|

भोजपुर :  नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उमेदवारलाई विजयी गराउन सहयोग गरेको भन्दै एमाले कार्यकर्ताले रामप्रसादराई गाउँपालिकाका १ का डम्बर भुजेललाई निर्घात कुटपिट गरेका छन्। गत विहीबार रामप्रसादराई गाउँपालिका १ मा आफ्नै निवासमा भुजेललाई एमाले कार्यकर्ताले कुटपिट गरेका हुन्।

भुजेलका अनुसार एमाले कार्यकर्ताले पाँच बर्षका छोरा र ३ बर्षकी छोरीसंग सुतिरहेको बेला मध्यरातमा उठाएर निर्घात कुटपिट गरेका हुन्। कुटपिटमा एमाले कार्यकर्ताको साथमा माओवादी केन्द्रकै जिल्ला सचिवलय सदस्य पुष्प राई (यावा) को समेत संग्लनता रहेको भुजेलले बताएका छन्। भुजेलका अनुसार मध्य रातमा परिचित आवाजले बोलाएपछि उठेर बाहिर निस्कँदा १२ जनाको समुहले कुटपिट गरेका थिए।

'माओवादीलाई जिताएर एमाले हराउने तै हैनस्” भन्दै लौरोले अन्धाधुन्ध प्रहार गरेको भुजेलले बताएका छन्। कुटपिट पछि अचेत अवस्थामा सडकमा फालिएका भुजेललाई रामप्रसाद राई गाउँपालिकाका २ बाट भोजपुर आइरहेका सँस्कृतिकर्मी कपिल राईले भेटेपछि आफ्नो गाडीमा चढाएर उपचारका लागि भोजपुर ल्याएका थिए।

कुटपिटबाट भुजेलको दाहिने हात र देव्रे खुट्टा भाँचिएको जिल्ला अस्पताल भोजपुरले जनाएको छ। कुटपिटको मौखिक उजुरी आएको र घटनाको विषयमा छानबिन सुरु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले बताएका छन्। हाल भुजेललाई भोजपुरबाट थप उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.