|

उदयपुर : २५ वर्ष शिक्षण पेशामा बिताएपछि स्थानीय तह निर्वाचनमा माओवादीका तर्फबाट त्रियुगा नगरपालिका–१६ मा अध्यक्षको उम्मेदावर बनेका मानबहादुर राई अन्तत विजयी भएका छन्।

उनी ६ सय ९४ मत ल्याएर वडाध्यक्षमा विजयी भए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पुष्प पोखरेलले ३ सय २३ मतमात्रै ल्याए। स्थानीय निर्वाचनमा उम्मेदवार बन्नुअघि उनी साबिकको जाल्पा चिलाउने गाविस (अहिले त्रियुगा नगरपालिका १६) स्थित भोर्ले माध्यमिक विद्यालयमा १५ वर्षदेखि प्रधानाध्यापक (हेडसर) थिए।

विद्यालय छेउमै घर भएका राई अहिले आफ्ना पार्टीका सदस्यहरुको प्यानलसहित वडा सरकार प्रमुख बनेका छन्। राई शिक्षण पेशासँगै एनजिओमा पनि आबद्ध थिए। शिक्षक छदाँ राजनीतिक आस्था राखेपनि प्रत्यक्ष राजनीति नगरेको उनले बताए।

उनी अध्यक्ष रहेको गैरसरकारी संस्था बालविकास सेवा समाज उदयपुरमा सक्रिय एनजिओमध्ये एक हो। शिक्षणसँगै समाजसेवामा समेत लामो समय सक्रिय भएका राई आफ्नो छविकै कारण आफुसँगै आफ्नो पूरै प्यानललाई विजयी गराउन सफल भए। राईको प्यानलमा गोमा कार्की, कुन्ति परियार, घमासिंह राई र राजकुमार तामाङ छन्।

घोषणापत्रमा लेखेको कुरा पूरा गर्छु

विजयी भएपछि राईले घोषणपत्रमा लेखेको कुरा पुरा गर्ने बताए। ‘मलाई जनाले जुन भारी मतले जिताउनु भएको छ, म त्यसको ऋणी छु,’ उनले भने,‘मैले वडा १६ मा एक घर एक रोजगारीको कार्यक्रम लागु गर्ने भनेको छु। जनतलाई घुम्ती सेवामार्फत सरकारी सेवा दिन्छु। सिप सिकेर वैदेशिक रोजगारीमा जाने युवायुवतीलाई सरल व्याजमा ऋण उपलब्ध गराउने छु।’

यस वडामा उदयपुर सिमेन्ट उद्योगको चुनढुंगा खानी क्षेत्र पर्छ। उनले उद्योगलाई सहज बनाउँदै रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता विजयअघि र विजयपछि गरेका छन्।

संविधानले दिएको अधिकारहरु जनताको लागि सहज रुपमा कार्यन्वयन गराउने प्रतिवद्धता उनी व्यक्त गर्छन्। कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका समस्या पुरा गर्न प्रतिवद्ध भएर लाग्ने उनको भनाइ छ।

सडक, खानेपानी, ढल, पार्टी पौवाको संरक्षण र व्यवस्थित गर्दै नभएका ठाँउमा बनाउन पहल गर्नेउनले बताए। कृषिको पकेट क्षेत्रका रुपमा यस वडाको विकास गर्दै तरकारी, फलफुल, खाद्यान्न बाली, नगदेबालीको पकेट क्षेत्र छुट्याएर व्यवसायिक कृषिमा जोड दिने उनका योजना छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.