|

काठमाडौं : सरकारको ढुकुटीबाट ५२ लाख रुपैयाँ भुक्तानी लिएर पुल नबनाउने ठेकेदार कम्पनीलाई कारबाही गर्नुको सट्टा सडक डिभिजन कार्यालयले फेरि अनामनगर–थापागाउँ जोड्ने पुल निर्माणको ठेक्का दिने भएको छ। सडक डिभिजन कार्यालयले सम्झौताअनुसार काम नगर्ने भण्डार थोडंगा जिटेक जेभीलाई धोबीखेलाको पुल निर्माण गर्ने ठेक्का दिने भएको हो।

१८ महिनामा सक्ने सर्तसहित तीन वर्षअघि नै उक्त पुल निर्माणको ठेक्का जेभीलाई दिइएको थियो । तर, जेभीले तीन वर्ष बितिसक्दा पनि पुल निर्माण गर्न सकेको छैन । पुल निर्माण नभएपछि सर्वसाधारण फलामको फड्केबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

कार्यालयका प्रमुख मुकुन्द अधिकारीले पुरानो ठेकेदार कम्पनीलाई नै धोबीखोलाको पुल निर्माण गर्न दिइने बताए। ‘ठेक्काको समय सकिएको छैन। समयमै काम नसक्दा सम्झौता रद्द गर्न पनि सकिन्थ्यो। तर, निकै झण्झटिलो छ। त्यसैले सोही ठेकेदार कम्पनीले सो पुल निर्माण गर्नेछ।’

जेभीले २७ माघ ०७१ मा उक्त पुल निर्माणको ठेक्का लिएको थियो। सम्झौताअनुसार जेभीले पुल निर्माणको काम २७ मंसिर ०७२ भित्रै सक्नुपर्ने हो। तर, उसले खाल्डो खनेर माटो थुपार्नुबाहेक कुनै काम गरेको देखिँदैन  एउटा खाल्डो खनेर जेभीले डिभिजन कार्यालयबाट ५२ लाख रुपैयाँ लिइसकेको छ।

असोजबाट काम सुरु हुने 
डिभिजन कार्यालयले असोजपछि मात्रै पुल निर्माणको काम सुरु हुने बताएको छ। कार्यालय प्रमुख अधिकारीले बर्खामा पानी आउने र खोला बढ्ने भएकाले पुल निर्माणको काम असोजपछि मात्रै सुरु हुने जानकारी दिए। पुल नबन्दा फलामको अस्थायी फड्केबाट सर्वसाधारण धोबीखोला तर्न बाध्य छन्। ‘बर्खा सुरु भइसक्यो। दैनिक पानी पर्ने मौसम भएकाले खोलामा बाढी आउँछ। त्यसले तत्काल काम हुँदैन,’ अधिकारीले भने।

तत्काल ठेकेदार कम्पनीलाई कारबाही गर्न माग
धोबीखोला पुल निर्माणका क्रममा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दै काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले तत्काल कारबाहीको माग गरेका छन्। ‘धोबीखोलामा पुल निर्माण गर्न भन्दै लाखौँ रुपैयाँ भ्रष्टाचार भएको छ। यसको छानबिन हुनुपर्छ र दोषीलाई तत्काल कारबाही हुनुपर्छ। सरकारी ढुकुटीको दुरुपयोग गर्न पाइँदैन,’ उनले भने ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.