|

काभ्रेपलाञ्चोक: आफू जन्मी हुर्की पढेको र बढेकै ठाउँमा पुगी कृति विमोचन गर्ने सोच आए पनि कतिलाई संभव हुँदैन। काभ्रे नालाका मुक्तककार नमराज घिमिरेलाई भने यो सुयोग असार १७ गते शनिबार जुर्‍यो।

कृतिको नाम भने छोरी सजिनाको नामबाटै जुराए। गौरी पब्लिकेशन रिलेशनले प्रकाशन गरेको 'सजिना' विमोचन गरे प्रमुख अतिथि बरिष्ठ मुक्तककार, गीतकार, कवि तथा रेडियोकर्मी रमेश पौडेलले।

मुक्तककार घिमिरेले अध्ययन गरेको श्वेत बराह उच्च माविको प्रांगणमा आयोजित विमोचन कार्यक्रममा दुई गाडी अतिथि काठमाडौँबाटै पुगेका थिए।

समारोहका सभापति थिए कृतिकारकै पिता शिवप्रसाद घिमिरे। सभापति पिताले प्रमुख अतिथि पौडेललाई ढाका टोपी लगाइदिएपछि कृति विमोचन गर्दै प्रमुख अतिथि पौडेल भन्दै थिए, 'कति भाग्यमानी बाबु-छोरा!' सायद पौडेलले बाबुविनाको टुहुरो हुनुको पीडा भन्न खोज्दै थिए, रोकिए।

नेपाली साहित्यमा अत्यन्त लोकप्रिय विधाको रूपमा मुक्तक रहेको र सकारात्मक सोचका साथ सञ्जालको सदुपयोग गर्नेहरूले कृतिकारको रूपमा पहिचान बनाउँदै आएको बताए। मुक्तक मात्र चतुष्पदीय शैली शिल्पमा लेखिने, मुक्तकमा गागरमा सागर अटाउने क्षमता हुने पौडेलले बताए।

नेपाल मुक्तक प्रतिष्ठानका महासचिवसमेत रहेका पौडेलले मुक्तकका बारेमा प्रतिष्ठानले २०७० सालमा पारित गरेको पाँच बुँदे पोखरा घोषणापत्र नैै समकालीन नेपाली मुक्तकको मानक शैलीशिल्प रहेको बताए।

वनेपा नगरपालिका- २ का नवनिर्वाचित वडाध्यक्ष हरिशरण घिमिरेले आमन्त्रित अतिथिहरूलाई स्वागत गर्दै नाला घिमिरे गाउँको माटो धन्य भएको सुनाए। कृति विमोचनका साथ अतिथि अधिकांशले मुक्तक नै सुनाए भने कृति समीक्षा डा. माधव सापकोटा र भाग्यशाली अधिकारीले गरेका थिए।

विद्यालयका संस्थापक रामप्रसाद घिमिरेले आफ्नै काखमा हुर्की बढेको बालक किताब लिएर यही आँगनमा आउँदा हर्षित भएको सुनाए। मुक्तककार तारा के.सीले ग्रामिण परिवेशकै मुक्तक सुनाउँदा मुक्तक सुन्न आउने आमाहरू आँसु पुछिरहेका देखिन्थे।

कृतिका प्रकाशक दामोदर ढकाल दीपक र वासु घिमिरेको उद्घोषण जति रोचक थियो, सिमसिमे पानीमा दही-च्यूरा खाँदै मुक्तक सुन्नेहरू पनि कम खुसी थिएनन्। समारोहमा लेखिका तथा गायिका रामकुमारी तामाङले तामाङ सेलोमा आफ्नै भाषाको गीत गाएपछि थप रौनकता छाएको थियो।

रचनावाचनमा जीवन भण्डारी, भरतप्रसाद घिमिरे, रत्नप्रसाद श्रेष्ठ, आनामनी, निर्मल पराजुली, द्वारिका कुइँकेल, रूद्र अधिकारी,ऋषिराम पाण्डे, मुरलीप्रसाद ढकाल, उमेश पाण्डे, रमेश घिमिरे कर्मशील, राष्ट्र पुकार, हेमराज बुढा, रूपेश आचार्य अन्जान, राजन प्रभात, ऋतु प्रियसी, पुनराम कर्याबरिका सहभागी थिए।

'सजिना'भित्र विभिन्न भावका २०१ मुक्तक संकलित छन्। कृतिकार घिमिरेले आफूले कखरा सिकेको विद्यालयमा आफ्नो पहिलो कृति विमोचन गर्ने धोको पूरा भएकोमा आमन्त्रित अतिथि सबैप्रति आभार व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • घिमिरिे गाउँका नमराज भाइलाई हार्दिक बधाई । यो साइटमा साहित्यिक खवर खुबै रुचाईने रहेछ । थाहा खवर डट कम परिवारलाई हार्दिक धन्यवाद !