|

काठमाडौं : सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन्। 

सुडान घोटालाका आरोपित काठमाडौं महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा बुधबार सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। राणालाई बुधबार नै डिल्लीबजार कारागार चलान गरिएको छ। 

राणाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन्। फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पुर्‍याएवापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ। 

राणालाई कसुरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जनही छ महिना कैद र रु ३० हजार जरिवाना ठहर गरेको सर्वोच्च अदालतले फैसला सुनाएको थियो। त्यसैगरी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा यही असार ११ गते सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएका थिए। उनलाई एक वर्ष कैद र रु ४० हजार जेल सजाय ठहर भएको थियो। 

सोही प्रकरणका आरोपित पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो। चारै जनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.