|

पर्वत : म्याग्दीको मालिका गाउँपालिका ६ दिच्यामका वासिन्दाले आफ्नै जीवनकालमा गाउँमा मोटर पुग्ला र त्यही मोटर चढौँला भन्ने सोचेका पनि थिएनन्। तर, उनीहरु हिजोआज खुसीले फुरफुर छन्, उनीहरुको जीवनमा सबैभन्दा खुसीको क्षण अहिल्यै हो जस्तो देखिन्छ।

गाउँबाट मोटर चढ्ने रहरका साथ सडक खन्न शुरु गरेको एक दशकपछि सडकले पूर्णता पाउँदा दिच्यामका नागरिकहरु निकै उत्साहित बनेका हुन्। २०६४ सालदेखि दरबाङबाट खन्न शुरु गरिएको दरबाङ–दिच्याम सडकको ट्रयाक खोल्ने काम २०७४ सालमा बल्ल पूरा भयो। बाटो खन्दै गाउँ पुगेको डोजर र डोजरका अपरेटरलाई गाउँलेहरुले अबिरजात्रा गरे।

लामो समयको प्रयासपछि गाउँमा सडक पुगेको भन्दै स्थानीयले नाचगान सहित रात्री भोजको समेत आयोजना गर्न भ्याए। यसअघि पनि गाउँमा सडक पुर्‍याउनका लागि पटक पटक बजेट विनियोजन हुने गरेको भए पनि त्यसले पूर्णता पाउन नसकेको स्थानीयको भनाइ छ।

बाटो निर्माणको लागि बजेट परेपनि निकै थोरै रकम आउने र एक दुई दिन डोजर लगाउँदैमा बजेट सकिने गरेका कारण ट्रयाक निर्माण गर्न शुरु गरेको १० बर्षमा बल्ल बाटो गाउँमा पुगेको हो। अब गाउँमै सडक पुगेपछि सदरमुकामसम्म सवारी साधनमार्फत आवतजावत गर्न, मालसामान ढुवानी गर्न, योजना सञ्चालन गर्ने लगायतका काममा सहज हुने स्थानीयको अपेक्षा छ।

गाउँलेहरुले राखेको सम्मान तथा भोज कार्यक्रममा बोल्दै सांसद नवराज शर्माले गाउँस्तरमा आउने बजेटको सही सदुपयोग भएमा विकासका थुप्रै योजनाहरु पूरा हुन सक्ने उल्लेख गरे। ठूलो प्रयासपछि दरबाङ–दिच्याम सडकले पूर्णता पाएको बताउँदै साँसद शर्माले आगामी दिनमा सडकको स्तरोन्नति गरी निर्बाध रुपमा सञ्चालन र रेखदेख गर्न स्थानीयलाई सुझाव दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.