|

  • अर्जुन बोहरा 

हुम्ला : कल्पना गर्नुस् तपाई बिरामी हुनुहुन्छ। रातको समय जंगलमा एक्लै हुनुहुन्छ। तपाईसँग सुत्नका लागि स्लिपिङ ब्याग, सिरक डस्ना वा कुनै पनि लत्ता–कपडा छैन्। तपाईलाई लिन कोही आउने छैन्। आफन्तहरुले वास्ता गर्ने छैनन्। छर–छिमेक र समाज बिरानो हुनेछ। 

यस्तो सपना देख्दा समेत जो कोही अत्यास मान्छन्। तर हुम्लाकी ७० वर्षीया गोला शाही विगत १८ वर्षदेखि यस्तै अत्यासलाग्दो र निरश जीवन बाँचिरहेकी छिन्। 

श्रीमानको मृत्युपछि बेसहारा 

गोला शाहीको विवाह बझाङ जिल्लाको पिमीनौरा गाउँमा भएको थियो। तर कुष्ठ रोगका कारण श्रीमान्को मृत्यु भयो। सन्तानका नाममा एक छोरी रहेको शाहीले बताइन्। 

श्रीमानको मृत्युपछि उनी माइतीको साहारा खोज्दै हुम्ला आएकी थिइन्। सुरुमा माइती पक्षले उनलाई आश्रय दियो। उनले पनि माइतीमा बसेर सबै घरायसी कामहरु गरिन्। घर निर्माण गर्न सहयोग गरिन्। 

२०४८ साल कुष्ठ रोगले च्यापेपछि शाहीका दुखका दिन सुरु भए। उनी उपचारका लागि शहरका सबै अस्पताल धाइन्। भएका गरगहना र पैसा सकियो। तर सन्चो भएन। २० वर्षअघि कुष्ठ रोगकै कारण उनले दुबै हातका औला गुमाइन्।

ढल्कदोँ उमेर तथा कुष्ठ रोगका कारण काम गर्न नसक्ने भएपछि माइती पक्षले उनलाई हेला गर्न थाल्यो। ‘बुबाको निधनपछि मलाई निकाले। ४ दाजुभाईमध्ये कसैले पनि बस्न दिएनन्। छिमेकीले कुष्ठ रोगीलाई घरमा राख्दा गाउँभरी रोग सर्छ भनेपछि माइतीले निकालेका हुन्,’ गहभरी आँशु पार्दै उनले भनिन्। 

माइतीबाट निकालिएपछि घर न घाटकी भएकी शाहीलाई उनकी एक्ली छोरीले समेत आश्रय दिइनन्। त्यसपछि आश्रय खोज्दै उनी १८ वर्षअघि हुम्लाको साबिक खंगालगाउँ गाविसको लामा खोल्सीस्थित जंगलमा आइन्। ओढारमा रात बिताउन थालिन्। कहिले दिनभर मागेको पैसाले छाक टार्छिन्। कहिले भोकै सुत्छिन्। 

केही समयअघिसम्म उनी माग्दै गाउँ–बस्ती डुल्ने गर्थिन्। तर अहिले उमेर तथा स्वास्थ्यका कारण उनलाई हिँडडुल गर्न समस्या छ। दयालु मन भएकाहरु भेट्न गाउँ–बस्ती धेरैपटक चहार्नुपरेको शाहीको अनुभव छ।

तर, शाहीलाई घृणा गर्नेहरुको कमी समाजमा छैन्। आफ्नै ओढार नजिकको विद्यालयमा रहेको खानेपानीको धाराबाट उनलाई पानी खान बन्देज छ।

१५ मिनेट लाग्ने जंगलमा रहेको सानो कुवामा जम्मा भएको पानी खाएका कारण बिरामी हुनुपरेको दुखद अनुभव समेत उनैसँग छ। उनले बेलुकीको खाना नखाएको ५ वर्ष भयो।

‘हरेक दिन  बिहान गाउँमा जान्छु। बासी  खाना दिन्छन्। त्यही खान्छु,’ सुन्दै अचम्म लाग्नेगरी उनले भनिन्,‘५ वर्षदेखि बेलुकाको खाना चाँहि खाएको छैन।’ थाहाखबरले यस विषयमा माइती पक्षसँग पनि कुराकानी गर्न चाह्यो। उनका भदा ज्ञानेन्द्र शाहीले फूपुलाई घर निकाला गरेको स्विकारे। 'बुबाले उहाँको उपचारका लागि धेरै गर्नेु भयो। तर ठिक भएन। छिमेकी र आफन्तले पनि घरमै राख्दा अरुलाई रोग सर्छ भनेर निकाल्न दबाब दिएछन्,' उनले भने,'म काठमाडौं पढ्न गएका बेला उहाँ घरबाट निकालनुभएछ।'

बाँचे ओढार मरे पनि ओढार 

उनी ओढारलाई नै आफ्नो साहारा मान्छिन्। सरकारले दिएको समाजिक सुरक्षा भत्ता भने उनले नियमित बुझ्ने गरेकी छिन्। त्यही भत्ता आफ्नो बाँच्ने आधार भएको उनले बताइन्। 

कुष्ठरोग उन्मुलन कार्यक्रमअन्तर्गत हुम्लामा वर्षेनी विभिन्न कार्यक्रम हुन्छन्। जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाले जिल्लाभरका कुष्ठ रोगीको उपचार गरेको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। 

तर स्याडाँ–८ की गोला शाहीलाई जिल्लाका सम्बन्धित संस्थाले बेवास्ता गरेका छन्।  न उनले परिवारको माया  स्नेह पाएकी छिन्। न सरकारका तर्फबाट निशुल्क पाउनुपर्ने उपचार, न त सामाजिक न्याय नै। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.