|

काठमाडौं : काठमाडौं महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः पाँच करोड रुपैयाँ उपलब्ध गराएको छ। 

स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको हो।

मंगलबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साझाका अध्यक्ष कनकमणि दीक्षितलाई पाँच करोड रुपैयाँको चेक हस्तान्तरण गरे। 

सो रकमबाट साझाले १२ बटा डिलक्स र एउटा सामान्यखालको बस सञ्चालनमा ल्याउने भएको छ। कामनपाको सहयोगमा थप बससहित जम्मा ४३ वटा बस गुड्नेछन्। 

महानगर प्रमुख शाक्यले सार्वजनिक यातायातका क्षेत्रमा थप फड्को मार्न र उपत्यकामा गुड्ने साना गाडीलाई विस्थापित गर्न सहयोग गरेको जानकारी दिए। महानगरलाई समृद्ध र जीवन्त सहर निर्माणका लागि आफ्नोतर्फबाट कुनै पनि कसर बाँकी नराख्ने पनि उनले बताए।  

कामनपाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले अन्य निजी क्षेत्रका सार्वजनिक यातायातले पनि साझाले जस्तै सेवा दिन आवश्यक रहेको बताए।

अब सञ्चालन हुने बसले ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालले समेत निःशुल्क सेवा पाउने छन्। मंगलबार हस्तान्तरण गरिएको रकमसहित कामनपाले साझालाई १५ करोड रुपैयाँ उपलब्ध गराइसकेको छ। साझाले ३६५ दिन नै नागरिकलाई सेवा प्रदान गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.