|

काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचन परिणाम एक साताभित्र सार्वजनिक गर्ने प्रबन्ध मिलाएको छ। मतगणनामा खटिने कर्मचारीलाई विशेष तालिम तथा आवश्यक संख्यामा गणनास्थल थप गर्न निर्वाचन अधिकृतलाई पूर्व निर्देशन दिँदै आयोगले एक साताभित्रै मतपरिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

गाउँपालिकाको निर्वाचन परिणाम ३ दिनभित्र सार्वजनिक हुने उनले बताए। 'एक साताभित्रै मतपरिणाम सार्वजिनक गर्ने किसिमले कर्मचारीलाई विशेष तालिम दिएका छौँ, प्रवक्ता शर्माले भने,' तीन दिनभित्र गाउँपालिकाको र ४ दिनभित्र महानगर र नगरपालिकाको परिणाम सार्वजनिक गर्न आयोगले तयारी गरेको छ।'

मतगणनास्थलमा उच्च सतर्कता

निर्वाचन आयोगले मतगणनास्थलमा विशेष सतर्कता अपनाउने भएको छ। मतपत्र सुरक्षित रुपमा गणना गर्नका लागि आयोगले दलका आधिकारिक प्रतिनिधिलाई व्यवस्थित गर्ने भएको हो। एउटा दलका कम्तीमा २ जना प्रतिनिधिहरुलाई मात्रै गणनास्थलभित्र प्रवेश गर्न दिने आयोगको तयारी छ। धेरै प्रतिनिधि हुँदा विवाद सिर्जना हुने र गणनामा झमेला हुने परिस्थिति सिर्जना हुने भएकाले दलका प्रतिनिधिलाई आयोगले कम संख्यामा प्रवेश दिने भएको हो।

यस्तै मतगणनास्थलमा पनि सुरक्षा व्यवस्था कडा पार्ने आयोगले जनाएको छ। 'भरतपुरमा जस्तै घटना हुन नदिन आयोगले मतगणनास्थल भित्र दलीय प्रतिनिधि धेरै नपठाउने र सुरक्षा प्रबन्ध मजबुत पार्ने र गणक र दलीय प्रतिनिधिको दुरी कामय गरी सुरक्षा घेरा समेत बनाउने तयारी छ,' प्रवक्ता शर्माले भने ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि दलहरुलाई मतगणनामा अनावश्यक विवाद उत्पन्न नगर्न र सद्भाव कायम राख्न आग्रह गरेका छन्। निर्वाचन आयोगको पत्रकार सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै प्रमुख आयुक्त यादवले विजय र्‍यालीसम्म दलहरुको सद्भाव कायम हुने विश्वास व्यक्त गरेका छन्। 'दोस्रो चरणको निर्वाचनमा दलहरुबीचको समन्वय र सौहार्द्धता प्रशंसनीय देखिएको छ', यादवले भने,' यो सौहार्द्धता मतदान, मतगणना र विजय र्‍यालीसम्म कामयै रहने छ भन्ने आयोगले आशा र विश्वास लिएको छ।'

बुधबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ जना सहभागी हुँदैछन्। प्रदेश नम्बर १, ५ र ७ मा हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुँदैछन्। स्थानीय तहको दोस्रो निर्वाचन १ महानगरपालिका, ७ उपमहानगरपालिका,  १ सय ११ नगरपालिका र २ स य १५ गाउँपालिकामा गरी ३ सय ३४ स्थानीय तहमा मतदान हुँदैछ।

निर्वाचन आयोगले मतदाताहरुलाई मतदाता परिचयपत्र वितरण गरिसकेको छ। मतदाता परिचयपत्र हराएमा वा त्रुटी भएमा वैकल्पिक व्यवस्था समेत आयोगले मिलाएको छ। परिचपत्र हराएको अवस्थामा नेपाल सरकारले जारी गरेको परिचपत्र वा परिचय खुल्ने सरकारकी कागजात नागरिकता, राहदानी, धनीपूर्जा देखाएर पनि मतदाता नामावालीमा नाम समावेश भएका मतदाताले मत हाल्न पाउनेछन्। 'मतदाता परिचयपत्र हराएकालाई पनि हामी मतदानबाट वञ्चित गराउने छैनौं सरकारले जारी गरेको वैकल्पिक कागजात देखाएर पनि मताधिकारको प्रयोग गर्न सकिनेछ,'  प्रमुख आयुक्त यादवले भने।

भोट हालेर रोपाईं उत्सव मनाऔं : आयोग

निर्वाचन आयोगले मताधिकार प्रयोग गर्न झरीका कारण समस्या हुने भए पनि झर्को नमानी उत्साहपूर्वक ढंगले निर्वाचन सहभागी हुन मतदातालाई आग्रह गरेको छ। आयोगले खुल्ला मतदानस्थल र केन्द्रमा पालको समेत व्यवस्था गरिएको बताएको छ। झरीको समयमा झर्को नमानिकन मतदान गर्दै जनप्रतिनिधि चयन गर्न आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए। 'झरीका कारण  निश्यच पनि मतदान गर्न कठिन हुनसक्छ झर्को नमानिकन उत्साहपूर्वक स्थानीय सरकारको चयन गरी रोपाईं उत्सव मनाउन निर्वाचन आयोग मतदातालाई अनुरोध गर्दछ,' प्रमुख आयुक्त यादवले भने।

तीनवटा प्रदेशका ३८ जिल्लामा हुने निर्वाचनमा ४५ सय ८१ मतदानस्थल र ८ हजार ३ सय ९४ मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा वर्षा भएपनि मतदान प्रभावित नहुने किसिमको प्रबन्ध मिलाउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ। मतदातालाई समेत आयोगले मतपत्र नबिझाउन र संकेत चिन्ह लतपत नहुने गरी मत संकेत गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.