|

  • दीपशंकर चौलागाईं-

दोलखाः दोलखाको भीमेश्वर नगरपलिका– ९ लाँकुरीडाँडास्थित कुत्कुते डाँडागाउँमा मंगलबार राती गएको पहिरोमा पुरिएर बेपत्ता भएका ४ जनामध्ये २ जनाको शव फेला परेको छ।

पहिरोमा परी बेपत्ता भएकी ४० वर्षकी शान्ति थामी र ७० वर्षकी लाटी थामीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। थामीको घर पहिरोले बगाएर करिव सात सय मिटर तल खोलामा पु¥याएको थियो। खोलाभन्दा करिव डेढ किलोमिटर तल उनीहरूको शव फेला परेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका हुन्। 

कुत्कुते डाँडागाउँमा मंगलबार राती १ बजे पहिरो जाँदा एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका थिए। 

पहिरोमा परी बेपत्ता भएका मृतक शान्तिका छोरीहरू १२ वर्षकी सन्तोषी र १५ वर्षकी रोशनीको खोजी कार्य भइरहेको दोलखा प्रहरीले जनाएको छ। 

घरमा सुतिरहेको अवस्थामा पहिरो जाँदा पहिरोसँगै पुरिएर उनीहरू बेपत्ता भएका हुन्। शान्तिका श्रीमान मंगले थामी श्रीमती र दुई छोरीसहित घरमै रहे पनि पहिरो जाने बेला शौचालय गएका कारण बाँच्न सफल भएका छन्। पाँच जना सदस्य रहेको उनको परिवारमा तीन जना पहिरोमा पुरिए पनि दुई जना बाँच्न सफल भएका छन्। मंगलेका छोरा भने कामको शिलशिलामा काठमाडौँमा रहेका थिए।

बेपत्ता भएकाहरूको खरिढुंगा प्रहरी चौकीबाट खटिएको ३१ जनाको प्रहरी टोलीले खोजी कार्य जारी राखेको र नेपाली सेनासहित थप सुरक्षा बलसमेत खटाईएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए। 

बस्तीमाथिबाट ठूलो पहिरो खसेको र घरसमेत बगाएका कारण उनीहरूलाई जीवितै फेला पार्ने संभावना कम रहेको भीमेश्वर नगरपालिका– ९ का वडा अध्यक्ष चित्रबहादुर भुजेलले बताए। खोज, उद्धार तथा राहतका लागि जिल्लाबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भीमेश्वर नगरपालिकाका प्रमुख तथा नेपाली सेनाको टोली खटिएको छ। 

जिल्लाबाट राहत सामग्रीसहित प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्की, नेपाली सेनाका मेजर नारायण बस्नेत र भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी तथा जिल्लाका विभिन्न सरकारी कर्यालयका प्रमुखहरूको टोली घटनास्थलतर्फ गएको हो। तर, लामोसाँगु–चरिकोट सडक खण्डअन्र्तगत दोलखाको हलहले र झिगाने सडक खण्डमा पहिरो गएर सडक अवरुद्ध भएपछि सो टोलीसमेत बीच बाटोमै रोकिएको छ।

लाँकुरीडाँमा गएको पहिरोका कारण कुत्कुते डाँडागाउँ बस्तीका करिव १५ घरपरिवार उच्च जोखिममा रहेको र उनीहरूलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने वडा सदस्य किरण ओली केसीले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने जिल्लाबाट खटिएको टोलीले स्थलगत निरीक्षण गरेपछि उच्च जोखिममा देखिएका ती घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने बताए। 

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले पनि पहिरोपीडितहरूको खोज, उद्धार र राहत तथा जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानतर्फ सार्नका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराइसकिएको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.