|

विराटनगर :  मत गणना अत्यन्तै सुस्त भएको भन्दै सर्वत्र आलोचना भइरहेका बेला क्षेत्रीय निर्वाचन कार्यालले विराटनगरको मत गणनाका लागि अनुभवी कर्मचारीको माग गरेको छ।

निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले शनिबार साँझ पत्र लेखि मोरङका सबै अदालत, सरकारी कार्यालयहरु, सरकारी स्वामित्वका संघ संस्थाहरु, बोर्ड र समितिलाई पत्र लेखेका छन्। पत्रमा विराटनगरको मत गणनाका लागि यस भन्दा अगाडिको निर्वाचनमा मत गणना गरिसकेका अनुभवी अधिकृत तथा जुनसुकै तहका दर्जा पुगेका कर्मचारीको विवरण खुलेको पत्रसहित मत गणनास्थल आदर्श स्कुल पठाइदिन आग्रह गरिएको छ।

'तत्कालै, आजै, अहिल्यै गणनामा सामेल नगराइए पनि निजलाई जुनसुकै बखत अर्थात कुनै पनि समयमा गणनाको लागि खबर गरिने गरि स्ट्याण्डबाई राखिने व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ, ‘मत गणनामा सामेल हुने कर्मचारीलाई ८ घण्टाको एक सिफ्ट मानी न्यूनतम ५०० थान मतपत्र गन्नैपर्ने सर्तमा रकम भुक्तानी दिनुको साथै निर्वाचन आयोगले तोके बमोजिम दैनिक भत्ता समेत उपलब्ध गराइनेछ।’

गणनामा सामेल हुने विराटनगर महानगरपालिका भित्रको कर्मचारीले पनि उल्लेखित दुवै सुविधा पाउने पत्रमा उल्लेख छ।

मतगणना सुस्त, आलोचना सर्वत्र

मतदान भएको ५ दिन वितिसक्दा पनि विराटनगरको मतगणना भने सुस्त छ। यही पाराले हो भने परिणाम आउन तीन साता लाग्ने अनुमान गरिएको छ। राजनीतिक दलहरु र आम नागरिकले विराटनगर महानगरपालिकाको मतगणना अत्यन्त ढिलो भएको भन्दै छिटो गराउन माग गरेपनि त्यसो हुन सकेको छैन।

महानगरपालिकाका १९ मध्ये हाल ७ वटा वडाको मतगणना भइरहेको छ। गणना सुरु भएको पाँचौ दिनमा १ नम्बर वडाको गणना सकिएको छ। अन्य वडामा ५० प्रतिशत हाराहारीमा मात्र मत गनिएको छ। कर्मचारीको अभावकै कारण गणनालाई तीब्रता दिन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विराटनगरको वडा नं. १६ को गणना कर्मचारी अपुग भएकाले शनिबार रोकिएको थियो।

महानगरमा नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार भीम पराजुलीले निर्वाचन कार्यालयलाई आफूले मत गणना छिटो गर्न दबाब दिएको बताए। गणनास्थल थप गर्न दलहरुले प्रतिनिधि तयार गरेर राखेपनि कर्मचारीको अभावमा निर्वाचन कार्यालयले नै काम नगरेको उनको भनाइ छ।

मतगणना ढिलो हुँदा धान रोपाई गर्ने सिजनमा किसानहरुलाई समस्या भएको एमालेबाट प्रमुख पदका उम्मेदवार विनोद ढकालले बताए। महानगरका १९ वटै वडाको मतगणना एकै पटक सुरु गर्न आफूहरुले  माग गरेको उनको भनाइ छ।

मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार प्रत्येक मतगणनास्थलमा ८ घण्टाको एक सिफ्टमा ६ कर्मचारी खटाइएको छ। यसरी ७ वटै वडामा ३ सिफ्ट गरी १ सय २६ कर्मचारी काम गरिरहेका छन्। गणनाको लागि थप कर्मचारी माग गरेपनि उनीहरु आउन मानेका छैनन् भने सम्बन्धित कार्यालयले आफ्नो काम प्रभावित हुने भन्दै कर्मचारी दिन नमानेको निर्वाचन कार्यालय स्रोतले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले भने कर्मचारी अपुग भएपछि सरकारी शिक्षक राखेर गणनास्थल बढाउने तयारी गरेको जानकारी दिए। त्यसको लागि शिक्षा कार्यालयसँग समन्वय गरी कम्तीमा १० स्थानमा गणना गर्ने तयारी भएको उनको भनाइ छ।

विराटनगरमा ८० हजार बढी मत खसेको छ। जसमध्ये सोमबार बिहानसम्ममा करिब १५ हजार मत मात्र गणना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.