झिनो मतान्तरले तनाव

|

रुपन्देही : रुपन्देहीका उपमहानगर र केही नगरका नतिजा निकै आश्चर्यजनक आएको छ। बुटवलमा कांग्रेस माओवादी गठबन्धनले वडा तहमा कुनै प्रभाव पारेको छैन। तर प्रमुखमा भने गठबन्धनले एमालेलाई चुनौती दिइरहेको छ। एमालेले ६ वडाको नतिजा आउँदासम्म एक नम्बर वडा बाहेक सबैमा प्यानल जित हासिल गरेको छ। तर, प्रमुखमा भने झिनो मतान्तरका कारण एमाले शंसकित बनेको छ।

बुटवल उपमहानगरमा कांग्रेसले सुरुवातमा झन्डै ३ सय मतले अग्रता लिएको थियो। तर, वडा नम्बर २ को मतगणना हुन थालेपछि एमालेले अग्रता लिन थालेको हो। एमालेका शिवराज सुवेदीको १ देखि ५ सयको बिचमा मात्रै अग्रता लिइरहेका छन्। एमाले नेतृत्वले भने जितका लागि यो मतान्तर पर्याप्त नभएको बताउन थालेका छन्।

वडामा नेपाली कांग्रेसको हार भइरहेको छ। तर काँग्रेस माओवादी गठबन्धनका खेलराज पाण्डेले भने सुवेदीको पछिपछि छन्। प्रमुखमा जसरी झिनो मतान्तर देखिएको छ, उपप्रमुखमा भने भारी मतान्तर देखिएको छ। बुटवलको मतदाताको रोजाई निकै विचित्रको देखिएको छ। कतिपय मतदाताले मेयरमा रुखमा मात्रै भोट दिएका छन् अरु सबै सूर्यमा मत दिएका छन। “बुटवलमा क्रस मत धेरै खसेको छ” बुटवल उपमहानगर निर्वाचन कार्यालयका अधिकृत भरतमणी पाण्डेले भने। उनका अनुसार मतदाताले व्यक्ति रोजेर भोट हालेका छन्।

उप प्रमुखमा एमालेका गोमा आचार्यले गठबन्धनका उपप्रमुखका उम्मेदवार जगत पोखरेललाई आधा भन्दा बढी मतले अग्रता लिइरहेकी छन्। एमाले नेतृत्वले वडा र उपप्रमुखमा सुखद नतिजा ल्याएपनि बुटवलमा प्रमुखमा आफ्नो बर्चस्व गुम्ने चिन्ता रहेको बताउँदै आएको छ।

२०५४ सालमा स्थानीय चुनाव जितेको बुटवल एमालेको आफ्नो लालकिल्ला मान्दै आएको छ। त्यो लालकिल्ला भत्काउन कांग्रेस माओवादी गठबन्धन गरिएको हो। गठबन्धनलाई सहजै परास्त गर्न एक्लै चुनावी मैदानमा उत्रिएको एमालेका लागि थोरै मतान्तरले त्रास पैदा गरेको हो।

“थोरै मतान्तर देखिएपनि जित हाम्रै हुनेछ” एमालेका बुटवल निर्वाचन परिचालन कमिटी संयोजक भोजप्रसाद श्रेष्ठले भने—“हामीले एक हजार मतान्तरले जित्छौं।” श्रेष्ठले साना दलहरुको मत नेपाली कांग्रेसले किनेकाले चुनौती थपिएको तर्क गरे।

बुटवलमा एमालेले १७ वडासम्म जित्ने एमाले पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठले दावी गरे।

नेपाली कांग्रेसले भने प्रमुखम आएको मतले जित तर्फ उन्मुख गराएको दावी गरेको छ। नेपाली कांग्रेस निर्वाचन परिचालन कमिटी बुटवलका संयोजक हरि लम्सालले वडा थोरै जितेपनि प्रमुखमा आफूहरुको जित सुनिश्चित रहेको बताए। उनले धेरै वडा गन्न बाँकी रहेकाले गठबन्धनका उम्मेदवार पाण्डेले जित्ने बताए।

रुपन्देहीको देवदह र सिद्धार्थनगर नगरपालिकामा पनि रोचक प्रतिस्पर्धा भइरहेको छ। मतगणना भइरहदा कांग्रेस र एमालेका उम्मेदवार अघिपछि हुनेक्रम जारी रहेको छ।

यो दुई नगरपालिकामा कसले बाजी मार्छ त्यो निकै जटिल देखिएको छ। बहुमत वडामा एमालेका उम्मेदवारले विजयको टिका लगाएका छन्। तर, झिनो मतान्तरले प्रमुखमा भने कसले बाजी मार्ने त्यो नै दलहरुको चिन्ताको विषय बनेको हो।

सैनामैना नगरपालिकामा भने एमालेले प्यानल नै जितिरहेको छ। ६ वटा वडाको नतिजा आउदा एमालेले ५ वडामा प्यानलनै जितेको छ भने एउटा वडामा नेपाली कांग्रेसले जितेको छ। 

१६ वटा स्थानीय तह रहेको रुपन्देहीमा दक्षिणी क्षेत्रमा भने मिश्रित अवस्था देखिएको छ। रुपन्देहीमा संघीय समाजवादी फोरम र नयाँ शक्तिको गठबन्धन, स्वतन्त्र रुपमा उम्मेदवारी दिएका राजपा समर्थित उम्मेदवारले अग्रता लिएका छन्। कतिपय वडामा राप्रपाले समेत जित हासिल गरेको छ।

लुम्बिनी साँस्कृतिक नगरपालिकामा राजपा निकट स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले सुरुदेखि नै अग्रता लिइरहेका छन्।

रुपन्देहीमा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेका छन्।


तपाईँ रुपन्देही जिल्लाका खबर थाहा पाउन चाहनुहुन्छ? यहाँ क्लिक गर्नुहोस्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.