|

  • देवी गुरुङ

रोल्पा : स्थानीय तहको निर्वाचनमा सबै भन्दा जिज्ञासाको विषय बनेको थवाङ गाउँपालिकामा ६० प्रतिशत भन्दा बढी मत खसेको छ। यसअघि संविधानसभाको दोस्रो निर्वाचनमा थवाङमा कुनै मत खसेको थिएन। 

समग्र रोल्पामा ६५ प्रतिशत मत खसेको तथ्यांक आइरहँदा थवाङ गाउँपालिकामा ६० प्रतिशत बढी मत खसेको निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ। 
थवाङ गाउँपालिकाको साबिकको गाविस भवनमा आयोजित मतदान केन्द्रमा ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख लिलु गीरीले जानकारी दिए।

उनका अनुसार उवा र मिरुलको मतदान केन्द्रको भने करिब ६५ प्रतिशतको हाराहारीमा खसेको छ। थवाङ गाउँपालिकामा ५ हजार ७ सय ५५ जना मतदाता छन्।
स्थानीय निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशील मानिएको रोल्पाको थवाङ गाउँपालिकामा असार १४ अर्थात बुधबार शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भटटराईले बताए। उनका अनुसार गाउँपालिका केन्द्रमा सबै ठाउँबाट मतपेटिका पुगेलगत्तै मत गणाना सुरु हुनेछ।

थवाङको वडा नं. १ मा ६ सय ७९ र वडा नं. २ मा ८ सय १७ मत खसेको बताइएको छ।  उवा, थवाङ र मिरुल गरी साबिकका तीन गाविस मिलेर थवाङ गाउँपालिका बनेको छ। रोल्पाकै सबैभन्दा सानो र कम जनसंख्या भएको गाउँपालिका पनि थवाङ हो। मिरुल र उवामा कांग्रेस एमालेको केही प्रभाव रहे पनि थवाङमा उनीहरुको प्रभाव न्यून छ । 

थवाङमा अघोषित रुपमा विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी र कांग्रेसले चुनावी गठबन्धन गरेका छन्। यस गठबन्धनलाई एमालेले समेत सहयोग गर्ने चर्चा चलेको थियो। रोमाञ्चक मानिएको थवाङको चुनावमा कांग्रेस–नेकपा गठबन्धनबाट नेकपाका अमित घर्तीमगर गाउँपालिका अध्यक्ष र कांग्रेसका श्रीकुमारी रोकामगर उपाध्यक्षमा उम्मेदवार छन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट वीरबहादुर घर्ती अध्यक्ष र रामीकिरण रोका उपाध्यक्षमा उम्मेदवार छन्। दोस्रो संविधानसभाको निर्वाचनमा ‘शुन्य मतदान’ गरेको थवाङमा मतदानसम्म निकै उत्साहजनक सहभागिता रहनुले पनि थवाङ गाउँपालिका चर्चाको रुपमा प्रस्तुत हुन थालेको स्थानिय रेशम शाहले बताए।

कपाले विश्वलाई नयाँ सन्देश दिने भन्दै पार्टीको सातौं महाधिवेशन समेत थवाङमै गरेको थियो। अहिले नेकपाले चुनाव बहिष्कारको नीति लिएको छ। तर नेकपाको पकड क्षेत्र मानिएको थवाङमा स्थानीयले उत्साहपूर्वक मत खसालेका छन्। 

नेकपाको बहिष्कारको नीतिबाट असन्तुष्ट थवाङ्गी जनता ‘स्थानीय सरोकार’ भन्दै मत खसाल्ने पक्षमा देखिएपछि नेकपाका जिम्मेवार कार्यकर्ताहरु चुनावी मैदानमा उत्रिएका हुन्।

स्थानीय जनता कार्यकर्ताको ठूलो दबाब खेपिरहेको नेकपा नेतृत्वले चुनावको उपयोगमा मौन समर्थन गरेको बुझिन्छ। ‘नेकपाले थवाङको कम्युनिष्ट विरासत भत्कायो,’ स्थानीय थवाङका माओवादी नेता ऋषिकेशव बुढाले भने,‘आफ्नै प्यानल लिएर जानुपथ्र्यो, कांग्रेससँग मिल्नु थवाङगीहरुसँग ठूलो अन्तरघात गर्नु हो।’ थवाङमा एमालेले पनि कांग्रेस–नेकपाको गठबन्धनलाई अघोषित रुपमा सहयोग गरेको उनको तर्क छ।

एमालेबाट हितबहादुर रोका प्रमुख र जाना रोका उपप्रमुखका उम्मेदवार छन्। तर हितबहादुरले समेत नेकपा–कांग्रेसकै प्यानललाई सहयोग गर्न मतदातासँग आग्रह गरेको स्थानीय पत्रकार मौसम रोकामगरको भनाइ छ।

नेकपाका उम्मेदवार र कार्यकर्ताहरुले ‘एकीकृत जनक्रान्ति’ लेखेको टिसर्ट लगाएर चुनाव माग्दै हिडिरहेको स्थानीयले भेटेको बताएका छन् । ‘नेकपाको यो चरित्र बुझिनसक्नुको छ’ थवाङका मौसम रोकामगर भन्छन्,‘यसको सत्यता जनताले अवश्य बुझ्नेछन्।’ स्थानीय पूर्णरुपमा होमिएका नेकपाका नेता–कार्यकर्ताहरु यो संसदीय चुनाव नभएको तर्क गर्ने गरेका छन्। 

युवाहरु मतदातमा, वृद्धहरु बहिष्कारको पक्षमा 

थवाङमा अहिले भित्रिरुपमा युवा र वृद्धपंक्तिमा केही मतभेद देखिन्छ। युवाहरु चुनावलाई उपयोग गर्ने सुरमा देखिए भने वृद्धहरु बहिष्कारको नीतिमा लागे। युवाहरुलाई नेकपाका प्रभावशाली नेता थवाङबासी सन्तोष बुढामगरले समेत सम्झाउन सकेनन्। उनले आफ्नो कार्यकर्ताहरुले उम्मेदवारी दिनुभनेको गद्दारी भने भनेर सार्वजनिक रुपमा भाषण नै गरेका थिए। 

माओवादी केन्द्रकै बागी उठाएर माओवादी सिध्याउने योजना नेकपाको थियो। तर  माओवादीका तर्फबाट छानिएका बागी उम्मेदवार ऋषिकेशव बुढाले निर्वाचन दर्ताकै समयमा नेकपाको प्रस्ताव अस्वीकार गरे। त्यसपछि अन्ततः कांग्रेसको साथ लिए नेकपा चुनावमा होमियो। 

कांग्रेस छिर्‍यो

वर्षौंदेखिको कम्युनिष्टको एकछत्र रजाईलाई कांग्रेसले तोड्न सफल भएको कांग्रेस जिल्ला सभापति तथा सांसद अमरसिंह पुनमगरले बताए। अहिले थवाङमा नेपाली कांग्रेसको पार्टी कार्यालय स्थापना गरिएको छ। 

एकै ठाउँमा नेकपा र कांग्रेसका झण्डा फहराउँदै गाडीहरु गाउँ–गाउँ घुमेका छन्। अझ जिम्मेवार अगुवाहरुले समेत रुखमा भोट हाल्न आग्रह गरेको सुन्दा थवाङलाई ‘सुइना’झैं लाग्न थालेको स्थानीयको गुनासो छ। 

मनोनयन दर्ताको समयमा थवाङ खटिएका माओवादी नेता झक्कुप्रसाद सुवेदीले सबै एकातिर भएपनि थवाङमा माओवादी केन्द्रको जितलाई कसैले रोक्न नसक्ने दावी गरे। 

नेकपा–कांग्रेस गठबन्धनका उम्मेदवार थवाङका, माओवादी केन्द्रका उम्मेदवार उवाका र एमालेका उम्मेदवार मिरुलका छन् ।उवा र मिरुल माओवादी केन्द्रको पकडका रुपमा चिनिन्छन् भने थवाङ नेकपाको पकड क्षेत्र मानिन्छ। त्यसैले यहाँ निकै रोमाञ्चकारी प्रतिस्पर्धा भएको स्थानीयहरुको भनाइ छ। 

प्रचन्ड भर्सेज विप्लव 

थवाङमा अहिले प्रतिष्ठाको लडाई चलेको छ। धेरैले यसलाई प्रचण्ड र विप्लवको आमनसामनले लडाई समेत भनेका छन्। माओवादी विभाजनपछि सबैभन्दा बढी नेकपा र माओवादी नै एकअर्काप्रति आक्रामक देखिन्छन्। 

‘अरुभन्दा पनि थवाङ हामीले जित्नैपर्छ’ माओवादी केन्द्रका जिल्ला इन्चार्ज दिपेन्द्र पुन सिजल भन्छन्,‘नेकपा चुनावमा आउनु एउटा सफलता त छँदैछ अब जनताले त्यो लाइन नै ठीक छैन भनेर निर्णय पनि दिएका छन्। खाली नतिजा आउन बाँकी हो।’

संविधानसभाको दोस्रो निर्वाचनमा सभामुख ओनसरी घर्तीमगरलाई थवाङगीले उल्टो दमाह बजाएर लखेटेका थिए। ‘थवाङमा प्रचण्डलाई बास छैन’जस्ता अभिव्यक्ति दिएर पनि थवाङगी चर्चामा आए। जनयुद्धकालमा देशकै राजधानीको आश्वासन बाँडेको माओवादीले गाउँपालिका केन्द्र समेत बनाउन सकेन जसका कारण आक्रोशित थवाङगीले लिबाङमै पुगेर केन्द्र माग गरे। 

स्थानीयको विरोधपछि माओवादी नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन लगायतको केन्द्रीय स्तरकै पहलबाट जनसंख्या तथा आधारभूत कुरा नपुग्दा नपुग्दै पनि थवाङ केन्द्र रहने गरी गाउँपालिका निर्माण भएको हो।

माओवादी विभाजनपछि निराश स्थानीय 

२०७० सालको दोस्रो संविधानसभा चुनावमा थवाङमा ‘शुन्य मतदान’ भयो। माओवादी विभाजनपछि असन्तुष्ट बनेका थवाङगीहरुले एकमत पनि खसालेनन्। एकतावद्धताका साथ कम्युनिष्ट इतिहास कायम गरेको थवाङले मोहनविक्रम सिंह, मोहन वैद्य, प्रचण्ड, बाबुराम हुँदै विप्लवसम्मलाई साथ दिँदै आएको छ। 

तर यसपटकको स्थानीय निर्वाचनमा भने विप्लवको बहिष्कारको नीतिलाई समेत चुनौती दिँदै ‘स्वतन्त्र उम्मेदवारी’ दिएका छन्। यसरी हेर्दा समग्रमा रोल्पाको थवाङ गाउँपालिका निकै चर्चाको शिखरमा चुलिएको देखिन्छ भने अर्कोतिर सिद्धान्त र विचार समेत पोलेर खाएको आरोप समेत लाग्ने गरेको छ थवाङगी कम्युनिष्टहरुलाई। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.