को हुन् एमालेबाट निर्वाचित पाण्डेय?

|

काठमाडौं : नवलपरासीको सुस्ता गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेय निर्वाचित भएका छन्। पाण्डेय ३ हजार ५११ मत ल्याएर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार हसनदिन शेष ५५९ मतान्तरले पराजित भए। शेषले २ हजार ९५२ मत प्राप्त गरेका थिए। 

प्रदेश सीमांकनका क्रममा टुक्र्याएर दुईवटा प्रदेशमा पारिएको नवलपरासी जिल्लाको पश्चिम परासीमा पर्ने सुस्ता गाउँपालिकालाई पाण्डेयले प्रदेश नम्बर ४ मा गाभ्ने प्रतिबद्धता घोषणापत्रमै उल्लेख गरेका थिए। यो गाउँपालिका अहिले प्रदेश नम्बर ५ मा पर्छ।

सुस्तालाई किन गाभ्ने प्रदेश नम्बर ४ मा?

सुस्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका रामप्रसाद पाण्डेय सुस्ता गाउँपालिकालाई प्रदेश नम्बर ४ मा राख्नुपर्ने पक्षमा छन्। विकासका दृष्टिले पछाडी परेको क्षेत्र भएको तर प्रदेश नम्बर ५ आफूहरूलाई पायक नपर्ने भएकोले सुस्तालाई प्रदेश नम्बर ४ मा गाभ्नुपर्ने अध्यक्ष पाण्डेयको तर्क छ।

'जनताले दिएको अभिमतकै आधारमा सुस्ता गाउपालिकालाई ४ नम्बर प्रदेशमा पार्नका लागि हामीले पहल गर्नेछौँ। भन्सार नजिकै रहेको पक्लिहवा (साविकको पक्लिहवा गाविस) बाट भन्सार खोलेर यो गाउँपालिकाबासीको आर्थिक विकास गर्ने हाम्रो योजना छ', पाण्डेयले भने, 'हामीले घोषणापत्रमै उल्लेख गरेका छौँ। नीतिगत रुपमा पनि त्रिवेणी गाउँपालिका ४ नम्बर प्रदेशमा र सुस्ता गाउँपालिका ५ नम्बर प्रदेशमा हुँदा यहाँका बासिन्दालाई समस्या परेको छ। यसका लागि सुस्ता गाउपालिकाका सम्पूर्ण जनताको अभिमतका आधारमा हामी अगाडि बढ्नेछौ।'

अध्यक्ष पाण्डेले सुस्तालाई ४ नम्बर प्रदेशमा मिसाउन हस्ताक्षर अभियान सञ्चालन गरी सीमाङ्कन आयोगमा पत्राचार गर्ने बताउँछन्। 'हामी सम्पूर्ण जनताको हस्ताक्षर सीमाङ्कन आयोगमा पठाउँछौँ र सुस्ता गाउँपालिकाको तर्फबाट पत्राचार गरिसकेपछि पक्कै पनि उहाँहरूको ध्यानाकर्षण हुनेछ भन्ने विश्वास लिएका छौँ।'

भौगोलिक असुविधाका कारण पनि सुस्ता ५ नम्बर छाडेर ४ नम्बरमा गाभिनुपर्ने उनको भनाई छ। '४ नम्बर प्रदेशमा साविकको त्रिवेणी गाविसलाई मात्र राख्दा त्यहाँका बासिन्दलाई नजिकको गाउँपालिका जान पनि ५० किलोमिटर टाढा जानुपर्ने भएको छ', पाण्डेय भन्छन्, 'त्यो असुबिधा उहाँहरुलाई पनि परेको छ। कि सबै सुस्ता गाउँपालिकालाई ४ नम्बर प्रदेशमा व्यवस्थापन गर्नुपर्‍यो।'

सुस्ताका बासिन्दाको आर्थिक स्थिति सुधार गर्न वैज्ञानिक कृषि उत्पादन गर्ने आफ्नो प्राथमिकता रहेको उनी बताउँछन्। भारतसँग सीमा जोडिएको सुस्तामा सिमाना विावद रहेकोले त्यसलाई समाधान गर्न पहल गर्ने उनले बताए। 'थुप्रै पार्टीका नेताहरूले यो क्षेत्रको अवलोकन गर्नुभएको छ'- पाण्डेयले भने, 'पहिलो प्राथमिकता सुस्तालाई अतिक्रमण हुनबाट बचाउनु रहनेछ।'


को हुन् रामप्रसाद​ पाण्डेय ?

२०३१ सालमा स्याङ्जा जिल्लाको साविक आलमदेवी गाविस, सदुगामा सामान्य परिवारमा जन्मिएका हुन् रामप्रसाद पाण्डेय। पाण्डेय स्याङ्जाबाट नवलपारसीमा बसाइसराइ गरेपछि त्यहीँबाट राजनीतिमा सक्रिय भएका थिए। 

जिल्लामा शिक्षाको विकासका लागि २५ वर्षदेखि काम गर्दै आएका पाण्डेयले आफ्नै सक्रियतामा विद्यालय सञ्चालन गरी लामो समय शिक्षण पेशा समेत गरेका थिए। शिक्षा तथा सहकारी अभियन्ता समेत रहेका अध्यक्ष निर्वाचित पाण्डे विद्यालयबाट राजीनामा दिएर अध्यक्षको उम्मेदवार भएका थिए। 

विद्यालय सञ्चालकहरूको संस्था एनप्याब्सन नवलपरासीको पूर्व अध्यक्ष (हालका प्रमुख सल्लाहकार) रहेका उनी शिक्षाको विकासका लागि योगदान दिने नवलपरासीका अगुवामध्ये एक हुन्। विद्यार्थी, क्षेत्रीय कमिटी, गाउँ कमिटी हुँदै उनी हाल नेकपा एमालेको सुस्ता गाउँपालिका सचिव छन्। उनले एजुकेसन प्लानिङ म्यानेजमेन्ट (इपिएम) मा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन्। 

कहाँ पर्छ सुस्ता ? 

प्रदेश सीमांकनका क्रममा प्रदेश ४ र ५ प्रदेशमा विभाजित भएको नवलपरासीको पश्चिम दक्षिण नवलपरासीमा सात वटा स्थानीय तह र पूर्वी उत्तर नवलपरासीमा ८ वटा गाउँपालिका छन्। 

जसमा पश्चिम दक्षिण नवलपरासीमा रामग्राम गाउँपालिका, सुनवल गाउँपालिका, बर्दघाट गाउँपालिका, सरावल गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिका रहेका छन्। 

पश्चिम दक्षिण नवलपरासीमा देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका, मध्यविन्दु नगरपालिका,  बुलिङटार गाउँपालिका, विनयीत्रिवेणी गाउँपालिका र बुङ्दीकाली गाउँपालिका छन्।

पश्चिम दक्षिण नवलपरासीमा रहेको सुस्ता गाउँपालिका साविकका त्रिवेणीसुस्ता, रूपौलियाका (३-९), कुडिया, नरसही र पकलिहवा गाविस मिलाएर बनाइएको छ। ४३ हजार ७९७ जनसंख्या रहेको यो गाउँपालिका ११२.१७ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको छ।

७ वडा रहेको सुस्ता गाउँपालिका पूर्वमा चितवन राष्ट्रिय निकुञ्ज र भारत, पश्चिममा बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिका, उत्तरमा बर्दघाट नगरपालिका चितवन राष्ट्रिय निकुन्ज तथा दक्षिणमा भारतीय सिमाना रहेको छ। 

भारतीय खुला सिमानाका कारण सबैभन्दा बढी वावादित सीमाका रुपमा रहेको सुस्तामा पटक-पटक समस्या हुँदै आएको छ। बाढीका कारण समेत सुस्ताका बासिन्दाले समस्या भोग्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.