|

काठमाडौं : प्रेस काउन्सिल नेपालले पत्रकारिता पेशामा प्रवेश गर्नुपूर्व लाइसेन्स परीक्षा लिने तयारी गरेको छ। पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यले काउन्सिलले पत्रकारको योग्यता परीक्षण गर्ने तयारी गरेको हो।

पत्रकारिता पेशामा प्रवेश गर्नु पूर्व लाइसेन्स लिने तथा पत्रकारको स्तर वर्गीकरण गर्ने सम्बन्धमा गठित कार्यदलले शुक्रबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदनले मिडियाको गुणस्तर अभिवृद्धि र आचारसंहिता पालनाको स्थिति सुधार गर्न पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ।

सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमल्सेना संयोजक तथा रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. कुन्दन अर्याल, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र सचिवमा काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनाल रहेको कार्यदलले सार्वजनिक गरेको प्रतिवेदनमाथि सञ्चार विज्ञको सुझावका आधारमा पत्रकारका योग्यता परीक्षण गर्ने तयारी गरिएको हो। प्रतितिवेदनमा पत्रकारको योग्यता तोक्नुपर्ने औचित्य, पत्रकारको योग्यताबारे विभिन्न देशको प्रावधान, परीक्षणको किसिम, परीक्षण कार्यविधि, योग्यता, पाठ्यक्रमको उद्देश्य र पाठ्यक्रमको ढाँचाबारे उल्लेख छ। 

किन लिनुपर्‍यो लाइसेन्स परीक्षा?

काउन्सिलका अध्यक्ष कार्कीले बास्तविक पत्रकारिता गरिरहेकाहरुको पलायन रोक्न र पीत पत्रकारितालाई निस्तेज पार्न लाइसेन्स परीक्षा लिने निष्कर्षमा काउन्सिल पुगेको बताए। 'पत्रकारिता गर्ने मान्छे छायाँमा पर्ने र पीत पत्रकारिता गर्ने मान्छेको हालीमुहाली चल्ने अवस्था यो', अध्यक्ष कार्कीले भने, 'पत्रकारिताबाट जीविकोपार्जन हुँदैन, भविष्य छैन भन्ने मान्यता विकास हुँदै गयो, यसलाई हटाउन र जिम्मेवार तथा मर्यादित पत्रकारिताको विकासका लागि पत्रकारको योग्यता तोक्नुपर्ने भयो, यो काम गर्न ढिला भैसक्यो, अब ढिला गर्दैनौँ।'

पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ का संयोजक डा. डा. रामकृष्ण तिमल्सेनाले पत्रकारिता नागरिक अधिकार प्रयोग गर्ने विधिमात्र नभइ मर्यादित पेशा समेत भएकोले यसका निश्चित योग्यता तोक्नुपर्ने बताए। 

रत्नराज्य लक्ष्मी क्याम्पस पत्रकारिता विभाग प्रमुख डा. कुन्दनराज अर्यालले पत्रकारितालाई पेशा मान्ने हो भने यो पेशामा आउनुपूर्व निश्चित मापदण्ड पूरा गर्नुपर्ने बताए।

पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ को प्रतिवेदनमा 'योग्यता तोक्नुपर्ने औचित्य' शीर्षकमा यी चार कारण दिइएको छ।

१) लोकतन्त्रलाई अझ बढी सवल बनाउन, स्वतन्त्र, सक्षम, मर्यादित एवं वैधानिक पत्रकारिताको स्थापनाको विकासको लागि।

२) पत्रकारितालाई पेशको मापदण्ड अनुकूल बनाउन।

३) भैरहेका पत्रकारहरुको हकहीत यथावत राखी अब पत्रकारितामा आउने व्यक्तिको योग्यता परीक्षण प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन।

४) अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने पत्रकारिताको विकास गरी पत्रकारिताको आत्मसम्मान कायम राख्न।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • yo kam swagat yogya6 ahile anya pesa ra bebasaya bat patrakar vayakalai pani chhaanbin garnupar6 hai