|

  • भोजराज कार्की-

सोलुखुम्बु :  जिल्लाको दुई स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ। लिखुपिके र महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा  माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्। लिखुपिके गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत, उपप्रमुखमा माओवादीकै प्रमिला बस्नेत बिजयी भएका छन्।

डम्बरबहादुरले ११३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र नेकपा एमालेका पोष्टकुमार कार्कीले ५१९ मत प्राप्त गरे। उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रमिला बस्नेतले १०४२ मत प्राप्त गर्दा नेपाली कांग्रेस उम्मेदवारले ८२८ र नेकपा एमाले उम्मेदवारले ५९६ मत प्राप्त गरिन्।

पाँच वडा रहेको यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दुई दुई र नेकपा एमालेले एउटा वडामा जित हात पारेको छ। यस्तै महाकुलुङ गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका सागर किराती र उपप्रमुखमा नेपाली कांग्रेसकी बिपना कुलुङ विजयी भएका छन्। प्रमुख पदका उम्मेदवार किरातीले १४०३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भलाकाजी कुलुङले १३८३ मत प्राप्त गरे।

महाकुलुङको वडा नम्बर १ र ४  माओवादी केन्द्र,  २ र ३ एमाले र ५ नम्बर वडामा नेपाली कांग्रेस अध्यक्ष सहित अन्य पदमा विजयी भएको छ। आठ स्थानीय तह रहेको सोलुखुम्बुको सम्पूर्ण तहमा मतगणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान र सोताङ गाउँपालिकामा अग्रता लिएको छ। नेकपा एमालले खुम्बु पासाङ ल्हामु गाउँपालिका र दूधकोसी गाउँपालिकामा अग्रता कायम राखेको छ। दुधकौसीका गाउपालिकामा भने भर्खरैमात्र मत गणना सुरु भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.