|

गुल्मी :  तीन पटक गाविस अध्यक्ष बनेका एमालेका मधुकृष्ण पन्त यसपटक स्थानीय तहको नयाँ संरचना गाउँपालिका अध्यक्षमा पनि निर्वाचित भए।

गुल्मीको छत्रकोट गाउँपालिकामा पन्तले कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारलाई हराउँदै ५ हजार ५ सय ५१ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनन्तराम पौडेलले ५ हजार १ सय १४ मत ल्याएका थिए।

तीन पटक गाविस अध्यक्ष बने   

२०४४ सालमा गाउँ पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवार बनेका पन्तले तत्कालिन समयमा राजेन्द्र पन्तलाई हराउँदै हर्दिनेटा गाउँ पञ्चायतको अध्यक्ष निर्वाचित भएका थिए। २०४९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट गाविस अध्यक्षमा उनले कांग्रेसका तुल्सी पन्तलाई हराउँदै निर्वाचित भएका थिए। पन्त निरन्तर एमालेको बिभिन्न पद तथा बिभिन्न संगठनमा रहदै हाल एमालेको जिल्ला अध्यक्ष छन्।

२०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा पनि एमालेबाटै गाविस अध्यक्षमा निर्वाचित भएका थिए। पन्तले उक्त निर्वाचनमा कांग्रेसबाट गाविस अध्यक्षमा उम्मेदवार बनेका नारायण पन्तलाई पराजित गराउँदै निर्वाचित भएका थिए। अहिले पन्त निर्वाचित भएको गुल्मीको छत्रकोट गाउँपालिका साविकका  हर्दिनेटा, हुँगा, खज्याङ्ग, पल्लीकोट, दौघा, दिगाम गाविस समायोजन गरी निर्माण गरिएको हो।

विकासप्रेमी छवि

नेकपा एमालेको जिल्ला कमिटीमा एक कार्यकाल उपाध्यक्ष र हाल अध्यक्ष  रहेका पन्त एक निडर र इमान्दार नेताका रुपमा चिनिन्छन्। उनलाई त्यस क्षेत्रका जनताले विकासप्रेमी नेताका रुपमा लिने गरेको एमाले गुल्मीका सचिवालय सदस्य जंग नेपाली बताउँछन्। पद र प्रतिष्ठाभन्दा सधै समाजसेवालाई उच्च मुल्याङकनमा राखेर अघि बढने पन्तको सोच रहेको उनको भनाइ छ।

परिर्वतनको पक्षमा मत    

निर्वाचित भइसकेपछि पन्तले जनताले विकास र परिर्वतनको पक्षमा मत दिएर आफूलाई भारी बोकाएकाले त्यो भारी सम्बन्धित ठाउँसम्म बोकेर लैजाने बताए। 'अहिले जितेर बोल्नु भन्दा मैले केही गरेर देखाउने छु' पन्तले भने ‘हामी निर्वाचित भएको राज गर्नलाई हैन जनताको समृद्धि, परिर्वतन ल्याउन हो।’ उनले  आफू केही गर्ने सोच लिएर आएको भन्दै परिवर्तनको अनुभूति हुने गरी काम गरेर देखाउने बताए। एमालेबाट प्रमुखमा निर्वाचित उक्त गाउँपालिका कांग्रेस नेता चन्द्र भण्डारीको गाउँपालिका पनि रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.