|

  • कर्णबहादुर कुँवर-

टीकापुर : नेपाल लोकतान्त्रिक फोरमका महासचिव रामजनम चौधरीको गाउँमा नेपाली कांग्रेस विजयी भएको छ। कैलालीको जोशीपुर गाउँपालिकामा कांग्रेस विजयी भएको हो । फोरम लोकतान्त्रिकका महासचिव चौधरी २०४८ सालदेखि निरन्तर त्यही ठाउँबाट सांसद जित्दै आएका छन्।

जोशीपुर गाउँपालिकाका निर्वाचन अधिकृत जीवराज पोख्रेलका अनुसार गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी आफ्ना निकटतम् प्रतिस्पर्धी नेपाल लोकतान्त्रिक फोरमका बीरूप्रसाद चौधरीलाई ६ शय ९१ मतको अन्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

रामकृष्णले ३ हजार ४ शय ३२ र बीरूप्रसादले २ हजार ७ शय ४१ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा समेत नेपाली काँग्रेसका गीता कठरियाले फोरमका किरण चौधरीलाई २ शय ७९ मतान्तरले पराजित गर्दै पराजित गर्दै गाउँपालिका उपाध्यक्षमा विजयी भएकी छन्। गीताले ३ हजार ७ शय ६८ र किरणले ३ हजार ४ शय ८९ मत ल्याए।  

नेपाल लोकतान्त्रिक फोरमका उम्मेदवार बीरूप्रसाद चौधरी महामन्त्री रामजनम चौधरीका दाजु र उपाध्यक्षका उम्मेदवार किरण कैलाली क्षेत्र नं.१ का सांसद एवं पूर्व राज्यमन्त्री जनकराज चौधरीकी पत्नी हुन् ।

जोशीपुर गाउँपालिका कूल ३७ स्थान मध्ये नेपाली काँग्रेस गाउँ पालिका अध्यक्ष, उपाध्यक्ष, ६ वडाध्यक्षसहित २८ र फोरम १ वडाध्यक्षसहित ९ स्थानमा विजयी भएको छ। जोशीपुर गाउँपालिकाका वडाको घोषित परिणाम अनुसार वडा नं.३, ६ र ७ मा नेपाली कांग्रेसका किशोर कठरिया, नाथुराम डगौरा र जंगबहादुर चौधरी प्यानलसहित विजयी भएका छन् भने वडा नं ४ मा नेपाल लोकतान्त्रिक फोरमका रामलखन चौधरी प्यानलसहित विजयी भएका छन्।

त्यस्तै वडा नं १, २ र ५ मा नेपाली कांग्रेसका वृद्धिलाल चौधरी, हेमलाल चौधरी र देशराज चौधरी वडाध्यक्षमा विजयी भएका छन र ती वडामा सदस्यमा नेपाली काँग्रेस र फोरमका उम्मेदवार विजयी भएका छन् ।

चुरे गाउँपालिकामा भने एमाले विजयी भएको छ। चुरे गाउँपालिकाका कूल ३२ स्थान मध्ये एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, ४ वडाध्यक्षसहित २२ र नेपाली कांग्रेस २ वडाध्यक्षसहित १० स्थानमा विजयी भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.