|

पाँचथर : स्रोत व्यक्तिबाट राजीनामा दिएर तुम्वेवा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका कांग्रेसका होमनाथ थापालाई निर्वाचित भएपछि बधाईको ओइरो छ। पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुले टेलिफोन, सामाजिक सञ्जाल र भेट गरेरै बधाई दिँदैछन्। निकै सकसपछि गाउँपालिका अध्यक्ष पदमा पार्टीबाट टिकट पाएका थापाले जितलाई चुनौतीका रुपमा लिएका छन्।

निर्वाचनको प्रचारका क्रममा व्यक्त गरिएका चुनावी प्रतिवद्धताहरुलाई अक्षरशः कार्यान्वयन गर्ने जिम्मा जनताले दिएको भन्दै अब प्रतिवद्धताहरु कार्यान्वयनतर्फ केन्द्रित हुने बताए। ‘मेरा प्रतिवद्धताहरु महत्वकाङ्क्षी छैनन्। पूरा गरेरै छोड्छु’ थापाले भने, ‘निर्वाचनमा जितपछि मेरो ध्यान त्यतै केन्द्रित छ।’ निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका देवेन्द्र खत्रिलाई ३ सय ५७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित उनले सरकारले विशेष गाउँपालिका घोषणा गरेको तुम्वेवामा विद्युतीकरण र खानेपानीलाई मुख्य प्राथमिकतामा राख्ने बताए।

सरकारले सुख्खाग्रस्त घोषणा गरेको साविकका ३ गाविससहित ४ गाविस समेटिएको गाउँपालिकामा खानेपानी अभावले गर्दा बर्षेनि बसाइँसराईदर बढ्दा गाउँ नै रित्तिन सक्ने अवस्था छ। यसले गर्दा पनि तमोर लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्यलाई तीव्रता दिइने र विद्युतीकरण तुम्वेवाको गाउँ गाउँमा गरिने उनको भनाइ छ।

यससँगै गाउँपालिकामा निर्वाचित उपाध्यक्ष, ५ वटै वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुको बैठकपछि तुम्वेवामा पर्यटन,शिक्षा,स्वास्थ्य,कृषिलगायत क्षेत्रको समृद्धि खातिर खाका कोरिने पनि थापाले बताए। लामो समय शिक्षण पेसामा संलग्न भएपछि स्रोतव्यक्ति बनेका नवनिर्वाचित अध्यक्ष थापाले ५ वर्षे कार्यकालमा अध्यक्षमा पराजित  उम्मेदवारहरुसँग पनि आवश्यक परामर्श र सहकार्य गरेर अघि बढ्ने ढृढता व्यक्त गरेका छन्।

उनलाई १४ असारमा भएको निर्वाचनबाट अध्यक्ष पदमा २३५० र निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका खत्रिलाई १९९३ मत प्राप्त भएको थियो। उपाध्यक्षमा भने एमालेका धन साँवा १९६४ मत प्राप्त गरेर निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.