|

चितवन : संसदको विकास समितिले मुग्लिन नारायणगढ सडक खण्डमा निर्माणकार्य द्रुत बनाउन अनुगमन समिति बनाउन निर्देशन दिएको छ। चितवनको भरतपुरमा सरोकारवालाहरूसँगको बैठकपछि समितिले प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई अनुगमन समिति बनाएर अनुगमन गर्न निर्देशन दिएको हो।

समितिले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ। यस्तै सडकलाई सुरक्षित बनाउन के के उपाय अपनाउन सकिन्छ भन्ने बारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न पनि समितिले निर्देशन दिएको छ।

विकास समितिले राखेको बैठकमा सरकार, नारायणगढ मुग्लिन सडक आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधि सहभागी थिए। यस्तै समितिले रातको समयमा सडक बन्द गर्नु पर्ने/नपर्ने बारेमा अध्ययन गरेर प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ।

विकास समितिक सभापति रवीन्द्र अधिकारीसहित सदस्यहरू सडकको अनुगमन गर्दै भरतपुर पुगेका थिए। सडक बिस्तारका क्रममा भित्ताहरूको कटिङ नमिलेको, सडकमा गाडीको सही व्यवस्थापन नहुँदा दुर्घटनाको खतरा रहेको भन्दै समिति सभापति अधिकारीले ध्यान दिन भनेका थिए।

ठेकेदार कम्पनीले भूकम्प र भारतीय नाकाबन्दीले काम पछि धकेलिएको, सडकमा रहेका अन्य भौतिक संरचनाले सडक निर्माणलाई असर गरेको गुनासो गरेका थिए। प्रमुख जिल्ला अधिकारी भट्टले भने निर्माण कम्पनीले विगतका निर्देशन पालना नगरेको बताएका थिए।

अहिलेसम्म ६८ प्रतिशत सडक निर्माणको काम सम्पन्न हुनुपर्नेमा ५० प्रतिशतमात्र पूरा भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.