|

  • देवानन्द न्यौपाने-

कैलाली :  कैलालीको जानकी गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमको विजयी भएको छ। आइतबार राति सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार फोरमका तर्फबाट गाउँपालिकाको अध्यक्षमा प्रदीप चौधरी र उपाध्यक्षमा उमा महतो विजयी भएका हुन्।

अध्यक्ष चौधरीले ५ हजार ५७ र उपाध्यक्ष महतोले ५ हजार ९७ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले जानकारी दिए। अध्यक्ष पदका प्रत्याशी कांग्रेसका गंगादेवी चौधरीले ४ हजार २ सय २१ र उपाध्यक्षमा कांग्रेसकै सूर्य बटालाले ४ हजार ३० मत पाए।

नौवटा वडा रहेको गाउँपालिकामा फोरमले वडा नं १, ४, ५ र ७ मा वडाअध्यक्ष जितेको छ। एमालेले वडा नं. ३ र ९,  माओवादी केन्द्रले वडा नं. २ र ८, कांग्रेसले वडा नं. ६ मा जितेको छ। जानकी गाउँपालिकाका कुल २७ हजार ४ सय ५८ मतदाता मध्ये २० हजार ९ सय २४ ले मतदानमा भाग लिएका थिए।

कैलालीमा १३ वटा स्थानीय तह रहेकोमा ३ वटा स्थानीय तहको मतपरिणम यसअघि नै सार्वजनिक भै सकेको छ। जसमा चुरे र मोहोन्याल गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्षमा जितिसकेको छ। जोशीपुर गाउँपालिकामा नेपाली कांग्रेसले जितिसकेको छ ।

लम्कीचुहा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमालले अग्रता लिएको छ। सुरुवाती अग्रता कायम गरेको नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको हो। खसेको कुल २८ हजार ४ सय ५६ मतमध्ये १६ हजार ९ सय ९ मतको गणना हुँदासम्मको मतपरिणाम अनुसार प्रमुख पदमा नेकपा एमाले ४ हजार ४ सय १६ र उपप्रमुखमा ५ हजार ३४ मत सहित अग्रता लिएको छ। नेपाली कांग्रेसले प्रमुखमा ४ हजार ३ सय ४४ र उपप्रमुखमा ३ हजार ६ सय ६५ मत ल्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.