|

  • शशिधर भण्डारी

प्युठान : पहिराले घर पुरिँदा बेपत्ता भएकी किशोरी मृत फेला परेकी छन् भने दुई जना बेपत्ता भएका छन्। शनिबार रातिको अविरल वर्षासँगै झरेको पहिरोले घर पुरिँदा गौमुखी गाउँपालिका ३ रजवारा निवासी १६ वर्षिय जयकली घर्ती बेपत्ता भएकी थिइन्। आइतबार बिहान पहिरोले च्यापिएको अवस्थामा उनको शव भेटिएको छ।

केरबहादुर घर्ती र उनकी श्रीमतीको स्थानीयबासीले सकुशल उद्दार गरेका थिए। तर उनीहरूकी छोरीको पहिरोमा पुरिएर ज्यान गयो।

यसैबीच, नौबहिनी गाउँपालिका २ लिघा कुर्तिवाङको गोठ बगाउँदा सुतिरहेका दुई दाजुभाइ १५ वर्षिय जगुमान घर्ती र ११ वर्षिय सुनिल घर्ती बेपत्ता भएको स्थानीयबासीले बताएका छन्। शनिबार रातिदेखि उत्तरी प्युठानका गाउँहरूमा संचार सम्पर्कमा समस्या आएका कारण ढिला सूचना आएको प्रहरीले जनाएको छ। साँझ ६ बजेमात्र प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीसपी रञ्जित सिंह राठौले जानकारी दिए।

यस्तै रजवाराका गोबर्द्धन थापाका अनुसार रजवाराका लामिबगर, गिर्जाकोट र दाङबाङका ३ ओटा पुल समेत खोलाले बगाएको छ। ३ वटा घरमा क्षति पुगेको छ। रजवाराबाट चल्ने लघु जलविद्युत आयोजनाको कुलो भत्काउँदा विद्युत अवरुद्ध छ। मोबाइल टावरमा समेत समस्या आउँदा रजवारा लगायतका आसपासका बस्तीमा समस्या उत्पन्न भएको छ। वर्षातले जिल्लाको जनजीवन अस्तब्यस्त बनेको छ। सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको छ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सोमबार राहत पुर्‍याउने बताए। स्थानीयबासीलाई सजक रहन उनले आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.