|

  • देवी गुरुङ-

रोल्पा: बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनबाट रोल्पाका तीनवटा वडामा माअोवादी केन्द्र र एक वडामा नेपाली कांग्रेस विजयी भएका छन्।

कांग्रेस–एमाले गठबन्धनसहित चुनावमा होमिएको माडी गाउँपालिकाको वडा नं.- १ घर्तीगाउँमा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।

माओवादी केन्द्र वडा नं.- १ का अध्यक्षका उम्मेदवार आमबहादुर घर्तीसहितको सम्पूर्ण प्यानल विजयी भएको हो। ७७१ मतसहित घर्ती विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी अमृत घर्तीले ३६४ मत प्राप्त गरेका छन्।

महिला सदस्यमा शान्तिसिंह घर्ती,  दलित महिला सदस्यमा आइतमाली विक, खुला सदस्यमा शिवप्रसाद वली र हरिप्रसाद घर्ती विजयी भएका छन्।

थबाङ गाउँपालिका वडा नं.- ५ मा पनि नेकपा माओवादी केन्द्रको जीत भएको छ।

नेकपा एमाले, नेपाली कांग्रेस र स्वतन्त्र भनिएको विप्लव नेतृत्वको समेत गठबन्धन रहेको थबाङ गाउँपालिकामा एक्लै प्रतिष्पर्धामा उत्रिएको नेकपा माओवादी केन्द्रले जीत हासिल गरेको हो।

थबाङ गाउँपालिकाको वडा नं.- ५ मा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोवर्द्धन घर्तीमगरले २८७ मतसहित जीत हात पारेका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्रबाट दुर्जमन रोकाले १०६ मत र नेपाली कांग्रेसका रमेश रोकाले १६१ मत प्राप्त गरेका छन्।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्तीले २८५ मत र उपाध्यक्ष रामीकिरण रोकामगरले २८५ मत प्राप्त गरेका छन्। स्वतन्त्रसहित विभिन्न पार्टीको गठबन्धनबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका अमित घर्तीमगरले १३३ मत र उपाध्यक्ष श्रीकुमारी रोकामगरले २१० मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा माओवादी केन्द्रको प्यानलमा महिला सदस्य अमित घर्तीले २९०,  दलित महिला सदस्य रामकली विकले २८८, सदस्य विक्रम रोकाले २८३ र बुद्धिबहादुर घर्तीले २७७ मतसहित जीत हात पारेका हुन्। त्यहाँ कुल ६६७ मत खसेको थियो।

दुईखोली गाउँपालिकामा पनि माओवादीको जीत भएको छ। दुईखोली गाउँपालिका वडा नं.- १ को कुरेलीमा पनि नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ।

त्यहाँ नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बोमबहादुर पुनले ७२३ मतसहित जीत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आर्यतराम बुढाले ४३०, एमालेका पूर्ण बुढाले ३६ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा माओवादी केन्द्रको प्यानलमा विजयी महिला सदस्य पवित्रा बुढाले ७२०,  दलित सदस्य जयसरा सुनारले ७२८, गणेश ओलीले ७३५ र सदस्य राजबहादुर बुढामगरले ७६३ मत प्राप्त गरी प्यानलले नै जीत हात पारेको हो।

हालसम्मको मत परिणामअनुसार नेकपा माओवादी केन्द्रका गाउँपालिका प्रमुख उम्मेदवार निमकान्त डाँगीले ७३०, उपप्रमुख हितकुमारी बुढाले ७४३ मत प्राप्त गरेका छन्।

बिहीबार बिहान मात्रै रोल्पाको सुकी दह गाउँपालिका वडा नं.- १ बाट नेपाली कांग्रेसले जीत हात पारेको थियो। वडा नं.- १ का नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार अजमत डाँगीले ३२२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका चूडामणि ओलीले २२१ मत र माओवादी केन्द्रका खुसलसिंह बिकले १९९ मत प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.