|

वीरगञ्ज : डेढ लाख रुपैयाँमै बन्ने जेनेरेटर थन्क्यएर वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालले भाडामा लिएको जेनेरेटरका लागि मासिक ३ लाख रुपैयाँ खर्च गरिरहेको छ।

जेनेरेटर मर्मत गर्न अझै समय लाग्ने भएका कारण भाडा खर्च अझै बढ्ने अस्पताल प्रशासनले जनाएको छ। बिग्रेको जेनेरेटर मर्मतका लागि डेढ लाख रुपैयाँ लाग्ने प्राविधिकहरुले जनाएका छन्। तर अस्पतालको बिग्रेको जेनेरेटर मर्मतका लागि जिम्मा लगाइएका प्राविधिकका कारण अस्पताललाई आर्थिक भार बढी परेको मेसु साहले बताए। 

अस्पतालमा रहेको ६२ केभीएको जेनेरेटर एक महिनाअघि बिग्रेपछि दैनिक १० हजार रुपैयाँ तिर्नेगरी एक सय केभीएको जेनेरेटर ल्याएको अस्पतालका निमित्त मेडिकल सुपरिडेन्ट  डाक्टर चित्तरञ्जन साहले बताए।

मर्मतका लागि चाहिने सामान स्थानीय बजारमा नपाएको र भारतको दिल्लीबाट ल्याइएको सामानले नभएपछि फेरि ल्याउन समय लागेकाले मर्मतमा ढिलाइ भएको उनले जानकारी दिए। 

अस्पताल कर्मचारी युनियनले भने अस्पतालको प्रशासन र राशन वितरण शाखामा कार्यरत केही कर्मचारीहरूले आफ्नो स्वार्थका लागि अस्पतालको बिग्रेको जेनेरेटर एक–दुई दिनमैं मर्मत हुने भए पनि कमिसनको खेलमा अर्को जेनेरेटर ल्याएर चलाइरहेको आरोप लगाएको छ। 

अस्पतालमा जेनेरेटर भाडामा दिएका व्यक्तिसँग अस्पताल प्रशासन र राशन वितरण शाखामा कार्यरत कर्मचारीले मिलोमतो गरेर दैनिक १० हजार रुपैयाँको भाडादरमा जेनेरेटर चलाइरहेको अस्पताल कर्मचारी युनियनका अध्यक्ष हरिप्रसाद गुप्ताले बताए। 

गर्मी अत्यधिक भएका बेला अस्पतालको ६२ केभीए क्षमताको जेनेरेटरले लोड धान्न नसक्दा बिग्रेको र अब छिट्टै दुई सय २५ केभीए क्षमताको नयाँ जेनेरेटर खरिद गर्ने सोचमा रहेको मेसु साहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.