|

  • भोजराज कार्की-

सोलुखुम्बु :  जिल्लाको सम्पूर्ण तहको मत परिणाम आइतबारसम्ममा आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ।  भौगोलिक विकटता तथा उपलब्ध साधन स्रोतको तुलनामा मतगणनाको गति सन्तोषजनक रहेको मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले बताए। उनले भने 'तीन स्थनीय तहको मतपरिणाम आइसक्यो, बाँकी चार तहको पनि आइतबारसम्म आइसक्छ।'

लिखुपिके, महाकुलुङ, दुधकोसी गाउँपालिकाको मतपरिणाम आइसकेको छ भने शनिबार साँझसम्म सोताङ, नेचा सल्यान र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको नतिजा आउने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए।

जिल्लाको हालसम्म भएको मतगणनामा एक नगरपालिका र दुई गाउँपालिकामा नेपाली कांग्रेस र एक, एक गाउँपालिकामा माओवादी केन्द्र र एमाले अग्रस्थानमा रहेको छ।

सोलुदूधकुण्ड नगरपालिका, नेचा सल्यान र खुम्बु पासाङ ल्हामु गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। सोताङ गाउँपालिकामा नेकपा एमाले र दूधकौशिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ। सम्पन्न मत परिणाम अनुसार २ स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा नेकपा एमाले बिजयी भएको छ।

कहाँको वडामा को विजयी?

मतदाताको संख्या बढी रहेको सोलुदूधकुण्ड नगरपालिका र दूधकौशिका गाउँपालिकाको मत परिणाम आइतबारसम्म आइसक्ने निर्वाचन कार्यालयले जनाएको छ। १० वडा रहेको सोलुदूधकुण्ड नगरपालिकाको वडा नंम्बर १, २, ३, ८, ९ र १० को मतगणना सकिएको छ। अहिले वडा नम्बर ४ को मत गणना भइरहेको छ।

पाँच वडा रहेको सोताङ गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। वडा नं. १, २, ३, ४ को मतगणना सकिएको छ भने अहिले वडा नम्बर ५ को गणना भइरहेको छ।

पाँच वडा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको वडा नं. १, २, ३ को मतगणना सम्पन्न भएको छ भने वडा नं. ४ को मतगणना जारी छ।

यता ९ वडा रहेको दूधकौशिका गाउँपालिकामा वडा नं. ८ को मतगणना सम्पन्न भएको छ भने वडा नं. १ र ९ को अन्तिम चरणमा गणना भइरहेको निर्वाचन अधिकृत कृष्णप्रसाद खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.