|

झापा : बीस वर्षपछि आज हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचन पूर्वका गाउँमा यसरी लागेको छ, मानौं- कुनै भव्य उत्सव आयोजना भइरहेको छ। राजपालाई मनाउने प्रयासमा यसअघि कहिल्यै नभएको तिथि मध्यअसारमा तोकिएको चुनावले रोपाइँमा असर पुर्‍याएको छ, तर किसानलाई यसको कुनै परवाह छैन। यसअघि तीन कार्यकाल स्थानीय निर्वाचन नभई जनप्रतिनिधिविहीन बस्नुपरेको तोडमा मतदाता यसपालि सचेत देखिएका छन्, उनीहरूले उपलब्धमध्ये सर्वोत्तम छनोटका लागि तयारी गरिरहेको छनक गाउँका चियापसल, चोक र चौतारामा बुझ्न सकिन्छ।

चुनावका कारण व्यापार, व्यवसाय पनि प्रभावित भएका छन्। काठमाडौंलगायत बाहिरबाट मतदान गर्नै भनेर स्थानीय गाउँमा ओइरिरहेका छन्। मौनअवधि सुरु भइसकेपछि गाउँ उत्रिएका मतदाता उम्मेदवारको विशेषता थाहा पाउन खासखुस गरिरहेका छन्। प्रदेश नम्बर एकको सुदूर पूर्वी जिल्ला झापाका कतिपय ठाउँमा रोपाइँको काम सुरु हुनै सकेको छैन, रोपाइँ भएकै ठाउँमा पनि स्थानीय चुनावको चर्चाले खेतीपाती ओझेल पारेको छ।

स्थानीय निर्वाचनको दिन बुधबार किसानले मतदान गर्न जानुपर्ने भएका कारण रोपाइँ राखेका छैनन् पनि। विर्तामोड नगरपालिका-१० स्थित विराटपोखरनजिक स्थानीय प्रमिला महतो, प्रतिमा राजवंशी, मालती महतोलगायत १५ जना किसान मंगलबार धान रोप्दै थिए तर चर्चा त्यहाँ पनि चुनावकै थियो। उनीहरूलाई मेलो कसरी सिध्याउने भन्ने हतारो पनि थियो। मतदानका लागि जान बुधबारको मेलो पनि मंगलबार नै सक्नुपर्ने चटारो उनीहरूलाई थियो। बल्लतल्ल आएको स्थानीय तह निर्वाचनका लागि भोट हाल्न उनीहरू आतुर देखिए। बुधबारका लागि उनीहरूले कुनै काम राखेका छैनन्। धान रोप्दै गरेकी मालती महतोले अन्नपूर्णसँग हाँस्दै भने, ‘सबै काम छाडेर भए पनि भोट हाल्न जाने हो। जसरी पनि आफ्ना प्रतिनिधि छान्नु छ।' २० वर्षसम्म स्थानीय जनप्रतिनिधिको अभावमा टालटुले काम मात्र व्यहोरेका उनीहरूलाई अब छानिएर आउनेहरू विकास निर्माणलाई गति दिनुपर्छ भन्ने लागेको छ।

खानेपानी, बिजुली, सडकलगायत नागरिकका माग अब सुनुवाइ हुन्छ भन्ने आशामा उनीहरू छन्। धान रोप्दै गरेकी प्रमिला महतोले भनिन्, ‘हामीलाई आशा छ, अब जनताका काम हुन्छन्। तर, प्रतिनिधि छानिएकाहरूले जनतालाई बिर्सनु भएन।' उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका-३ का कृष्ण रिजाल दुई बिघा जग्गामा धानखेती गर्नुहुन्छ। उनको खेतमा धान रोप्न ब्याड राख्ने काम सकिसकेको छ। उनको खेतमा पानीको व्यवस्था राम्रो भएकाले अहिले नै रोपाइँ गर्नसक्ने अवस्था छ। रिजाल आफ्नो खेतमा धान रोप्न हिल्याउने काम पनि गर्दै छन्। स्थानीय तहको निर्वाचनका लागि बुधबार भने उहाँले खेतका काम सबै स्थगन गरेर भोट हाल्न जाने योजना बताए। उनी भन्छन्, ‘बल्लबल्ल आफ्नै गाउँका लागि जनप्रतिनिधि चुन्ने दिन आएको छ। सबै काम छाडेर भोट हाल्न जानै पर्‍यो नि!' रिजालको जस्तै उत्साह झापाका थुप्रै किसानले देखाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.