|

पर्वत : अविरल बर्षासँगै बाढीले विद्युतगृह र नहरमा क्षति पुर्‍याएपछि म्याग्दीको मालिका गाउँपालिका–१ मा रहेको रुमखोला लघु जलविद्युत परियोजना बन्द भएको छ।

दरवाङ निस्कोट सडकबाट आएको बाढीले ५१ किलोवाट क्षमताको परियोजनाको विद्युतगृह र नहरमा क्षति पुर्‍याएपछि विद्युत उत्पादन बन्द भएको हो। विद्युतगृहभित्र बाढी पसेको छ भने ५० मिटर नहर बाढीले पुरेको स्थानीय कमलनाथ शर्माले जानकारी दिए।

परियोजना बन्द हुँदा निस्कोट, डाँडागाउँ, फूलबारी, महभीर, अदिभारा र दरवाङका करिब ५ सय घरमा विद्युत् आपूर्ति बन्द भएको छ। सडक निर्माणका क्रममा माटो व्यवस्थापन र ढल निकासका लागि नाली नबनाउँदा बाढी आएको स्थानीय बासिन्दाको भनाइ छ।

बाढीले मालिका–१ घोर्सेका मानसिङ सापकोटा र गणेश पुनको घर जोखिममा परेको छ। मुक्ति पुन, छविलाल पुन, धनपति सापकोटा र हरदत्त आचार्यको धानखेत तथा भीमविक्रम मल्लको सुन्तलाबारी पुरिएको छ । यसैगरी बस्तीमाथि खनिएको सडकका कारण पहिरो खस्न थालेपछि मालिका गाउँपालिका–३ अदिभाराका दुई घर पनि जोखिममा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.