|

बैतडी : पार्टीले उम्मेदवार चयन गरेपछि ३ महिनाकी दूधे बालिका काखी च्यापेर भोट मागेकी सुर्नया गाउँपालिकाकी लिला विष्ट उपाध्यक्षमा निर्वाचित भएकी छन्। गाउँपालिकाको उपाध्यक्ष जित्न चुनावको प्रचार गरौँ कि ३ महिने छोरीलाई हुर्काउँ भन्ने दोधारमा रहेकी उनले अन्तत जितेर पनि देखाइन्। 

सुर्नया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लिलाले भनिन् ‘चुनावी प्रचारप्रसारको क्रममा थुप्रै हण्टर खेप्नु पर्‍यो तर अहिले संघर्षलाई सफलतामा बदल्न सफल भएँ।’ गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले जिते पनि उपाध्यक्षमा एमालेकी लिला विजयी भइन्।

महिलाले गाउँ गाउँ डुल्दै हिड्नुहुन्न भन्ने गाउँघरको पुरानो मान्यतालाई चिर्दै लिलाले गाउँपालिकाको उपाध्यक्षमा २३०४ मत ल्याएर विजयी भएपछि अहिले उनलाई बधाइ दिनेको ओइरो लागेको छ। जेठ महिनाको गर्मी, असारको झरी र बर्षा नभनी ३ महिनाको छोरीलाई काखीमा च्यापेर घर घर पुगेर भोट माग्दाको क्षण सम्झिदै पनि धेरैले उनलाई अहिले आँटिली महिला भन्दै ‘बधाई छ’ भन्छन्।

यसरी आफूले गरेको दुःख सारा गाउँलेले बुझेर जिताएकोमा लिलाले खुशीसँगै ठुलो जिम्मेवारी बोध गरेको बताइन्। विजय र्‍यालीमा प्रतिक्रिया दिदै उनले भनिन्, ‘मेरो संघर्षलाई आफ्नै सम्झी अमूल्य भोट दिएर जिताउने जनाताको सेवा इमान्दारीपूर्वक गर्ने प्रण गर्छु।’ 

लामो समयदेखि जनप्रतिनिधिविहीन ग्रामीण क्षेत्रको विकास गर्ने जिम्मा आफ्नो काँधमा आएको भन्दै उनले सुर्नयाबासीको पीडा कुनै पार्टीको नभई साझा र अब त्यो आफ्नो जिम्मेवारी भएको बताइन्। 

‘जनताका पीडा के हो भोगेकी छु’

पहाडको बाटो उकाली ओराली झर्दै, खोला तर्दै, डाँडा चढ्दै ग्रामीण भेगका महिलाले गर्ने दुःख पनि आफुले पनि भोगेको भन्दै उनले ग्रामीण क्षेत्रका महिलाको जीवनस्तर उकास्न सधै प्रयत्नशील रहने बताइन्। ‘चुनाव प्रचार गर्दा जति दुःख पाउनुपर्‍यो त्यो दुःख ग्रामीण भेगका महिलाहरुका लागि सामान्य हो,’ उनले भनिन्, ‘जनताका पीडा के छन् मैलै स्वयं भोगेकी छु।’

उनीहरुको दुःखलाई सक्दो बुझ्ने र समस्याको समाधानका साथै महिलाको हक अधिकारका लागि आफू निरन्तर लागिपर्ने  र उनीहरुलाई सहज बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनले सुनाइन्। महिलाले घरभन्दा बाहिर जानु हुदैन चुलो र चौकोमा मात्रै सीमित हुनुपर्छ भन्ने गाउँघरको पुरानो परम्परा तोड्दै अब आफु उदाहरण भएर काम गर्ने पनि उनको प्रतिबद्धता छ। ‘महिलाले चुलोमा सीमित हुनुपर्छ भन्ने गाउँघरका पुरुषहरुको बुझाई छ,’ उनले भनिन्, ‘अब म अवसर पाए सबै गर्न सक्छन भन्ने उदहारण भएर काम गर्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.