं २०७१ चैतमा युवनाथले चन्द्रगढीस्थित निर्वाचन कार्यालयमा गएर फोटो खिचाएका थिए। तर फोटो खिचाएको रसिद बोकेर मंगलबार मतदाता परिचयपत्र लिन जाँदा मतदाता नामावलीमा आफ्नो नाम भेट्टाएनन्। वर्षौंदेखि मतदान गर्दै आएका यदुनाथ नामावलीबाट नाम हटेकोमा ज्यादै दुःखी भएका छन्। उनी पञ्चायतकालमा खुदुनाबारीको वडाध्यक्षसमेत भएका थिए।

निर्वाचन अधिकृत राधाकृष्ण खतिवडालाई उनले आफ्नो गुनासो सुनाए। तर अधिकृत खतिवडाले मतदाता नामावलीमा नै नाम नभएपछि मतदान गर्न नमिल्ने कानुनी व्यवस्था भएको पौडेललाई जानकारी गराए। 

“तपाईले फोटो खिचाएको प्रमाण त छ, तर निर्वाचन आयोगको गल्तीका कारण मतदाता नामावलीमा नाम समावेश हुनसकेन,” निर्वाचन अधिकृत खतिवडाले युवनाथलाई सम्झाउँदै भने “नामावलीमा नाम नभेटिएपछि मैले कसरी मतदान गर्ने व्यवस्था मिलाउने?” 

युवनाथका अर्का छोरा नेत्रप्रसादको पनि मतदाता नामावलीमा नाम भेटिएन। आयोगको त्रुटिका कारण जिल्लामा धेरै मतदाताको नाम नामावलीमा नभेटिएको गुनासो आउन थालेको छ। 

“नामावलीमा मेरो पनि नाम रहेनछ,” अर्जुनधारा नगरपालिका कार्यालय छेउमै घर भएकी छविमाया अधिकारीले भनिन्। उनले मतदाता परिचय पत्रका लागि गत वर्ष नगरपालिका कार्यालयमै गई फोटो खिचाएको बताए। जिल्ला निर्वाचन अधिकृत गोपालप्रसाद आचार्यले मतदाता नामावलीबाट नाम हटेकोबारे आफूलाई कुनै पनि जानकारी नभएको बताए। 

प्रचार सामग्री हटाइए 

निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम मौन अवधिको पालना गर्दै मेचीनगरपालिकाका उम्मेदवारले सार्वजनिकस्थलबाट प्रचार सामग्री हटाएका छन्। 

नगरका मुख्य बजार काँकडभिट्टा, इँटाभट्टा र धुलावारी क्षेत्र सोमबार दिउँसोदेखि प्रचार सामग्रीमुक्त भएका छन्। राजमार्गका चोक, रेलिङ र रुखमा राखिएका ब्यानर, झन्डा र पोस्टर हटाउन दलहरुले आफ्ना कार्यकर्तालाई परिचालन गरेका छन्। 

निर्वाचन आचारसंहिताअनुसार राजमार्गलगायत स्थानमा झन्डा राख्न, पोस्टर टाँस्न र भित्तेलेखन गर्न पाइँदैन। निजी घरमा भने अनुमति लिएर मात्र पाइन्छ। नेपाली कांग्रेस मेचीनगरका प्रचार प्रमुख पुष्पराज पौडेलले आचारसंहिताको पूर्ण रुपमा पालना गरेको बताए। 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समेत सार्वजनिकस्थलबाट प्रचार सामग्री हटाएको छ। एमालेका मेचीनगर अध्यक्ष एवम् मेचीनगरपालिका– ६ का वडाध्यक्ष पदका उम्मेदवार राजु पोखरेलले नगरका चोक र राजमार्ग क्षेत्रमा राखिएका सबै प्रचार सामग्री हटाइएको बताए।

माओवादी केन्द्रका चुनाव प्रचार समितिका संयोजक राजु दाहालले मौन अवधि सुरु हुनुअघि नै सार्वजनिकस्थलमा राखिएका पोस्टर, ब्यानर र हँसिया हथौडासहितका झन्डा हटाइएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.