|

रुकुम : दुईवटा प्रदेशमा विभाजित रुकुम जिल्लाको निर्वाचन पनि दुई चरणमा भयो। पहिलो चरणमा ६ वटा र दोस्रो चरणमा ३ वटा गरी ९ वटा स्थानीय तहको निर्वाचन हुँदा सबैको नेतृत्व नेकपा माओवादी केन्द्रले हात पारेको छ। 

तत्कालीन नेकपा माओवादी केन्द्रले रुकुम रोल्पा लगायतका जिल्लाहरुबाट जनयुद्ध सुरु गर्दा यस जिल्लाहरुलाई आफ्नो आधार इलाकाको रुपमा लियो। माओवादीको उद्गमथलो भनेर चिनिने रुकुममा शान्ति प्रक्रियापछिका दुईवटै संविधानसभा चुनावमा माओवादी केन्द्रले नै जित्यो, र नेपालको इतिहासमै पहिलो पटक सम्पन्न भएको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रकै नेतृत्वमा रुकुम जिल्ला परेको छ।

रुकुम स्थानीय तहका प्रमुख उपप्रमुख मात्र होइन अधिकांश वडाहरु पनि माओवादी केन्द्रले जित हासिल गरेको छ। जसका कारण अहिले जिल्लादेखि राष्ट्रिय राजनीतिमा समेत रुकुमको चर्चा छ। जनयुद्धकालमा रुकुममा जनसत्ता चलाएको माओवादीले स्थानीय तहमा पनि जिल्लाभर नै आफ्नै नेतृत्व हात पारेपछि फेरि जनसत्ताको चर्चा सुरु भएको छ। पहिलो चरणमा निर्वाचन सम्पन्न स्थानीय तहमा जनसरकारले गरेको घरजग्गा पासले चर्चा कमाइरहेको बेला दोस्रो चरण निर्वचनमा समेत माओबादी विजयी भएपछि यसरी चर्चा चुलिएको छ।

दोस्रो चरणमा स्थानीय तहको निर्वाचन भएका जिल्लाका ३ स्थानीय तहमा कुल ३१ वडामा रहेकामा माओवादी केन्द्र २४ मा कांग्रेस, एमाले ३-३ वडामा र कांग्रेस-एमाले गठबन्धन १ वडामा विजयी भएको छ। जिल्लाको सिस्नेमा नेपाली कांग्रेस र नेकपा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ८ मध्ये ६ वडामा तालमेल गरेका थिए।

सिस्नेमा कांग्रेस-एमालेको गठबन्धन पराजित

सिस्ने गाउँपालिकामा कांग्रेस-एमाले गठबन्धन पराजित भएको छ। गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित कुल ८ वडामध्ये ६ वडामा कांग्रेस-एमालेले तालमेल गरेका थिए। गठबन्धन गाउँपालिकामा पराजित भयो भने १ वडामा मात्र विजयी भयो। गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा कुमारी बराल र उपाध्यक्षमा गोबर्द्धन बुढा विजयी भएका छन्।

बरालले ३ हजार २ सय ९६ मत पाइन् भने उनका प्रतिद्वन्द्वी कांग्रेस-एमाले गठबन्धनबाट अध्यक्षका उम्मेदवार एमालेका नन्दलाल शर्माले २ हजार ४ सय ७१ मत ल्याए। उपाध्यक्षमा विजयी माओवादीका गोबर्द्धन बुढाले ३ हजार ३ सय २३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उपाध्यक्षका उम्मेदवार कांग्रेसका लक्षिराम घर्तीले २ हजार २ सय ५७ मत पाए। कुल ८ वडामा माओवादी ६ वडामा विजयी हुँदा कांग्रेस-एमाले गठबन्धन १ र एमाले १ वडामा विजयी भएका छन्।

भूमे गाउँपालिकामा पनि माओवादी केन्द्र विजयी

भूमे गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्र विजयी भयो। अध्यक्षमा रामसुर बुढा विजयी भए भने उपाध्यक्षमा मनकुमारी बुढा बिष्ट विजयी भएकी हुन्। अध्यक्षमा विजयी माओवादीका रामुसर बुढाले ३ हजार ४ सय ८२ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी कांग्रेसका गञ्जसिंह बुढाले १ हजार ७ सय ६४ र एमालेका आशा स्वर्णकारले ४ सय ४२ मत प्राप्त गरिन्।

उपाध्यक्षमा विजयी माओवादी केन्द्रकी मनकुमारी बुढा बिष्टले ३ हजार ४ सय ९४ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका कमला खड्काले १ हजार ६ सय ४६ र एमालेका कमानसिंह डाँगीले ५ सय ८ मत पाए। जम्मा ९ वडा रहेका भुमेमा ८ वडामा माओवादी केन्द्रका उम्मेदवार र १ वडामा कांग्रेसका उम्मेदवार विजयी भए। वडा नम्बर ४ मा कांग्रेस विजयी भएको हो भने अन्य सबै वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

पुथामा पनि माओवादी नै विजयी

पुथा उत्तरगंगा गाउँपालिकामा माओवादी केन्द्रका ओमपप्रसाद घर्ती २ हजार ५ सय ५१ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका भिउमान घर्तीले १ हजार २ सय ६४ मत प्राप्त गर्दा कांग्रेसका काजिमान घर्तीले १ हजार १६ मत प्राप्त गरे।

उपाध्यक्षमा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। २ हजार ६ सय ३५ मत प्राप्त गर्दै माओवादी केन्द्रकी ओमकुमारी शाही मल्ल विजयी भइन्। उनका प्रतिद्वन्द्वी एमालेका सीता घतानले १ हजार ४ सय ८२ र कांग्रेसका रविना घर्तीले ७ सय ४४ मत प्राप्त गरिन्।

१४ वडा रहेको पुथा उत्तरगंगा गाउँपालिकामा १० मा नेकपा माओवादी, २ मा एमाले र २ मा कांग्रेस विजयी भएको छ। १, २, ३, ४, ५, ६, ८, ११, १२ र १३ नम्बर वडामा माओवादी, १० र १४ नम्बर वडामा एमाले र ७ र ९ मा कांग्रेस विजयी भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.