|

दमक : बुधबार हुने दोश्रो चरणको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार साँझबाट मौन समय सुरु गर्दै दलहरुलाई प्रचारमा रोक लगाएको थियो। तर निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिता विपरीत देशका विभिन्न स्थानीय तहमा उम्मेदवारहरुले मौन समयमा पनि भोट मागेका घटना सार्वजनिक भएका छन्।

इलाममा मौन समयमा भोट मागेको भन्दै पूर्व प्रधानमन्त्री झलनाथ खनाल र एमाले स‌ंसदीय दलका उपनेता सुवास नेम्वाङ विरुद्ध उजूरी नै परेको छ। झापामा भने दलहरुहरुले मौन समयमा मत प्रभावित गर्न समाजिक सञ्जाल र गोप्य रुपमा घरदैलो अभियान गरेका छन्। यसअघि निर्वाचन आयोगले दलहरुलाई समाजिक सञ्जालमा पनि प्रचार प्रसार नगर्न भनेपनि दलहरुले टेरेनन्। दलका कार्यकर्ता तथा समर्थकहरुले नियम तोड्दै सामाजिक सञ्जालबाट भोट मागेका छन्। 

धेरै जसोले व्यक्तिगत नाममा खोलिएका सामाजिक सञ्जालभन्दा पनि कुनै ठाउँको नाम राखेर खोलिएका फेसबुक अकाउन्टहरुमा दलहरुको प्रचार गरिरहेका छन्। निर्वाचन आयोगका अनुसार मौन अवधि भनेको उम्मेदवारले निर्वाचन पछि आफ्ना प्रतिबद्धता पुरा गर्नलाई सोच्ने समय र मतदाताले कसलाई मत खसाउने भनेर सोच्ने समय हो। 

जिल्ला निर्वाचन कार्यालय झापाका मुख्य निर्वाचन अधिकृत सुर्दशन पाण्डेले मौन अवधिमा मत माग्न नपाइने बताए। उनले कसैले मत मागेमा कारबाहीको भागिदार हुने बताए। 

उनले सामाजिक सञ्जाललाई भने नियन्त्रण गर्न नसिकएको बताए। उनले थाहा खबरसँग भने,‘निर्वाचन आयोगले त सामाजिक सञ्जालमा पनि प्रचार नगर्नु भनेको हो, तर यसको नियन्त्रण गर्न निक्कै गाह्रोे छ। सामाजिक सञ्जालको ब्यापक प्रयोगले होला नियन्त्रण गर्न मुस्किल भएको हो।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.