|

काठमाडौं : महालक्ष्मी विकास बैंक र यती डेभलपमेण्ट बैंक आपसमा मर्ज भएर बनेको महालक्ष्मी विकास बैंकले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको छ। आइतबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकका अध्यक्ष राजेश उपाध्यायलाई वित्तीय इजाजत पत्र प्रदान गरेसंगै बैंकको एकीकृत कारोबार सुरु भएको हो।

राष्ट्र बैंकले पुँजी बृद्धिको लागि आवश्यक मर्जर नीति अनुसार दुई बैंक बीच मर्जर गरिएको बैंकका अध्यक्ष राजेश  उपाध्यायले बताए। ' राष्ट्र बैंक मर्जर नीति अनुसार नै हामी दुई बैंक मर्ज भएका छौँ, राष्ट्र बैंकले तोकेकै समयमा चुक्ता पुँजी वृद्धि पनि गरिएको छ' अध्यक्ष उपाध्यायले भने। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म राष्ट्रिय स्तरको विकास बैंकले चुक्ता पुँजी साढे २ अर्ब पुर्‍याउनुपर्ने नियम ल्याएको थियो।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकहरु एकआपस गाभेर कारोबार हुनुले निक्षेप कर्ताको विश्‍वास जित्ने बताए। आफूले बैंकको पुँजी वृद्धि गर्नको लागि लिएको नीति अनुरुप बैंकहरु पुँजी बढाउन एक आपसमा गाभिएको उनको भनाइ छ।

 गभर्नर नेपालले बैंक व्यवस्थापनलाई संचालकले दवाब नदिन समेत आग्रह गरेका छन्। 'संचालकहरुले दवाब दिएका कारण कति बैंक समस्यामा परे तपाईहरुलाई थाहा नै छ, अब संचालहरुले यसरी दबाब दिन पाइने छैन' गभर्नर नेपालले भने। उनले बैंक खोलेर नाफा कमाउने उद्देश्‍य नराख्न समेत आग्रह गरेका छन्।

बैंकका संचालक अरुणराज सुमार्गीले निक्षेपकर्ताहरुको हित अनुसार काम गर्ने बताए। वाणिज्य बैंकको दबदबा तोड्नको लागि संचालन गरिएका फाइनान्नस कम्पनीहरु आपसमा एकता भइ विकास बैंक हुनुले पनि सबैको हित अनुसार काम गर्ने उनले बताए।

'मकवानपुरमा वाणिज्य बैंकहरुको दबदबा तोड्नको लागि यती फाइन्नास सुरु गरिएको थियो, हाम्रो छिमेकी जिल्ला वीरगन्जमा महालक्ष्मी फाइनान्स संचालनमा आएको थियो अन्य ७ अन्य वित्तीय संस्थाहरु समेत गरी हामीले महालक्ष्मी विकास बैंक सुरु गरेका छौं, निक्षेप कर्ताहरुको लगानी जहाँसम्म पुर्‍याउने हो हामी पर्‍याउछौं' सुमार्गीले भने।

देशकै ठूलो चुक्ता पूँजी भएको विकास बैंक

आइतबारबाट एकीकृत कारोबार सुरु भएको महालक्ष्मी विकास बैंक देशको सबै भन्दा बढी चुक्ता पुँजी भएको विकास बनेको छ। राष्ट्र बैंकले २०७४ असार मसान्त भित्र विकास बैंकलाई दुई अर्ब चुक्ता पुँजी बनाउन निर्देशन दिएकोमा दुई बैंक गाभिएपछि दुई अर्ब ६३ करोड चुक्ता पुँजी बनाएको छ।

त्यस्तै मर्जर पछि बैंकको निक्षेप २४ अर्ब २१ करोड रुपैयाँ र कर्जा २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ। संचालन मुनाफा ६८ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा नै १ अर्ब पुर्‍याउने बैंक संचालक समितिको लक्ष रहेको छ। 'खर्च कमी, असुलीमा गरिएको सुधारका कारण यो आर्थिक वर्षभित्रमै १ अर्ब संचालन मुनाफा गर्ने लक्ष राखेका छौँ' बैंकका अध्यक्ष राजेश उपाध्यायले भने।

त्यस्तै मर्जरपछि बैंकको शाखा ६५,एटीएम संख्या ३६ र ग्राहक संख्या ३ लाख ६४ हजार पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.