|

काठमाडौं : दोस्रो चरणको स्थानीय तहको निर्वाचन छिटपुट घटना बाहेक तीनवटै प्रदेशमा शान्तिपूर्ण र उत्साहजनक रुपमा बुधबार सकिएको छ। प्रदेश नम्बर १, ५ र ७ मा भएको स्थानीय तह निर्वाचनमा बुधबार ५ बजेसम्म मतदाताले मतदान गरेका छन्। निर्वाचन अधिकृतले अब पाँच बजेभित्र मतदानकेन्द्रमा पुगिसकेका मतदातालाई मात्रै मतदान गर्न दिनेछन्।

बिहीबारसम्म सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। 'कतिपय स्थानमा आजै संकलन गरिन्छ' ,आयोगका प्रवक्ता शर्माले भने, 'आवश्यक परेको स्थानमा एयरलिफ्ट पनि हुन्छ ।'

ताप्लेजुङ बझाङका केही स्थानबाट मात्रै एयरलिफ्ट गर्नुपर्ने अवस्था रहेको जानकारी आयोगमा आएको जनाएको छ।  मतपेटिका मुख्य निर्वाचन अधिकृतकको कार्यालयमा पुर्‍याउनुअघि निर्वाचन अधिकृतले केही प्रक्रिया पुर्‍याउनुपर्छ।

के हुन्छ प्रक्रिया?

मतदान सकिएको घोषणा गरेपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधिलाई बोलाउनेछन्। त्यसपछि उनीहरुको रोहबरमा मतदान अधिकृतले मतपेटिकामा शिलबन्दी गर्नेछन्। त्यसपछि सबै दलको उम्मेदवारको रोहबरमा मुचुल्का तयार गरी त्यसमा उम्मेदवार, प्रतिनिधि र मतदान केन्द्रमा खटिएका अधिकारीको हस्ताक्षर सहित छाप लगाउनेछन्। स्थानीय निर्वाचन निर्देशिका २०७३ को अनुसुची ४९ अनुसार मतदान अधिकृतले मतपेटिकको फाँटवारी तयार गर्नेछन्।

फाँटबारी कुन मतपेटिका कुन बुथबाट उठाएको भन्ने सूची हो। त्यसपछि योग्य नभएका फिर्ता भएका र मतपेटिका बाहिर रहेका सबै कागजात सुरक्षित गरेर खामबन्दी गरी त्यसमा लाहछाप लाउनेछन्। अर्को प्रक्रिया भनेको मतपेटिका सुरक्षित रुपमा मतगणनास्थलसम्म पुर्‍याउने हो। मतगणनास्थलमा मतपेटिका पुर्‍याउँदा दलका प्रतिनिधिलाई समेत सँगै लानुपर्ने व्यवस्था छ। निर्वाचन अधिकृतले मतपेटिका मुख्य निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ।

मुख्य निर्वाचन अधिकृतले आफ्नो क्षेत्रभित्रका सबै मतपेटिका संकलन गरी सुरक्षित रुपमा राखेर उम्मेदवारको रोहबरमा फेरि मुचुल्का गर्नुपर्नेछ। सबै उम्मेदवारको सही छाप संकलन गरी लाहछाप लगाएर मतपेटिका सुरक्षित रुपमा भण्डारण गर्नुपर्छ। यो प्रक्रिया सम्पन्न भएपछि मुख्य निर्वाचन अधिकृतले मतगणनाको स्थल तोक्नेछन्। त्यसपछि सूचना प्रकाशित गरी मतदानको समय तोक्नेछन्। स्थान तोक्दा निर्वाचन अधिकृतको कार्यालय वा स्थानीय तह गाउँ वा नगरपालिकाको कार्यालयलाई प्राथमिकता दिनुपर्ने हुन्छ।

स्थान तोकेसँगै वा सम्भव नभएमा मतगणना हुने स्थान तोकेर अर्को सूचना प्रकाशित गर्नुपर्ने प्रावधान छ। मतदानस्थल तोकेपछि मतगणनामा खटिने कर्मचारी तोक्नुपर्नेछ। निर्वाचन अधिकृतले कर्मचारी तोकेपछि उम्मेदवार वा उसको प्रतिनिधिको रोहबरमा मुचुल्का तयार गरेर सही छाप लगाउनुपर्नेछ। त्यसपछि मतपेटिकाको अवस्था जाँच गरी सबै ठीक रहेको सुनिश्चित भएपछि मात्रै प्रत्येक वडाको मत छुट्टाछुट्टै मतगणना हुनेछ।

कसरी हुन्छ मतगणना ?

मतगणना सुरु गर्नुपूर्व मतपेटिकाको शिल तोडिनेछ। त्यसपछि मतपत्र खन्याएर सबैलाई खाली मतपेटिका देखाउनुपर्ने । त्यसपछि मतगणनामा खटिएका कर्मचारीले मतपत्रको स्थति उपस्थित प्रतिधिलाई देखाएर मतगणना सुरु हुनेछ। मतगणना गर्दा बदर मत छुट्टाएर मात्रै सदर मतको गणना गरिन्छ। मतगणना गर्दा मतपरिणाम आयोगले तोकेको ढाँचाको फारममा चढाउनुपर्नेछ।

मतगणनाबीचमै स्थगित गर्न पाइनेछैन। गणना सकिएपछि सदर र बदर मत छुट्टाछुट्टै शिलबन्दी हुनेछ। त्यसपछि मतगणना सकिएको मुचुल्का तयारी गरी गणनामा उपस्थित कर्मचारी र प्रतिनिधिले सहीछाप गर्नुपर्छ। प्रत्येक पदको मतपरिणामको तालिका तयार भएपछि अन्तिममा निर्वाचन अधिकृतले परिणाम घोषणा गर्नेछन्।

सबैभन्दा बढी मत ल्याउनेलाई विजयी घोषणा गर्दा घोषणाको प्रति बनाएर एक प्रति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने र अर्को निर्वाचन आयोगमा पठाउनुपर्नेछ। त्यसपछि प्रमाणपत्र वितरणको मिति तोकेर निर्वाचन अधिकृतले विजयी उम्मेदवारलाई एक कपी प्रदान गर्नेछन्। प्रमाणपत्र वितरण गरी मतपरिणामो अन्तिम नतिजा आयोगमा पठाएपछि मात्रै मतगणनाको काम पूर्णरुपमा सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.