विचार

नयाँ राजनीतिक परिवेश र संकटमा राजनीतिक नेतृत्व
SHARES

असार १८, २०७४

    राजनीतिमा मात्रै होइन, कुनै पनि क्षेत्रमा अगुवाइ गर्ने कुरा वा नेतृत्व गर्ने कुरा चानचुने होइन। सामान्य अवस्थामा नेतृत्वको खाँचो पनि पर्दैन, भूमिका पनि देखिँदैन तर जब खासखास अवसर आइपर्छ, तब समाजले, समूहले र हरेक व्यक्तिले नेताको खोजी गर्दछ। यो लगभग सार्वभौम मान्यता नै हो। 

    नेपालको सन्दर्भमा राजनीतिक परिवर्तनका शिलशिलामा भएका राजनीतिक नेतृत्वको कला र क्षमता दुवै स्मरणीय छन्। १०४ वर्षसम्म चलाइएको जहानियाँ राणा शासनका विरुद्ध लड्दा नेताको खाँचो र खोजी दुवै भयो। त्यसैगरी पंचायतका विरुद्ध होस् वा राजा ज्ञानेन्द्रको निरंकुशताका विरुद्ध नै किन नहोस्, क्रान्ति र आन्दोलनहरू भए। ती क्रान्ति र आन्दोलनको नेतृत्व गरे तिनै क्रान्ति र आन्दोलनहरूले जन्माएका नेताले। 

    व्यक्तिगत स्वार्थ त्यागी सामूहिक स्वार्थका लागि निकै ठूलो जोखिम मोल्न सक्ने मात्रै नेता भए। नेता कोही मारिए र मारिनेहरू महान शहीद बने। कोही बिक्री भए। बिक्री हुनेहरू गद्दार ठहरिए। कसैले निरन्तर संघर्ष गरिरहे, ती खारिए र नेता भए। 

    वास्तवमा नेता हुनु भनेको जनताको विश्वास जित्नु पनि हो।  जनताको विश्वासमा नै नेता बन्न सकिन्छ। जसले जनताको विश्वास जित्न सके, ती नेता भए। जसले तत्कालको आवश्यकता पूरा गर्न सके ती नेता भए। जसले तत्कालको निजी जीवनको सुख सयल वा भोग विलास एवं सुविधा त्याग गर्न सके, ती पनि नेता भए। व्यक्तिगत लाभ परित्याग गर्दै सामूहिक लाभ र हितका लागि आफ्नो बुद्धि, वर्कत र क्षमता लगानी गर्ने व्यक्ति नेता भए। 

    भूमिकाको समीक्षा

    उपरोक्त परिस्थितिमा नेपाली राजनीतिको विकास भएको हो। नेपालमा व्यवस्था परिवर्तन गर्न पटक पटक आन्दोलनहरू भए। व्यवस्था फेरिए पनि, तर मानिसको अवस्था फेरिएको छैन। नेपालको राजनीति व्यवस्था फेर्नका लागि अभ्यस्त छ, अवस्था फेर्नका लागि सिकारु छ। नेपालमा अवस्था फेर्ने आन्दोलन भएकै छैन। अवस्था फेर्ने आन्दोलनको राजनीतिको खाका कोरिएको पनि छैन। त्यसकारण अवस्था फेर्ने आन्दोलनको नेता र नेतृत्वको पहिचान पनि भएको छैन। तर विडम्बना, भौतिक परिस्थिति अवस्था फेर्ने स्थितिमा प्रवेश गरेको छ तर राजनीतिक दलहरूका आत्मगत परिस्थिति भने उही पुरानै छन्।

    नेपाली राजनीतिमा आरम्भदेखि आजसम्मको प्रकृति आन्दोलन, संघर्ष, भूमिगत जीवन, जेलनेल, यातना, गिरफ्तारीको सामना गर्ने र सोको प्रवाह नगर्ने व्यक्ति नेता भयो। तिनैलाई त्यागी, साहसी, कला र क्षमताका धनीका रूपमा स्वीकार गर्दै नेताको पगरी दिइयो। आजसम्मको राजनीतिक नेतृत्वको योग्यता भूमिगत बसेको, गिरफ्तार भएको, जेल वा यातना खाएको जस्ता विषय नै छन्, जुन व्यवस्था परिवर्तनका लागि अनिवार्य कार्यहरू नै थिए। अब अवस्था परिवर्तन गर्न त उसमा दूरदृष्टि, क्षमता, योजना जस्ता कुराहरू आवश्यक छ। तर यो संस्कारको विकास भएकै छैन। 

    उपरोक्त राजनीतिक समीक्षाको पृष्ठभूमिमा स्थानीय सरकारको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनको परिणामले उनै पुराना राजनीतिक दलहरूलाई नै पुनः एक पटक मतादेश प्रदान गरेको छ। २०४६ सालपछिको संसदीय राजतन्त्रसहितको लोकतन्त्र पर्याप्त छैन भनेर सोका विरुद्ध हतियार उठाएको दललाई झिनो मतले तेस्रो स्थानमा सीमित गरेको छ भने व्यवस्था परिवर्तनको आन्दोलन अब अवस्था परिवर्तनमा फेरियो। अवस्था फेर्ने काम परम्परागत दलहरू, जो व्यवस्था फेर्नका लागि बनेका थिए, तिनको अगुवाइमा संभव छैन। त्यसैले तिनीहरूको विकल्पका रूपमा हामी खडा छौँ भनेर मैदानमा उत्रिएका दलहरूलाई जनताले उचित ढंगले पहिचान गरेनन् र उचित स्थान दिन चाहेनन्। 

    निर्वाचन परिणामको सन्देश 
    व्यवस्था परिवर्तनबाट अवस्था परिवर्तनको चरणमा राजनीति प्रवेश गरेको तथ्य नै स्थापित गर्न नसकेको कारणले यो परिणाम आएको हो।

    अझै व्यवस्था परिवर्तनको आन्दोलन सकिएको छैन। त्यसकारण अवस्था परिवर्तनको नारा समयअघि भयो।

    पुराना राजनीतिक दलसँगको आवद्धता टुटाउन र नयाँ दलसँगको आवद्धता कायम गर्नमा विश्वासको वातावरण तयार गर्न नसकेका कारण हिचकिचाहट छ। 
    मतदाता स्थायी छन्, राजनीति अस्थायी छ।

    केही अनौठा तथ्यहरू
    बहुदलको प्राप्तिपछि जम्मा दुई स्थानीय निकायका निर्वाचन सम्पन्न भएका थिए। तिनैको निरन्तरता मान्ने हो भने यो तेस्रो निर्वाचन हो। तर नयाँ संविधान र संघीय संरचनाको तहका हिसाबले यो पहिलो निर्वाचन हो। केही अनौठा तथ्यहरू यस पटक पनि दोहोरिए, ती यस प्रकार छन्।

    २० वर्षपछि पनि उम्मेदवार उनै, मतदाता फरक 
    अनौठो के भयो भने स्थानीय तहको निर्वाचन २० वर्षपछि भएको छ। २० वर्षअघि निर्वाचन लडेका उनै उम्मेदवार यतिबेला पनि चुनावी मैदानमा देखापरे। तीमध्ये अधिकांश उम्मेदवारहरू उही पुरानै पार्टीबाट देखिए पनि केहीले भने पार्टी फेरेको देखियो तर पात्र उही। 

    राजनीतिमा धेरै परिवर्तन आयो। पंचायत गयो, लोकतन्त्र आयो। संसदीय राजतन्त्रात्मक लोकतन्त्रको ठाउँ संघीय लोकतान्त्रिक गणतन्त्रले लियो। अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त भई गणतन्त्र आयो। ऐतिहासिक जनआन्दोलन भयो, जनयुद्ध भयो। एक दशकभन्दा लामो द्वन्द्वका कारण १७ हजारभन्दा बढी मानिसहरूको ज्यान गयो, कैयौँ बेपत्ता भए, कैयौँ घाइते, अपांग छन्।

    एक राज्य, दुई सेनाको अवस्था पार गर्दै सेना समायोजन पनि भयो। द्वन्द्वकालका घटनाको छानविन गर्न बेपत्ता छानविन तथा सत्य निरूपण एवं मेलमिलाप आयोगहरू बनेर ६० हजारभन्दा बढी उजुरीको छानविन आरम्भ भएको छ। नेपाली समाजमा यति धेरै उथलपुथल ल्याउने घटना भए। तर उम्मेदवार भने उनै हुनु अनौठो भएको छ।

    यस पटकको निर्वाचनले घोषणा गरिदिएको अर्को तथ्य भनेको जनमत परम्परागत मान्यतामा नै अडिग छ भन्ने हो। यस पटकको जनमतले कम्तिमा दश वर्ष पहिला बदलेको मानसिकतामा पनि अडिन सकेन। ऊ २० वर्ष पछाडि नै फर्कियो।

    मतदाता नयाँ, रोजाइ पुरानो 
    बहुदल प्राप्त भएपछिको २८ वर्षमा आधाभन्दा बढी मतदाता नयाँ थपिए। राजनीतिक उथलपुथल ल्याउने घटनाहरू पनि भए। व्यवस्था परिवर्तन भयो। अब अवस्था परिवर्तन एक मात्र बाटो हो भन्ने पनि स्थापित भयो। तर फेरि पनि निर्वाचनमा उम्मेदवारहरू उनै पुराना त थिए नै, मतदाताको छनोट पनि पुरानै रह्यो।

    पुराना मतदाताको मनोविज्ञान नबदलिनु त अनौठो  हुँदै हो, तर नयाँ थपिएका मतदाताको पनि छनोट पुरानै रहनु आश्चर्य नै भयो। नयाँ मतदाताको रोजाइ पुरानै हुनु यस पटकको निर्वाचनको अर्को अनौठो पक्ष रहेको छ।

    अनौठो तालमेल 
    नेपाल लामो समयदेखि संयुक्त सरकारको अभ्यासमा रह्यो। संस्कार संयुक्त सरकारको विकास भने हुनसकेन। एउटै दलको बहुमत कसैलाई पनि फापेन। यो नेपाली राजनीतिको कटु यथार्थ बन्यो। बाध्यात्मक संयुक्त सरकार नेपालको विशेषता बन्न पुग्यो। सत्ता र स्वार्थकेन्द्रित राजनीति अर्को नयाँ राजनीतिक संस्कार बन्यो। तालमेलको आधार पनि दर्शन, सिद्धान्त, आदर्श, मूल्य र मान्यता रहेन। जे गर्दा जितिन्छ, त्यही मान्यताका आधारमा तालमेल बन्यो। देशैभर कहीँ कसैसँग त, कहीँ कसैसँगको तालमेल यस पटकको अर्को अनौठो पक्ष बन्यो। 

    शक्ति र सत्ता सिद्धान्तको प्रादुर्भाव
    राजनीतिका विभिन्न सिद्धान्तमध्ये नेपाली राजनीतिमा शक्ति सिद्धान्त सतहमा आयो। यद्यपि, राजनीति सत्ता र शक्तिको खेल हो। यसमा विवाद हुनै सक्दैन। तर यसअघिसम्म सत्ता र शक्तिप्राप्तिको आवरण भने सिद्धान्त र दर्शनलाई बनाइन्थ्यो। कोसँग मिल्न सकिने र कोसँग मिल्न नसकिने लगभग घोषित जस्तै हुने गर्दथ्यो। तर यस पटक सत्ता र शक्ति प्राप्त गर्ने सर्तमा जो जहाँ र जोसुकैसँग पनि मिल्ने अभ्यास यस पटक देखियो। यो तालमेलको औचित्य एक मात्र सत्ता र शक्तिबाहेक अरू भेटिएन। 

    परम्परागत शक्तिमै जनमत
    यस पटकको निर्वाचनले घोषणा गरिदिएको अर्को तथ्य भनेको जनमत परम्परागत मान्यतामा नै अडिग छ भन्ने हो। यस पटकको जनमतले कम्तिमा दश वर्ष पहिला बदलेको मानसिकतामा पनि अडिन सकेन। ऊ २० वर्ष पछाडि नै फर्कियो। अर्थात दश वर्षअघि माओवादीका पक्षमा जनमत उर्लेर आएको थियो। आज दश वर्षपछिको स्थानीय चुनावमा त्यो बदलिएको जनमतले आफ्नो मत परिवर्तन गरेर दश वर्षपछि आएर २० वर्ष पुरानो जनमतलाई अँगाल्न पुग्यो।

    २०४६ सालको परिवर्तनपछि स्थापित नेपाली कांग्रेस र नेकपा (एमाले)तर्फ नै आफ्नो मत जाहेर गर्‍यो। वैकल्पिक रूपमा उदाउन खोजेका नयाँ पार्टीहरूले जनमत आकर्षित गर्न सकेनन् वा जनमत उनीहरूप्रति आकर्षित भएन।

    भू–राजनीतिक प्रभाव
    सदाझैँ यस पटक नेपाली राजनीतिमा भू–राजनीतिक प्रभाव चर्कै पर्‍यो। विश्व राजनीतिमा आएको फेरबदलसँगै दक्षिण एसियाली राजनीतिमा उदीयमान उत्तर र दक्षिणी छिमेकीको स्वार्थको टकराव यस पटकको निर्वाचनमा देखापर्‍यो। संविधान संशोधनविना चुनाव संभव छैन भन्दै आएका दलहरू बिस्तारै चुनावका लागि संविधान संशोधन जरुरी छैन भन्ने ठाउँमा पुगे। 

    संविधान संशोधन कि कार्यान्वयन भन्ने विवादमा अब संविधान कार्यान्वयनले प्रधानता प्राप्त गर्‍यो। संविधानप्रति असन्तुष्टि जनाउने छिमेकीको सुनुवाइ कम हुँदै जाँदा संविधानको स्वागत गर्ने र कार्यान्वयन गर्नुपर्छ भन्ने छिमेकीको पल्ला भारी हुँदै जान थाल्यो। उत्तर र दक्षिणका दुई विशाल छिमेकीहरूको स्वार्थ बाँझिदै जाँदा नेपाली स्वाभिमान मिचाइमा पर्ने खतरा पनि त्यत्तिकै छ। त्यसैले भू–राजनीतिक यो संवेदनशीलतालाई ख्याल राख्दै कूटनीतिक सन्तुलन कायम गर्न नसके आगामी दिनहरू अझै चुनौतीपूर्ण हुने देखिन्छ। यस पटकको चुनावको दूरगामी सन्देश यही हो।

    निष्कर्ष
    यो समय २१अौँ शताब्दीको दोस्रो दशकको हो। विज्ञान प्रविधिको विकास, सूचना प्रविधिमा आएको क्रान्ति र चौथो औद्योगिक क्रान्तिको युगले सिर्जना गरेका अवसर र चुनौतीहरूका सामु नेपाली राजनीति वामेसम्म पनि सरेको छैन। नेपाली राजनीति, राजनीतिक नेतृत्व र जनमतको प्रवृत्तिसमेत आजको होइन, आजभन्दा २० वर्षअघितिरै फर्किएको छ।

    उल्टो दिशा फर्केको जनमत, यथास्थिति र सत्ता र शक्ति स्वार्थमा रमाउने नेतृत्व र आजको समयले सिर्जना गरेका चुनौतीहरू नेपाली राजनीतिका समस्या हुन्। यी समस्याको समाधान गर्न आजको नेतृत्वले हिम्मत गर्नुपर्छ तर ती चुनौती सामना गर्ने उपयुक्त योजनाको अभावमा नेतृत्व गहिरो संकटमा छ। यो संकटबाट मुक्त हुन निकै ठूलो हिम्मत, त्याग र बलिदानको खाँचो छ। 

    समयको अपेक्षा पूरा होला कि नहोला, यसै भन्न सकिन्न। फेरि पनि नेपाली राजनीति चुनौती र अवसरहरूको दोसाँधमा खडा भएको छ। अवसरलाई चुम्न नसक्दा अवसर चुनौतीमा बदलिनेछ भने चुनौतीलाई अवसरमा बदल्न सके त्यो नेतृत्व सफल ठहरिनेछ।

खिमलाल देवकोटा

देवकोटा समसामियक नेपाली राजनीतिमा कलम चलाउँछन्!

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

  • Hari lamichhane

    Chu khime, check your face in mirror twice a day then comment about other leaders and parties.

  • सामाजिक संजाल

    सम्पर्क

    थाहा खबर प्रा. लि.
    मुक्तिश्री टावर
    नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    इमेलः
    समाचार विभाग: news@thahakhabar.com
    बिज्ञापनः ad@thahakhabar.com
    फोन : ९७७-१- ४७८६५६२

    थाहा मिडिया ग्रुप

    थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]