|

गोरखा: अनेक विषयको चर्चासँगै यतिबेला पत्रकार उजिर मगरको पुस्तकको चर्चा पनि उत्तिकै छ। पत्रकार मगरद्वारा लिखित ‘अंश’ नामक पुस्तकमा उनले एउटा रहस्योद्घाटन गरेका छन्।

तत्कालीन समयमा कान्तिपुर दैनिकका संवाददाताका रूपमा र माओवादी सशस्त्र विद्रोहताका माओवादी विटमा रहँदा आफूले गरेको एउटा रिपोर्टिङ तथ्यमा आधारित नरहेको र एउटा नियोजित प्रोपगण्डा या रणनीतिका रूपमा त्यो समाचार प्रेषित गरिएको उनले स्वीकार गरेका छन्। यही कुरा अहिले चर्चासँगै विवादिमा पनि छ। 

गोरखाको जेलभित्रबाट सुरुङ खनेर केही माओवादी फरार भएको समाचार एउटा काल्पनिक घटना भएको उनले आफ्नो पुस्तक ‘अंश’मा प्रस्टसँग खुलाएका छन्। सो समाचार मगर आफ्नै बाइलाइनमा समेत थियो। 

यसो भन्छिन् जेल ब्रेकर कमला नहर्की (सपना)
जेल तोडेर निस्किएका भनिएकामध्ये कमला नहर्की (सपना) मगरको पुस्तकमा उल्लेख भएको कुराबारे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै खण्डनसमेत गरेकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘उजिर मगरजीले हामीले जेल ब्रेक गरेर आएपछि पार्टीले गरेकोे अभिनन्दन कार्यक्रमको समाचार प्रकाशनबारे ‘अंश’मा प्रष्ट रूपमा नै लेख्नुभएको जस्तो लाग्छ। तत्कालीन परिवेशमा आफू प्रत्यक्ष फिल्डमा नगएको भए पनि गएको भन्नु आवश्यकता या स्वार्थ के थियोे, त्यो आफ्नो ठाउँमा होला तर विषयवस्तुको गहिराइमा नै नपुगी गोरखा जेल ब्रेक नै यथार्थ घटना नभई कपोलकल्पित र सुनियोजित रूपमा चलाइएको झूटो प्रोपोगण्डा थियोे भनेर इतिहासमाथि नै प्रश्न चिह्न खडा गर्न खोजिएकोमा चिन्ता लाग्यो। अनि पत्रकारितामाथि टिठ पनि। त्यतिबेला जेल ब्रेक गर्ने दुई जना कमरेडहरू मीना मरहट्ठा र एन्जिला विक शहीद भइसक्नुभयो तर हामी चार जना त जिउँदै छौँ त। कसैलाई त्यो इतिहास पाच्य नहोला तर इतिहास नै तोडमरोड गर्न नखोज्दा राम्रो होला, त्यो अधिकार कसैलाई छैन पनि।’ 

नहर्कीसँगै उमा भुजेल, सञ्जु अर्याल, रीता विश्वकर्माले गोरखा जेल ब्रेक गरेका थिए। अहिले भुजेल र नहर्की मात्र राजनीतिमा सक्रिय छन्। नहर्की माओवादी केन्द्रमा छन् भने भुजेल विप्लब नेतृत्वको माओवादीमा छन्।

यस्तो लेखिएको छ जेल ब्रेकबारे 'अंश'मा
२०५७ चैत १७ गते जेल ब्रेक गरेर भूमिगत भएका उमा भुजेल ‘शिलु’सहित छ महिला बन्दीहरूको चर्चा चुलिएको थियो। जेलभित्रबाट सुरुङ खनेर भाग्नु चानचुने कुरा थिएन र यसले बाहिर सनसनी मच्चाउनु स्वाभाविक थियो। ती महिलाहरूले कसरी जेल ब्रेक गरे होलान्? उनीहरूको अनुभव छाप्न पाए त गजबै हुने थियो भन्ने लाग्यो मलाई।
‘तपाईंहरू कतै जानुपर्‍यो। नजिकै हो। तर, एकदम हतार छ।’
गोविन्द आचार्यले मलाई जनादेशबाट फोन गरे। बीए दोस्रोे वर्षको परीक्षाका कारण मैले अफिसबाट बिदा लिएको थिएँ। असमञ्जसमा परेँ। भनें, ‘अफिसमा त छुट्टीमा छु, सर! पर्सि परीक्षा छ; जान सकिन्न।’
‘सबैको परीक्षाकै कारण अलिक समस्या भयो त!’ यति भनेर उनले फोन राखे।
केही बेरमा मलाई फेरि उनको फोन आयो, ‘परीक्षाको छुट्टीमा भए पनि अफिसमा सम्पर्क हुन सक्छ। दुई दिनजति सम्पर्कै नगर्नु। उता म र चन्द्रमान श्रेष्ठ जाँदै छौँ। हामीले नै केही लिएर आउँछौं। जनादेशमा छाप्नु भन्दाअगाडि नै तपाईलाई दिउँला, कान्तिपुरमा छाप्नका लागि।’
म सहमत भएँ। त्यसको दुई दिनपछि गोविन्दले फोन गरे, ‘तत्काल भेट्नुपर्‍यो।’
म बागबजार गएँ। उनीसँग जेल ब्रेक गरेका ती छ महिलाको फोटो रहेछ। उनले तिनीहरूको भाषण र अनुभव लगायतका सामग्री दिए।
अफिस फर्केर मैले सामग्री बनाएँ। जेल ब्रेकका क्रममा सुरूङ खन्ने कमला नहर्की ‘सपना’ को पूरै नङ खुइलिएको समेत लेखियो।
‘कोट’ मा थियो, ‘एक हातभन्दा छोटो रडको सहायताले सुरूङ खनेकी हुँ। सबै औँलाका नङ झरेका छन्।’ समाचारमा लेखेको थिएँ– २०५८ बैशाख १६ गते गोरखाको बगुवामा कार्यक्रम भएको थियो।
सुरुङबाट बाहिर आउनेहरूमा सञ्जु अर्याल ‘निशा’, मीना मरहट्ठा ‘ज्योति’, रीता विश्वकर्मा ‘कविता’, एन्जिला विश्वकर्मा ‘शकुन्तला’ थिए। मुख्य कमाण्डर भुजेल माओवादी वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेसँगै मारिएका मध्यमाञ्चल सेना कमान्डर भीमसेन पोखरेलकी श्रीमती हुन् भनेर पनि लेखेको थिएँ।
समाचार हेरेपछि गुणराज दाइले सोधे, ‘कहिले गा’को उजिर?’
‘अस्ति।’ मैले ढाँटें। ढुकढुकी बढ्यो।
‘यस्तो राम्रो न्युज त अलिक राम्रोसँग लेख्नुपर्छ नि! अनि बाहिर जाँदा हामीसँग सम्पर्क गरेर जानु नि! बाटामा केही भइहाल्यो भने अप्ठेरो हुन्छ। हामीलाई पनि अफिसमा पनि।’ गुणराज दाइले सम्झाए।
मनले भनिहाल्यो– गएको भए पो! तैपनि ‘हजुर, हजुर’ भन्दै थपिरहेँ।, अब त्यस्तै गर्छु, दाइ!’
भोलिपल्ट समाचार छापिएपछि सहकर्मी र साथीभाइसँगको भेटमा त्यही जेल ब्रेकको कहानी आइहाल्यो। जसले भेटे पनि सोध्न थाले, ‘अहो, त्यस्तो सुरुङ खनेर जेल ब्रेक गर्न सक्ने महिलाहरू खतरा थिए होलान् है! अनि तपाईंहरूलाई त्यहाँ कसले लग्यो? फोटो खिच्न त सजिलै दिएछन्।’
‘उनीहरू खतरा थिए। हात बलिया। गुड गर्दा पनि दहे गरी हात मिलाए। जोशिला थिए। इतिहास रच्यौं भनेर खुसी थिए। अब, फेरि लड्ने हो भन्थे... ...।’ यस्तै यस्तै तर्क दिएर तर्किएँ म।
‘कसैले सोधेका छैनन्? कस्तो छ समाचारको प्रतिक्रिया?’ गोविन्दले दिउँसो सोधे मलाई।
‘अफिसमा भनेर गएको भए हुन्थ्यो भन्ने कुरा भयो। बाहिर त कहाँ, कसरी गयौ भन्ने चर्चै छ, सर! गएको भए पो! यसो मिलाएर गफ दिइन्छ।’ मैले भनेँ।
उनी हाँसे मात्रै। ‘यो तपाईं–हामीबीचको कुरा मात्रै हो। यताबाट कहीँ कुरा जाँदैन। तपाईंले छापेर जे गर्नुभयो, ठीकै गर्नुभयो।’ उनले धन्यवाद शैलीमा औपचारिकता पूरा गरे।
('अंश'बाट)

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.